मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडाैं
२०७९ पौष २७ बुधबार ०६:३१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

१३ हजारले पाए कोरोना बिमा रकम

कम्पनीहरूले गरे कोरोना बिमाको एक अर्ब १२ करोड ४९ हजार दाबी भुक्तानी

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ पौष २७ बुधबार ०६:३१:००

निर्जीवन बिमा कम्पनीहरूले १३ हजार एक सय ९९ वटा कोरोना बिमाको एक अर्ब १२ करोड ४९ हजार दाबी भुक्तानी गरेका छन् । कम्पनीहरूमा परेको कोरोना बिमा दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो ।

नेपाल बिमा प्राधिकरणको निर्देशनअनुसार कम्पनीहरूले सरकारले पहिलो चरणमा निकासा गरेको रकम भन्दै १३ मंसिरदेखि भुक्तानी सुरु गरेका हुन् । पहिलो चरणमा कम्पनीहरूले व्यक्तिगत कोरोना बिमा रकम भुक्तानी गर्न मन्त्रालयले निर्देशन दिएको थियो । सोहीबमोजिम १५ हजार नौ सय ४८ वटा व्यक्तिगत कोरोना बिमा दाबी रकम भुक्तानीका लागि छनोट गरिएका थिए । कम्पनीहरूले सो संख्याको बिमा दाबीबापत एक अर्ब ३५ करोड भुक्तानी गर्ने जनाएको थियो । 

२,७४९ दाबी अस्वीकृत, तीनवटाले गरे पूरै भुक्तानी 

निर्जीवन बिमा कम्पनीमा परेको व्यक्तिगत कोरोना बिमा दाबीमध्ये दुई हजार सात सय ४९ वटा अस्वीकृत भएका छन् । दाबी प्रमाणित हुन नसक्दा सो संख्या दाबीबापत २३ करोड २३ हजार भुक्तानी गर्नुनपर्ने भएको नेपाल बिमक संघका अध्यक्ष एवं सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए । 

अर्थ मन्त्रालयले रकम निकासा गरेपछि कम्पनीहरूले व्यक्तिगत दाबी गर्नेमध्ये पहिलोलाई प्राथमिकतामा राखी भुक्तानी सुरु गरेका थिए । भुक्तानीका लागि कम्पनीले आफ्नो वेबसाइटमा नै नामावली सार्वजनिक गरेको संघका अध्यक्ष क्षेत्रीले बताए ।  

संघले पहिलो चरणमा छुट्याएको दाबी संख्या र रकममध्ये तीनवटा कम्पनीले सबै रकम भुक्तानी गरिसकेका छन् । सगरमाथा इन्स्योरेन्स, हिमालयन र एनएलजी इन्स्योरेन्सले  विनियोजन गरिएको दाबी भुक्तानी गरिसकेका छन् । पहिलो चरणमा सगरमाथा इन्स्योरेन्सले एक हजार पाँच सय ४२ वटा दाबीबापत १३ करोड ९६ लाख भुक्तानी गरिसकेको छ । हिमालय जनरल इन्स्योरेन्स कम्पनीले एक हजार एक सय ४४ दाबीबापत १० करोड ७३ लाख र एनएलजी इन्स्योरेन्सले दुई सय ३७ वटा दाबीबापत दुई करोड २७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

संघको आइतबारसम्मको तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले दुई हजार दुई सय २१ वटा दाबीबापत २१ करोड २६ लाख रुपैयाँ भुक्तानी गरिसकेको संघको तथ्यांकमा छ । कम्पनीले अझै चार सय १४ वटा दाबी भुक्तानी गर्न बाँकी छ । नेको इन्स्योरेन्सले एक हजार दुई सय ५६ वटा दाबीबापत १२ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले अझै दुई सय ४९ वटा दाबी भुक्तानी गर्न बाँकी छ । 

सिद्धार्थ इन्स्योरेन्स सबैभन्दा कम दाबीको भुक्तानी गरेको छ । कम्पनीले हालसम्म चार सय ८५ वटा दाबीबापत चार करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । तर, कम्पनीले अझै तीन सय ११ वटा दाबीबापत तीन करोड ६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । राष्ट्रिय बिमा कम्पनीले एक हजार पाँच सय ४२ वटा दाबीको भुक्तानी गरेको छ भने तीन सय २१ वटा दाबीको भुक्तानी गर्न बाँकी छ । 

त्यस्तै, अजोड इन्स्योरेन्सले ४७ वटा दाबीबापत सात करोड ९८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने चार सय ५१ वटा दाबीको भुक्तानी हुन बाँकी छ । जनरल इन्स्योरेन्सले पनि दुई सय ४९ वटा दाबीको भुक्तानी गरेको छ, तर चार सय ९३ दाबीको अझै भुक्तानी हुन सकेको छैन । 

प्राधिकरणले पहिलो चरणको भुक्तानीका लागि सरकारले भुक्तानी गरेको एक अर्बलाई ५५ प्रतिशत मानी नेपाल पुनर्बिमा कम्पनीको भागमा १२ प्रतिशत, बिमा कम्पनीहरूको भागमा २५ र आफ्नो भागमा ८ प्रतिशत रकम विभाजन गरेको थियो । प्राधिकरणले आफ्नो हिस्साको १४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । नेपाल पुनर्बिमा कम्पनीको हिस्सामा २१ करोड ८१ लाख रुपैयाँ परेको छ भने निर्जीवन बिमा कम्पनीहरूको हिस्सामा भने ४५ करोड ४५ लाख रुपैयाँ परेको छ । 

पुनर्बिमा र बिमा कम्पनीद्वारा दाबी रकम थप गर्न अस्वीकार
निर्जीवन बिमा कम्पनीहरूमा परेको कोरोना बिमा दाबी रकममध्ये भुक्तानी हुन बाँकी १० अर्ब रुपैयाँ थप गर्न पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले अस्वीकार गरेका छन् । नेपाल बिमा प्राधिकरणले अर्थ मन्त्रालयले ५५ प्रतिशत र प्राधिकरण, पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले ४५ प्रतिशत रकम थप गरी कोरोना बिमा रकम भुक्तानी गर्ने योजना अगाडि सारेको थियो । तर, पुनर्बिमा र बिमा कम्पनीहरू भने पछाडि हटेका छन् । 

पुनर्बिमा कम्पनीले यसअघि नै कुनै पनि रकम थप नगर्ने बताइसकेको छ । कोरोना बिमा दाबी रकम थप नगर्ने विषयमा अडान लिएकै कारण पूर्वअर्थमन्त्री जनार्दन शर्माले दबाब दिएपछि कम्पनीका तत्कालीन अध्यक्ष डा. रवीन्द्र घिमिरेले राजीनामा दिए ।  

हाल अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै मन्त्रालयका सहसचिव एवं कम्पनीका सञ्चालक सदस्य ईश्वरीप्रसाद अर्याललाई अध्यक्षको जिम्मेवारी दिएको छ । मन्त्रालयले अध्यक्षको जिम्मेवारी दिनेबित्तिकै नेपाल बिमा प्राधिकरणले कोरोना बिमा दाबी रकम भुक्तानीको विषयमा छलफलसमेत गरेको थियो । 

त्यस्तै, प्राधिकरणले कोरोना बिमा रकम भुक्तानी गर्न भन्दै पत्राचार गरेको नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले बताए । तर, कम्पनीले हालसम्म औपचारिक रूपमा कोरोना दाबी रकम थप गर्ने विषयमा निर्णय नलिएको उनले बताए । उनका अनुसार कानुनी रूपमा कम्पनीले कोरोना बिमा रकम भुक्तानीका लागि पुनर्बिमा कम्पनीको कुनै पनि दायित्व छैन । 

त्यस्तै, बिमा कम्पनीहरूले पनि बाँकी रहेको कोरोना बिमा दाबी भुक्तानीका लागि रकम थप नगर्ने स्पष्ट पारेका छन् । तर, सरकारले पछि रकम भरपाई गर्ने सर्तमा रकम थप गरिएको नेपाल बिमक संघका महासचिव एवं नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताएका छन् । सरकारले रकम भुक्तानी नगरेमा कानुनी प्रक्रियामा जाने संघको योजना छ ।