१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २८ आइतबार ०६:५९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

३८ क्विन्टल सुन तस्करीका फरार अभियुक्त खड्कालाई दुबईबाट नेपाल ल्याइयो  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २८ आइतबार ०६:५९:००

३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या घटनाका एक प्रमुख अभियुक्तलाई प्रहरीले नेपाल ल्याएको छ । दुबईमा रहेका हरिशरण खड्कालाई शनिबार नेपाल ल्याइएको हो । संयुक्त अरब इमिरेट्सबाट त्यहाँका नेपालीलाई उद्धार गरी ल्याइएको विमानमा उनी आएका हुन् । प्रहरीले विमानस्थलमै नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङ बुझाइने प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बताए । 

खड्काविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको थियो । २० माघ ०७५ मै दुबईमा उनी पक्राउ परेका थिए । लामो कानुनी प्रक्रिया पूरा गरी त्यहाँको सरकारले उनलाई नेपाल निष्कासन गरेको हो । यो अवधिमा उनी त्यहाँ बाहिरै बसेर मुद्दा खेपिरहेका थिए । 

काभ्रे घर भएका खड्का वैदेशिक रोजगारीका लागि दुबई गएकामा अवैध धन्दामा लागेर करोडौँ कमाएका थिए । दुबईमा व्यापारको आवरणमा सुन तस्करीलगायत अवैध काम गर्दै आएका थिए । चार वर्षअघि गौशालामा भेटिएको साढे ३३ किलो सुन तस्करीमा पनि उनको संलग्नता खुलेको थियो । पछि चूडामणि उप्रेती गोरेको समूहसँग मिलेर पनि उनले सुन तस्करी गर्दै आएका थिए ।

सोही समूहका रमेश उप्रेती र कृष्णगोपाल अग्रवालसमेत युएईमा पक्राउ परेका छन् । तर, उनीहरूलाई नेपाल पठाउने निष्कासनको निर्णय भइनसकेको स्रोत बताउँछ । सुन तस्करीका मुख्य नाइके मोहनकुमार अग्रवाल फरार नै छन् । कालिकास्थानस्थित उनको घरमा प्रहरीले छापा हानी गाडीलगायत सामान बरामद गरेको थियो । छापा हान्नु केही दिनअघि सूचना पाएर उनी भारत भागेका थिए । 

त्यस्तै, सिराहा धनगढीमाई–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड–८ का टुकबहादुर मगर, सुनसरीको धरान–२ का कृष्ण बस्नेत, झापाको मेचीनगर–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध इन्टरपोलले समेत ‘रेड नोटिस’ जारी गरेको छ । उनीहरू फरार छन् । फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको छ । सो मुद्दामा नेपाल प्रहरीका एसएसपी श्याम खत्रीसहित केही अभियुक्तहरू पुर्पक्षका लागि थुनामा छन् ।