१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ भदौ २६ शुक्रबार ०९:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रौतहटमा तरकारीको  भाउ अकासियो

Read Time : > 1 मिनेट
२०७७ भदौ २६ शुक्रबार ०९:३३:००

रौतहटका बजारमा हरियो तरकारीको भाउ एक्कासि बढेको छ । हरियो तरकारी रौतहटको बजारमा सर्लाही र मकवानपुरबाट आउने गरेको छ । पछिल्लो समयमा बन्दाबन्दी र निषेधाज्ञाका कारण सर्वसाधारणको आम्दानी सुक्दै गएको र तरकारीको भाउ बढ्दै गएका कारण आमसर्वसाधारणको घरमा हरियो तरकारी कमै पाक्ने गरेको स्थानीयको भनाइ रहेको छ । अहिले बजारमा टमाटर १ सय ४० रुपैयाँ किलो बिक्री भइरहेको छ । पछिल्ला केही दिनमा टमाटरमै किलोमा ४० रुपैयाँसम्म भाउ बढेको हो । 

८० रुपैयाँ किलोमा हरियो काँक्रो बिक्री हुँदै आएको छ । काँक्रोमा केही दिनयता २० देखि ३० रुपैयाँ भाउ बढेको हो । जिल्लाको बजारमा १ सय ४० रुपैयाँ किलो बिक्री हुँदै आएको काउलीमै किलोमै ३० रुपैयाँ बढेको चन्द्रनिगाहपुरका स्थानीय तरकारी व्यापारी नागेश्वर साहले जानकारी दिएका छन् । 

सोमबार ६० रुपैयाँ किलोमा बिक्री हुँदै आएको बन्दाको प्रतिकिलो मूल्य एक सातापहिलासम्म ३० रुपैयाँ किलो रहेको साहको भनाइ रहेको छ । ५० रुपैयाँ किलोमा बिक्री हुँदै आएको लौकाको मूल्य पछिल्लो समयमा प्रतिकिलो ८० रुपैयाँसम्म पुगेको छ । ८० देखि १ सय रुपैयाँमा बिक्री हुँदै आएको बोडी प्रतिकिलो १ सय २० रुपैयाँ किलोमा आफूहरू किन्न बाध्य भएको चन्द्रपुर–८ का स्थानीय बासिन्दा अमृत सापकोटाको भनाइ रहेको छ । 

पछिल्लो चार दिनयता प्याजको मूल्यसमेत बढ्दै जान थालेको स्थानीय व्यापारीको भनाइ रहेको छ । प्याजको प्रतिकेजी मूल्य अहिले बजारमा ६० रुपैयाँ रहेको छ । प्याजको मूल्यसमेत किलोमा १२ रुपैयाँ बढेको हो । हरियो खुर्सानीको भाउ अकासिएर किलोको १ सय ६० रुपैयाँ पुगेको छ । केही दिनपहिलाको तुलनामा किलोमा खुर्सानीको भाउ ३० रुपैयाँ बढेको हो । रायोको साग रौतहटको बजारमा ३० रुपैयाँ मुठो पर्ने गरेको छ । जबकि, एक सातापहिलासम्म त्यही साग २० रुपैयाँ मुठोमा पाउने गरेको स्थानीय गृहणी इन्दिरा तिवारीले बताइन् । 

चाडबाड नजिकिँदै गर्दा लसुनको मूल्य बढेर किलोको २ सय २० रुपैयाँ पुगेको छ । एक हप्तापहिलासम्म लसुनको मूल्य १ सय ८० रुपैयाँ किलोमा रौतहटको बजारमा पाइने गरेको थियो । 

कोरोनाका कारण भएको लकडाउनले आपूर्ति कम हुँदा भएका तरकारी पनि किसानले बजारसम्म लैजान नसक्दा आपूर्ति कम भएकाले भाउ बढेको जानकारहरूको भनाइ रहेको छ । एकातिर किसानले आफूले उब्जाएको तरकारीको उचित मूल्य पाउन सकेका छैनन् भने अर्कोतिर उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वासु अधिकारीको भनाइ छ ।