१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पुर्‍याइएका पूर्वसभामुख महरा । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
टेकराज थामी काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:३१:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुन तस्करीमा मुछिएका पूर्वसभामुख महरा पक्राउ

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:३१:oo

इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर साढे नौ किलो सुन तस्करी भएको घटनामा संलग्न रहेको आरोप लागेका माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार सिआइबीले कपिलवस्तुबाट पक्राउ गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा महरा पक्राउ परेका हुन् ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उन्मुक्ति दिएका आरोपितहरूको नाम नै किटान गरी जाँचबुझ आयोगले थप अनुसन्धान गर्न सुझाव दिएपछि सरकारले कार्यान्वयन सुरु गरेको हो । सिआइबीले महरासँग बयान लिए पनि मुद्दा चलाएको थिएन । यही प्रकरणमा महराका छोरा राहुलविरुद्ध भने सिआइबीले अदालतमा मुद्दा अभियोजन गरेको थियो । हाल उनी पुर्पक्षका लागि थुनामा छन् । 

पक्राउलगत्तै सिआइबीले महरालाई कपिलवस्तुबाट भैरहवा पुर्‍याएर जहाजमा काठमाडौं ल्याएको थियो । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि चार दिनको म्याद थपेको छ । तर, स्वास्थ्य अवस्था नाजुक भएको औँल्याउँदै अदालतले उनलाई अस्पताल भर्ना गर्न भनेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ । ‘महरालाई  नर्भिक अस्पताल भर्ना गरिएको छ । उनको विगतमा पनि सोही अस्पतालमा उपचार हुँदै आएको रहेछ । त्यसो हुँदा अहिले पनि त्यहीँ भर्ना गरिएको हो,’ सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने । 

भेपमा लुकाएर तस्करी भएको साढे नौ किलो सुन विमानस्थलस्थित भन्सार कार्यालयमा राखिएको वेला तस्करीमा संलग्नहरूसँग पूर्वसभामुख महराको पटक–पटक फोन सम्पर्क भएको सिआइबीको अनुसन्धानमा भेटिएको थियो । भन्सार कार्यालयबाट तस्करीको सुन छुटाउन चिनियाँ तस्करका नाइके लुईले ११ पटक फोन गरेका थिए ।

त्यस्तै, अर्का नाइके डाओजिन वाङ र महराबीच पनि ११ पटक नै फोन सम्पर्क भएको अनुसन्धानमा खुलेको थियो । चिनियाँ तस्करहरूले महराका छोरा राहुल र विमानस्थलस्थित भन्सार कार्यालयका तत्कालीन प्रमुख मुक्तिप्रसाद श्रेष्ठलाई पनि फोन गरेका थिए ।  राहुलले वाङलाई १३१ पटक फोन गरेका थिए भने राहुललाई वाङले ६४ पटक फोन गरेको अनुसन्धानमा पुष्टि भएको थियो । त्यस्तै, राहुलले सुन तस्करी समूहकै लोकेन्द्र पौडेललाई ३६ पटक, असिनलाई ३ पटक र भन्सार प्रमुख श्रेष्ठलाई एकपटक फोन गरेको भेटिएको थियो । 

 श्यामलाल ज्ञवाली, सिआइबी प्रमुख भन्छन् – सुन जाँचबुझ आयोगले घटनामा जोडिएका  विभिन्न व्यक्तिविरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन भनेको छ । प्रतिवेदनले औँल्याएका व्यक्ति दोषी हुन् या होइनन्, अब यसको परीक्षण हुन्छ । अनुसन्धान नयाँ सिराबाट अघि बढेको छ ।

पूर्वन्यायाधीश आचार्य नेतृत्वको आयोगले गत बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको थियो । लामिछानेले उक्त प्रतिवेदन गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका थिए । त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक डाकेका थिए । बैठकले प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै गृहमन्त्री लामिछानेले आइतबार नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर, सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवाली र गृहसचिव एकनारायण आर्याललाई आयोगको सुझावअनुसार घटनाको अनुसन्धान तत्काल अघि बढाउन निर्देशन दिएका थिए । सोही निर्देशनपछि सिआइबीले महरालाई पक्राउ गरेको हो । 

पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा रिहा 
१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् । गत २१ मंसिरमा त्रिभुवन विमानस्थलबाट तस्करीको उक्त सुन बरामद भएको थियो । जाँचबुझ आयोगले गुरुङविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले १५ लाख धरौटीमा उनलाई कैदमुक्त गर्ने आदेश दिएको हो ।

उनको ‘कनेक्सन’ ६०.७१६ किलो सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक डाओजिन वाङसँग पनि रहेको खुलेको छ । सिआइबीले पुनलाई गत १४ फागुनमा सामाखुसीस्थित उनकै घरअगाडिबाट पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि उनलाई सिआइबीले विमानस्थलस्थित भन्सार कार्यालयमा पेस गरेको थियो । उनीविरुद्ध भन्सारले नै अदालतमा मुद्दा पेस गरेको थियो । 

१४ किलो सुन तस्करीमा गुरुङले भारतीय नागरिक अंकित अग्रवालको प्रतिनिधि भएर काम गरेका थिए । अग्रवाल समूहले विमानस्थलबाट वर्ष दिनको अवधिमा एक सय ३८ किलो सुन तस्करी गरेको थियो । सोहीमध्येको १४ किलो सुन विमानस्थलबाट गत २१ मंसिरमा बरामद भएको थियो । 

अग्रवालका नेपाल प्रतिनिधि गुरुङको डाओजिनसँग पनि उत्तिकै राम्रो सम्बन्ध थियो । डाओजिनको समूहले विमानस्थलबाट मात्रै ३६२.७७८ किलो सुन तस्करी गरेको थियो । त्यसमध्येको ६०.७१६ किलो सुन गत २ साउनमा विमानस्थलबाट बरामद भएको थियो । डाओजिन समूहले दोलखाका दिलीप भुजेलको नाममा दर्ता भएको कम्पनी रेडी ट्रेडको नाममा मात्रै दुई महिनाको बीचमा ३६२.७७८ किलो सुन नेपाल भित्रिएको थियो । 

 ६०.७१६ किलो र भेपमा लुकाई तस्करी गरिएको साढे नौ किलो सुनको अनुसन्धान नयाँ सिराबाट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ किलो र भेपमा लुकाएर तस्करी गरिएको साढे नौ किलो सुन प्रकरणलाई प्रहरीले नयाँ सिराबाट अनुसन्धान सुरु गरेको छ । पूर्वसभामुख महरा पक्राउ सोही सिलसिलाको सुरुवाती चरण हो ।

महरापछि घटनामा मुछिएका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’का छोरा दीपेश पुन, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी, चिनियाँ मूलका बेल्जियमका नागरिक दाबा छिरिङ (पक्राउ)का व्यावसायिक साझेदार मञ्जिल श्रेष्ठ, जीवन चलाउने, जीवन गुरुङलगायतविरुद्ध प्रहरीले अनुसन्धान गर्नेछ । जसलाई विगतमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उन्मुक्ति दिएको थियो । 

सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीले ६०.७१६ किलो र साढे नौ किलो सुन अनुसन्धान प्रक्रिया नयाँ सिराबाट अघि बढेको बताए । उनले भने, ‘सुन जाँचबुझ आयोगले घटनामा जोडिएका विभिन्न व्यक्तिविरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन भनेको छ । आयोगले औँल्याएका व्यक्ति दोषी हुन् या होइनन्, अब यसको परीक्षण हुन्छ । अनुसन्धान नयाँ सिराबाट अघि बढेको छ । घटनामा अन्य व्यक्ति पनि पक्राउ पर्छन् । यो सामान्य विषय हो ।’

आचार्य नेतृत्वको जाँचबुझ आयोगले सुन तस्करीको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथि पनि प्रश्न उठाएको थियो । उनीहरूलाई विभागीय कारबाही गर्न निर्देशन नै दिएको थियो । दोस्रो चरणको अनुसन्धानमा सिआइबीले सिआइबीकै पूर्वअनुसन्धान अधिकृतमाथि पनि अनुसन्धान गर्नेछ । ज्ञवालीले भने, ‘आयोगले विभिन्न सुझाव दिएको छ । कतिपय  ठाउँमा प्रहरीको अनुसन्धानमाथि पनि आयोगको प्रश्न छ । दोस्रो चरणको अनुसन्धानमा विगतका अनुसन्धानमाथि पनि थप अनुसन्धान होलान् । यो चलिरहने प्रक्रिया हो ।’
 

ad
ad