मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ बैशाख २९ बिहीबार ०६:२०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मोदी भ्रमणको पूर्वतयारी : भारतीय सुरक्षाकर्मीले गरे लुम्बिनीमा रेकी 

Read Time : > 1 मिनेट
२०७९ बैशाख २९ बिहीबार ०६:२०:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने तय भएसँगै सुरक्षा तयारी थालिएको छ । उनको सुरक्षा व्यवस्थाका लागि बुधबार भारतीय सैनिक लिएर भारतीय वायुसेवाको विमान लुम्बिनी अवतरण गरेको छ । मोदी बुद्धजयन्तीका दिन २ जेठमा लुम्बिनी आउँदै छन् । 

भारतीय सैनिक विमान बुधबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । मोदीको सुरक्षा तयारीका लागि आएका भारतीय सेनाको एसपिजी (स्पेसल प्रोटेक्सन गार्ड) २ जेठसम्मै लुम्बिनी रहनेछन् । भारतीय सुरक्षाकर्मीको विमान भने फर्किसकेको छ । 

भारतीय सैनिक टोलीले लुम्बिनी क्षेत्रको रेकी गरेको छ । ‘भारतीय प्रधानमन्त्रीको सुरक्षा व्यवस्थापनका लागि टोली आएको हो,’ एसपी रेग्मीले भने । आइसी–७६ कलसाइन भएको भारतीय वायुसेनाको इलुसियन विमान भैरहवास्थित अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विदेशी जहाज हो । यसलाई नेपाली अधिकारीहरूले कूटनीतिक उडान भनेका छन् । 

मोदीको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालित भइसकेका छन् । सुरक्षाको आन्तरिक घेरामा नेपाली सेना र भारतीय सेना रहने सुरक्षा स्रोतले जनाएको छ । 

मोदी २ जेठमा भारतीय सहर कुशीनगरबाट भारतीय सेनाको हेलिकोप्टरमा लुम्बिनी आउने कार्यक्रम छ । उनी विमानस्थलमा भने अवतरण नहुने भएका छन् । लुम्बिनी क्षेत्रमा मोदी करिब ६ घन्टा व्यस्त रहने गरी कार्यतालिका तयार भएको छ । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा स्वागत गर्नेछन् । 

आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । ०७१ मा प्रधानमन्त्री भएपछि मोदीको यो पाँचौँ भ्रमण हो भने दोस्रोपटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । 

दुई प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि लुम्बिनीमै हुनेछ । मोदीले लुम्बिनी मन्दिरमा पूजाआजा गर्ने, भारतीय सहयोगमा निर्माण हुने बौद्ध विहारको शिलान्यास गर्नेदेखि बौद्धमार्गीहरूलाई सम्बोधन गर्नेसमेतको कार्यक्रम छ । मोदी र देउवाले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । मोदीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सम्मान गर्नेछ । मोदी बुद्धजयन्तीकै दिन अपराह्न भारत फर्किनेछन् । 

देउवा–मोदी वार्ताका एजेन्डा एयर इन्ट्री रुट नेपालको प्राथमिकता 
लुम्बिनीमै रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सहज सञ्चालनका लागि नेपालले एयर इन्ट्री रुटका लागि भारतसँग अनुमति माग्दै आएको छ । मोदीको भ्रमणमा पनि नेपालले भारतको सुरक्षा चासो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै एयर इन्ट्री रुटका लागि पुनः आग्रह गर्ने तयारी गरेको छ । 

प्रधानमन्त्री देउवाले १९ चैतमा नयाँदिल्लीमा मोदीसँग भएको वार्तामा महेन्द्रनगर, नेपालगन्ज र जनकपुर भएर एयर इन्ट्री रुटको अनुमति दिन आग्रह गरेका थिए । यसपटक पनि प्रधानमन्त्री देउवाले मोदीलाई लुम्बिनीमा पुनः त्यसका लागि आग्रह गर्ने भएका छन् । ‘नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न लागेको हुनाले भारतबाट एयर इन्ट्री रुटको अपेक्षा गरेको छ । यो विषय नेपालको प्राथमिकतामा भएकाले यसपटक पनि प्रस्तुत हुनेछ,’ एक अधिकारीले भने, ‘भारतीय प्रधानमन्त्री मोदीले दिल्लीमा प्रधानमन्त्री देउवालाई यस विषयमा सम्बन्धित सरकारी संयन्त्रमा छलफल गरेर टुंगो लगाउन तयार छु भन्नुभएको छ ।’ 

नेपालले भारतबाट एयर इन्ट्री रुटमा सहयोगको अपेक्षा राखेको छ । नेपालगन्ज वा भैरहवा भएर एयर इन्टी रुट नदिए भैरहवा र पोखरा विमानस्थल चल्न कठिन हुने नेपालको विश्लेषण छ । लुम्बिनीमा हुने वार्तामा दुई प्रधानमन्त्रीबीच पछिल्लोपटक नेपाल र भारतबीच जारी भएको जलविद्युत् विकासमा ‘ज्वाइन्ट भिजन स्टेटमेन्ट’ कार्यान्वयनका विषयमा पनि छलफल हुने भएको छ ।