१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ असार ३० मंगलबार १०:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होटेल मजदुरले वैशाखदेखि पुससम्म न्यूनतम तलब पाउने

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असार ३० मंगलबार १०:०८:००

लकडाउनका कारण पर्यटन क्षेत्र शून्य भए पनि होटेलमा कार्यरत मजदुरहरूले साढे आठ महिना होटेलको स्तरअनुसार न्यूनतम तलब पाउने भएका छन् । होटेल संघ नेपाल (हान) र मजदुर संगठनबीच ननस्टार होटेलदेखि पाँचतारे होटेल डिलक्समा काम गर्ने मजदुरसम्मलाई वैशाखदेखि पुसको दोस्रो सातासम्म न्यूनतम तलब दिने सहमति भएको हो । सहमतिसँगै मजदुरहरूले वैशाखदेखि पुस दोस्रो सातासम्म ४ हजार ३ सयदेखि १० हजार रुपैयाँसम्म मासिक तलब पाउने भएका छन् । हान र अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर युनियन र नेपाल पर्यटन तथा होटेलसम्बद्ध श्रमिक संघबीच सहमति भएकोे हो । 

विश्वभर फैलिएको कोरोना संक्रमणका कारण धराशायी भएको होटेल क्षेत्र गत वैशाखमा व्यवसायीहरूले बन्द गर्ने घोषणा गरेका थिए । होटेल बन्द गरेसँग व्यवसायीले न्यूनतम तलबको १२.५ प्रतिशत अर्थात् १ हजार ६ सय रुपैयाँ मात्रै दिने निर्णय गरेका थिए । तर, मजदुर संगठनले अस्वीकार गरेसँगै विवाद बढ्दै आएको थियो । 

‘विभिन्न चरणको छलफलपछि डिसेम्बरसम्म न्यूनतम तलब दिने सहमति भएको छ,’ होटेल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले भने । सहमतिअनुसार पाँचतारे डिलक्स अर्थात् दुई सय कोठाभन्दा बढी भएका होटेलका मजदुुरले १० हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी, दुई सयभन्दा कम कोठा भएका पाँचतारे होटेलका मजदुरले ९ हजार रुपैयाँ पाउनेछन् । एक सय कोठाभन्दा बढी भएका चारतारे डिलक्स होटेलका मजदुरले मासिक ८ हजार ४ सय ५५ र चारतारे होटेलका मजदुरले ८ हजार तलब पाउने भएका छन् । 

तीनतारे होटेलका मजदुरले ५ हजार र दुईतारे होटेलका मजदुरलाई मासिक ४ हजार ३ सय दिने सहमति भएको छ । एकतारे र ननस्टार होटेलले भने आपसी सहमतिमा तलब पाउने निर्णय भएको नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिए । ‘व्यवसायीलाई पनि मार नपर्ने र मजदुरको पनि हातमुख जोर्नका लागि सहमति गरेका हौँ,’ अध्यक्ष कुँवरले भने । अन्य रेस्टुरेन्ट, फास्टफुडलगायत क्षेत्रका मजदुरका विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए । सहमतिअनुसार घरमा बस्नेका लागि त्यति तलब र काम गर्न आउनेका लागि खाइपाई आएकै सेवा सुविधा पाउनेछन् । होटेल क्षेत्रमा काम गर्ने मजदुरको न्यूनतम पनि ३० हजार तलब हुने गरेको छ । कोभिड–१९ का कारण होटेल क्षेत्रमा काम गर्ने ७ लाखभन्दा बढी बेरोजगार भएको अनुमान गरिएको छ । 

कोभिड–१९ का असरका कारण होटेल क्षेत्रको लगानी नै जोखिममा पर्ने खतरा बढेर गएको भन्दै व्यवसायीले सरकारसँग आर्थिक प्याकेज दिन माग गर्दै आएका छन् । सरकारले पुनर्कर्जा तथा कर तिर्नमा केही सहुलियत दिन ५० अर्बको कोष खडा गरेको छ । कोभिड–१९ का कारण होटेल क्षेत्रको मात्रै १ खर्बभन्दा बढी गुम्ने अनुमान गरिएको छ । व्यवसायीहरूले अन्तर्राष्ट्रिय र आन्तरिक उडान खुलाएर आउने सिजनमा बाँकी रहेको २० प्रतिशत पर्यटकको बुकिङ नेपाल ल्याउनुपर्ने बताउँदै आएका छन् ।