मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७७ पौष २१ मंगलबार ०२:०१:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा नेपाली युवकमाथि गोली प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७७ पौष २१ मंगलबार ०२:०१:००

सीमावर्ती बजारबाट घरायसी सामान ल्याएर फर्किरहेका दोधारा–चाँदनी नगरपालिका– १ चाँदनीका १६ वर्षीय नरेश लुहारमाथि भारतीय सुरक्षाकर्मीले सोमबार साँझ गोली प्रहार गरेका छन् । खुुट्टामा गोली लागेर घाइते भएका उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

नरेशको दायाँ खुट्टामा गोलीको छर्रा लागेको छ । भारतीय बजार गडिगोठबाट फर्किने क्रममा जंगल क्षेत्रमा आफूलाई गोली हानिएको उनले बताए । सीमापारि जंगलको बाटोमा काटेर फालिएको रूखका विषयमा सोधपुछ गर्ने भन्दै भारतीय सुरक्षाकर्मीको टोलीले उनलाई रोकेको थियो । 

‘घरका लागि चामल, दाल, चिनी, टमाटर किनेर फर्कंदै थियौँ । सँगै गएको साथी मभन्दा अगाडि थियो । जंगलमा रूख काटेर बाटोमा फालिएको रहेछ, भारतीय सुरक्षाकर्मीले मलाई रोकेर त्यही विषयमा केरकार गर्न थाले । त्यसक्रममा उनीहरूले डण्डाले हानेर मलाई लडाए । म उठेर भागेँ,’ अस्पतालमा उपचाररत नरेशले नयाँ पत्रिकासँग भने, ‘केही पर पुगेपछि पटका पड्केको जस्तो आवाज आयो, मेरो खुट्टामा गोली लागेको रहेछ ।’ अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनी गाउँमै ट्र्याक्टर चलाउँछन् । 

गोली हान्ने खैरो बर्दी लगाएका सुरक्षाकर्मी रहेको र उनीहरू १०–१२ जनाको समूहमा रहेको नरेशले बताए । कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले नरेशमाथि गोली हान्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) वा भारतीय वन रक्षकमध्ये को हुन् भन्ने भन्ने अझै खुल्न नसकेको बताए । 

गोली लागेपछि पनि आफू केहीबेर भागेर नेपालपट्टिको पूर्णागिरि प्राथमिक स्कुलसम्म पुगेको नरेशले बताए । ‘स्कुलमा पुगेको वेला छिमेकी अंकलको फोन आयो, उहाँलाई घटनाबारे बताएर लिन बोलाएँ । उहाँले अस्पताल ल्याउनुभयो,’ उनले भने ।