Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ५ बुधबार
  • Wednesday, 21 October, 2020
ad
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २६ शुक्रबार ०७:५६:००
सम्पादकीय

सिमानामा अलपत्र स्वाभिमान

नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २६ शुक्रबार ०७:५६:००

समयले एक चक्र पूरा गरेझैँ या रिललाई पछि फर्काएझैँ नेपाल–भारत सिमानामा दृश्य फेरिएको छ । तीन महिनापहिलेसम्म लगातार मानिसको लस्कर सिमानावारि आउन लाम लागेको थियो । बालबालिका थिए, गर्भवती र सुत्केरी महिला थिए, थाके–गलेका पुरुष थिए । ती सब भारतमा फैलिँदो संक्रमण र जीविकाको संकटका कारण आफ्ना जहान–परिवारसँग भेट्न, देशको छानोमा ओत लाग्न आतुर थिए । सिमानामा उनीहरूमाथि के–के बित्यो, त्यो अझै इतिहास भइसकेको छैन । तर, यतिवेला फेरि त्यही लस्कर पारितिर सोझिएको छ । गड्डाचौकी, जमुनाहा र त्रिनगरबाट हुलका हुल मानिस बाहिरिँदै छन् । 

एउटा अनुमानअनुसार रोग र भोकको भयले उताबाट पाँच लाख यता फर्केका थिए, अहिले नै ५० हजार उता फर्कन लाम लागेका छन् । यसको मूलमा छ– भोकको भय । भोकको भयले लखेटेपछि, ऋणले खेदेपछि, त्यही ऋण पनि पाउन नसक्ने भएपछि मान्छेले रोगको भयानकतालाई सामान्य ठान्दो रहेछ । भोक र ऋणको भूतले लखेटिएपछि कोरोनाका नदेखिने भाइरससँग मानिस कहिलेसम्म डराइरहन सक्छ ? रोगसँग डराउन पनि मान्छेको हैसियत चाहिने रहेछ । जब तपाईंसँग रोगभन्दा अरू समस्या भयानक बनेर आउँछन् अनि रोगसँग डराउने तपाईंको हैसियत रहन्न । सञ्चय गर्न सक्ने, आफ्नै आयस्तामा बाँच्न सक्ने र स्रोत–साधन भएकालाई रोग डरलाग्दो देखिने रहेछ । जसलाई घरको ढोकाबाट बाहिर ननिस्केसम्म या गाउँ नछाडेसम्म लालनपालनको समस्या रहन्छ, उसलाई रोग डरलाग्दो नदेखिने अर्थात् रोगको प्रभावको वर्गचरित्र हुँदो रहेछ ।

युवा जनशक्ति आँखामा आँसु टिलपिल गर्दै सिमानामा पुगेको छ । हाम्रो स्वाभिमान त्यहीँ अलपत्र परेको छ । हाम्रो राष्ट्रवादको लाजको पर्दा त्यहीँ खुलेको छ । 

जमुनाहा नाकामा भारत जान आवश्यक मानिने आधार कार्ड या रासन कार्ड नभएकाले गरिरहेको संघर्ष यसैको उदाहरण हो । यता नेपालमा भन्दा भारतमा रोगको संक्रमण दर तीव्र बनिरहेका वेला मान्छे किन त्यो मृत्युलोकतिर जान बल गरिरहेका छन् भन्ने प्रश्न आजको नेपालको सत्तारुढ दल र अगुवा राजनीतिक दलका अघिल्तिर सबैभन्दा ठूलो प्रश्न हुनुपर्ने हो । राष्ट्रले तत्काल निर्णय गर्नुपर्ने एउटा कार्यसूची हुनुपर्ने हो । तर, काठमाडौंका अग्ला पर्खालभित्रका दरबारमा चित्र फरक देखिन्छ । शासनसत्तामा बस्नेका प्राथमिकता फरक देखिन्छन्, जसले यी आममानिसको पीडा देख्न छाडेको छ । कोभिड रोग जति भयानक छ, त्यत्तिकै भयानक छ, घरघरका भान्साको कथा । यस्तोमा जो–जो विदेशबाट फर्के, तिनीहरूकहाँ स्थानीय सरकार र राजनीतिक दलका प्रतिनिधि पुग्नुपथ्र्यो । 

आँगन–आँगन र चौतारीमा जनप्रतिनिधि र स्थानीयबीचमा बहस हुनुपथ्र्यो कि अब नेपालमा नै गर्न सकिने काम के हुन सक्छ ? रोजगारी सिर्जनाका अवसर के–के छन् ? सरकार रोजगारी सिर्जना गर्न के–कस्तो योजना ल्याउँदै छ ? अथवा के ल्याउन आवश्यक छ ? के–के तत्काल सम्भव छ र के पछि सम्भव हुनेछ ? त्यसमा यसरी बाहिरबाट आउनेको सहभागिता कसरी हुनेछ ? अर्को काम पाउनुअघि कसरी पेट भर्ने हो ? कसरी जीविका चल्ने हो ? स्थानीय सरकारले यसमा के सहयोग गर्न सक्छ ? स्वयं रोजगारी खोजिरहेको वयस्क पुरुष या महिला के विकल्प सोचिरहेका छन्, जसमा सरकारले भरथेग गर्दा, बैंकले ऋण दिँदा सहयोग पुगोस् ? 

यस्ता बहस कुनै स्थानीय तहले गरेनन् । प्रदेश सरकारले गरेनन्, न त संघीय सरकारले नै ग¥यो । कोरोनालाई तातोपानी र हाच्छ्युँ गरेर लखेट्न अपिल गर्ने सत्ताधारीले आममानिसका यी समस्यालाई पनि झिंगा धपाएझैँ धपाइदिन खोजे । परिणाम, हाम्रो युवा जनशक्ति आँखामा आँसु टिलपिल गर्दै सिमानामा पुगेको छ । हाम्रो स्वाभिमान त्यहीँ अलपत्र परेको छ । हाम्रो राष्ट्रवादको लाजको पर्दा त्यहीँ खुलेको छ । सउदी अरबमा महिनौँ विचल्लीमा परेर आफ्नै सरकारविरुद्ध प्रदर्शन गरिरहेका युवा होऊन् या गहुँ्रगो मन लिएर भारततिर लागिरहेकाहरू, सबैको प्रश्न यत्ति मात्र हो, यसप्रति उत्तरदायित्व बहन गर्ने नियतसहितको नेतृत्व यो देशले कहिले पाउने हो ?