१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ भदौ ४ बिहीबार ११:५५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्लभ मूर्ति फेला पारेपछि भारतीय सुरक्षाकर्मीले पक्राउ गरेकाे नेपाली नागरिक रिहा(मूर्तिकाे तस्बिरसहित)

Read Time : > 1 मिनेट
२०७७ भदौ ४ बिहीबार ११:५५:००

महोत्तरीको मनरा सिस्वा नगरपालिका– ९ बथनाहाको मुसहरी टोलनिवासी २० वर्षीय बलिन्दर सदालाई भारतीय सुरक्षाकर्मीले बुधबार राति रिहा गरेको छ । 

महोत्तरी प्रशासनको पहलपछि उनलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमुक्त गरेको हो । 

भारतीय भूमिमा दुर्लभ मूर्ति भेटेका सदालाई मूर्ति फिर्ता गर्न भन्दै भारतीय सुरक्षाकर्मीले नेपाली सीमाभित्रै आएर सदाको घरबाटै नियन्त्रणमा लिएर भारतस्थित आफ्नो क्याम्पमा लगेको थियो । 

नेपाली सुरक्षाकर्मीहरूलाई जानकारी हुनासाथ सदालाई नियन्त्रणमुक्त गराउन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको निर्देशनमा पहल सुरु भएको थियो ।

कुशेऔँसीका दिन सदा कुश उखेल्न नेपाल–भारत सीमानजिकै रहेको टोक्ना नदीछेउमा गएका थिए । 

कुश उखेल्दै गर्दा माछा समात्न नदीमा गएका सदाले मूर्ति फेला पारेका थिए । 

केही बेर उतै मूर्ति घुमाएर घर ल्याएका सदाको घरमा केही बेरमै भारतीय सीमा सुरक्षार्थ खटिएकाे एसएसबी आएर उनलाई नियन्त्रण लिई भारत लगेको थियो । 

एसएसबीका सुरक्षाकर्मी आएको थाहा पाएपछि स्थानीयले अवराेध गरेर मूर्ति भने लान दिएनन् । तर, भारतीय सुरक्षाकर्मीले मूर्ति फेला पारेको स्थान देखाइदिन भन्दै सदालाई भारतीय भूमिमा लगेको थियो र आफ्नो नियन्त्रणमा लिएको थियो । 

बुद्ध, मञ्जुश्री वा अन्य कुनै देवताको हुन सक्ने उक्त मूर्तिबारे अन्याेल रहे पनि मूर्ति नेपालकै हुनुपर्ने स्थानीय जसपाका नेता चन्दन दुबेले बताए । 

उनले यस्तो शैलीको मूर्तिहरू प्रायः नेपालमै पाइने भएकोले कसैले नेपालकै कुनै मन्दिरबाट चोरेर भारत तस्करी गर्न लुकाएकाे हुन सक्ने बताए । करिब एक फिट उचाइ भएको मूर्ति १५ किलोभन्दा बढी वजनको छ ।

वडाध्यक्ष र स्थानीयहरूले उक्त मूर्ति गाउँमा नै स्थापना गर्ने भनेर आवाज उठाउँदै मूर्तिलाई सदरमुकाम ल्याउन दिएका छैनन् । 

मूर्तिको आधिकारिकता स्थापित गर्न अनुसन्धान अगाडि बढाउन सदरमुकाम ल्याउनुपर्ने भए पनि स्थानीयस्तरबाट अवरोध भएकाले सम्झाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।