सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोवासको व्यवस्था गरिने भएको छ।
सभामुखको आग्रहमा एस.ओ.एस. बालग्राम, काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोली मंगलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएको थियो । एस.ओ.एसले मंगलबारबाटै बालबालिकाको शिक्षा र संरक्षणका लागि आवश्यक प्रक्रिया थालेको बताइएको छ ।
यही भदौ १० गते सभामुख सापकोटाले लिदीबाट अस्थायी स्थानान्तरण भएर जुगल गाउँपालिकाको बाँसखर्कमा आएका विस्थापितहरूसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको आफूले जिम्मेवारी लिने बताएका थिए।
सभामुख सचिवालयको भनाइ छ, ‘सिन्धुपाल्चोकबाट काठमाडौं फर्केर सभामुखज्यूले एस.ओ.एस. बालग्रामका अधिकारीहरूसँग छलफल गरी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाका प्रबन्ध मिलाइदिन आग्रह गर्नुभएको थियो ।’
गत साउन ३० गते बिहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ छ भने दुईजना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीवासीलाई हाल बाँसखर्कमा अस्थायी बसोवासको व्यवस्था मिलाइएको छ ।