१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १० सोमबार
  • Monday, 22 April, 2024
नयाँ पत्रिका भेरीगंगा (सुर्खेत)
२०८० पौष ११ बुधबार ०८:३७:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

झ्याजेटोलबाट ७० लाखबराबरको तरकारी निकासी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, भेरीगंगा (सुर्खेत)
२०८० पौष ११ बुधबार ०८:३७:००

दैलेख गुराँस गाउँपालिका– ८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु. पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाउने गरेका छन् ।  यही तरकारी बेचेरै उनी आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल छन् ।  तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने  गरेका छन् । 

‘हाम्रो यो टोलमा तरकारी उत्पादन धेरै हुन्छ, हामी फागुनमा आलु लगाउँछौँ, असार–साउनमा निकाल्छौँ । आलुसँगै काउली बन्दा, टमाटर पनि चैत–वैशाखदेखि नै लगाउँछौँ । अनि वर्षायाममा हुने भएकाले राम्रै फल्छ र बजार पाए आम्दानी पनि हुन्छ,’ उनले भने । आफ्नो यस वर्ष करिब रु. पाँच लाख कमाइ भएको सुनाए । ‘मेरो भएको जग्गाको अधिकांश बारीमा तरकारी लगाउने गरेको छु । केही नभए पनि एक याममा रु. तीन–चार लाख त प्रत्येक घरकाले कमाउँछन् । तर, हामीलाई उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन समस्या छ ।’

उनी मात्रै होइन, झ्याजेटोलकै गगनबहादुर खत्रीले पनि आफ्नो अधिकांश जग्गामा तरकारी खेती गर्दै आएका छन् । उनी पनि याममा रु. चारदेखि पाँच लाख कमाइ गर्छन् । उनी भन्छन्, ‘सबैभन्दा राम्रो कमाइ आलुबाट हुने गरेको छ, आलुसँगै अन्य काउली र बन्दाले पनि भाउ पाए त राम्रै हुन्छ । तर, कहिलेकाहीँ भाउ पाउँदैन ।’

यो टोलमा नौ घरपरिवार छन् । सबै घरपरिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो । एक याममा मात्रै तरकारी खेती गर्ने गरिएको छ । तैपनि आम्दानी राम्रो छ । अर्का किसान बालकुमारी खत्री भन्छिन्, ‘वर्षायाममा मात्रै खेती गर्ने गर्छौँ । हिउँदयाममा तुसारो जम्छ, तरकारी उत्पादन गर्न सकिँदैन । हिउँदमा पनि उत्पादन गर्न सक्ने भए वर्षमा रु. १० लाखसम्म एकजना किसानले आम्दानी गर्न सक्थ्यो ।’

यहाँ फागुन–चैतबाट तरकारी खेती सुरु हुन्छ भने कात्तिकसम्म बिक्री–वितरण गर्ने गरिन्छ । अर्का किसान यामबहादुर ओली भन्छन्, ‘फागुनमा आलु लगाउँछौँ, असार–साउनमा निकालेर बेच्न सुरु गर्छौँ, काउली–बन्दा भने त्यसको बेर्ना तयार गरेर वैशाखबाट लगाउन सुरु गर्छौँ, अनि असारमा बेच्ने गर्छौँ । भाउ पायो भने त मनग्य आम्दानी हुन्छ ।’

तरकारी खेतीका लागि उपयुक्त ठाउँ रहेको सो टोलका किसान स्थानीय पालिकाबाट सहयोग नपाएको गुनासो गर्छन् । आफूहरूलाई अनुदानमा मल र बिउ उपलब्ध गराउनुपर्ने र  विभिन्न सरकारी कार्यक्रम लागू गर्न माग गर्छन् । किसान हीरादेवी केसीले यहाँ पालिका तथा संघीय सरकारबाट कुनै पनि कार्यक्रममा नआएको बताइन् । ‘यहाँ यति धेरै उत्पादन हुन्छ, हामीलाई समस्या भनेको सडकको छ, गाउँको माथिसम्म कच्ची सडक त आएको छ, तर सधैँ चल्दैन । हामीले आलुको बिउ महँगोमा किन्नुपर्छ, मल पनि हामी पाउँदैनौँ ।’
  
उनका अनुसार यो टोलमा एकजना किसानले ५० क्विन्टलसम्म आलु फलाउने गरेका छन् । अर्का किसान कृष्णबहादुर खत्रीले उत्पादन तरकारी बोकेर लैजान समस्या रहेको जनाउँदै बस्तीसम्मै बाटो निर्माण गरिदिन माग गरे । गुराँस– ८ का वडाध्यक्ष दीपेन्द्र ओलीले बाटो नपुगेका बस्तीमा बाटो  र भएका बाटो विस्तारका लागि पहल गर्ने बताए । 

प्रदेश सरकारले भने किसानको सहजताका लागि विगतको भन्दा फरक तरिकाले कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उत्पादन क्षेत्रलाई नै समेट्ने गरी योजना निर्माण गरिएको जानकारी दिए । ‘कुन ठाउँमा के उत्पादन हुन्छ, त्यही क्षेत्रलाई लक्ष्य गरी कार्यक्रम बनाइरहेका छौँ,’ उनले भने, ‘जस्तै, झ्याजेटोल आलुका लागि उपयुक्त छ भने आलु पकेट क्षेत्र बनाएर किसानलाई प्रोत्साहित हुने कार्यक्रम हामीले बनाउने गरेका छौँ । आगामी वर्षको कार्यक्रममा त्यस क्षेत्रका किसानको आवश्यकताअनुसार कार्यक्रम बनाउँछौँ ।’