१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ भदौ ९ मंगलबार ०७:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भेन्टिलेटर उत्पादन गर्दै  राष्ट्रिय आविष्कार केन्द्र

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ भदौ ९ मंगलबार ०७:५२:००

महावीर पुन भन्छन्– सरकारको मात्रै भर परेर कोरोना नियन्त्रण गर्न सकिँदैन

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा छ । हालसम्म मृत्यु हुनेको संख्या एक सय ५७ पुगेको छ । पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेपछि अस्पतालका बेड भरिन थालेका छन् । आइसियु र भेन्टिलेटरजस्ता सघन उपचारका लागि आवश्यक बेडहरूको अभाव हुन थालेको छ । संक्रमितको संख्या बढ्दै जानु र उचित स्वास्थ्य सामग्रीको अभाव हुँदै जानुले जोखिमपूर्ण अवस्था निम्तिने भन्दै चिकित्सकहरूले संक्रमण न्यूनीकरण गर्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउँदै आएका छन् । 

कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमै आवश्यक स्वास्थ्य सामग्री बनाएर अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्दै आएका वैज्ञानिक महावीर पुन संक्रमण नियन्त्रणका लागि निजी क्षेत्रको भूमिका मुख्य रहने बताउँछन् । सरकारको भर परेर बस्नुभन्दा आफ्नो ठाउँबाट सबैले पहल थाल्नुपर्ने उनको भनाइ छ । ‘बिस्तारै टोलटोलमा संक्रमण देखिन थालेको छ, यस्तो परिस्थितिमा सरकारको भर परेर बस्नुभन्दा व्यक्ति स्वयंले सचेत हुन आवश्यक छ,’ उनी भन्छन्, ‘घरघरमै बिरामी देखिँदासम्म भौतिक दूरीको नियम पालना नगर्ने, मास्क नलगाउने, समयसमयमा हात सफा नगर्ने, अनावश्यक भिडभाड गर्नेजस्ता प्रवृत्तिले गर्दा जोखिम निम्त्याइरहेका छौँ । सचेत हुनुपर्ने विषयमा हेलचेक्र्याइँ गर्ने बानीका कारण अप्ठ्यारो भइरहेको छ ।’ 

पछिल्लो समय कोरोना नियन्त्रणका लागि चाहिने आवश्यक सामग्री जुटाउन राष्ट्रिय आविष्कार केन्द्रले महत्वपूर्ण भूमिका खेलिरहेको छ । दाताहरूको सहयोगमा रकम संकलन गरेर राष्ट्रिय आविष्कार केन्द्रले अमेरिकाको स्टेनफोर्ड विश्वविद्यालयको सहयोगमा आवश्यक १० किसिमका सामान निर्माण गरी अस्पतालहरूलाई निःशुल्क उपलब्ध गराइरहेको छ । खासगरी कोरोनाका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई लक्षित गरेर आविष्कार केन्द्रले पिपिई, स्वाब संकलन बुथ र मास्कलगायतका सामान निःशुल्क वितरण गरिरहेको छ । अस्पतालमा कार्यरत चिकित्सक मात्र नभई सरसफाइ कर्मचारीदेखि लिएर सुरक्षा गार्ड र पछिल्लो समय प्रहरीहरूलाई समेत पिपिईजस्ता सुरक्षाका सामान वितरण गरिरहेको छ । 

पुनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रले हाल अमेरिकाबाट आवश्यक सामान ल्याएर भेन्टिलेटर उत्पादन गरिरहेको छ, जुन परीक्षणको क्रममा छ । योसँगै अस्पतालमा बिग्रेर थन्क्याइएका भेन्टिलेटर ल्याएर आवश्यक पार्टपुर्जा निर्माण गरी पुनः प्रयोगमा ल्याउन मिल्ने बनाइँदै छ । पुराना भेन्टिलर मर्मत गर्दा निकै सस्तो पर्ने र अस्पतालहरूलाई जोखिम न्यूनीकरण गर्न निकै सहयोगी हुने बताउँछन् पुन । भन्छन्, ‘पुरानो भेन्टिलेटर मर्मत गर्दा समय र पैसा दुवै कम लाग्ने हुँदा मर्मतलाई पनि प्राथमिकता दिइरहेका छौँ । नयाँ भेन्टिलेटरहरूको काम पनि भइरहेको छ, सेप्टेम्बरको पहिलो सातासम्म भेन्टिलेटर तयार गरेर परीक्षण गर्ने तयारी गरेका छौँ ।’ यसबाहेक आविष्कार केन्द्रले मास्क, फेसियल मास्क, न्युमास्क, स्वाब संकलन गर्ने बुथ, डिसइन्फेक्ट गर्ने बक्स, एरोसोल बक्स, बिरामी हेरचाह गर्ने रोबोर्ट उत्पादन र वितरण गर्दै आएको छ ।

निजी क्षेत्रको सहयोग आवश्यक 
संक्रमितको संख्या बढ्दै जाँदा छुट्टै सुविधायुक्त अस्पताल र आइसोलेसनकक्षको आवश्यकता पनि बढ्दै गएको छ । कोभिडका बिरामी र अन्य बिरामीलाई एउटै अस्पतालमा राख्दा स्वास्थ्य सेवामा बाधा पुगिरहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ । गाउँस्तरमा संक्रमणको दर घटाउन व्यक्ति स्वयंले सचेत हुनुपर्ने र संक्रमितको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्न निजी क्षेत्रको सहयोग आवश्यक रहेको पुन बताउँछन् । भन्छन्, ‘महामारी नियन्त्रणका लागि सामाजिकस्तरमा काम गरिरहेका संघसंस्थालाई निजीस्तरको सहयोग अतिआवश्यक छ । स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि आवश्यक पिपिई, मास्कजस्ता अत्यावश्यक सामान निर्माण गरेर वितरण गरिरहेका संस्थाहरूलाई आर्थिक सहयोग चाहिएको छ । आफ्नो क्षेत्रबाट सकेजति सबैले सहयोग गर्नुपर्छ । कोभिड परीक्षणदेखि लिएर सहज उपचारसम्मका लागि नागरिकको पनि उत्तिकै सहयोग आवश्यक हुन्छ ।