कोरोना संक्रमित बढेपछि दैलेखका दुई नगरपालिकामा निषेधाज्ञा जारी
कोरोना संक्रमित बढेपछि दैलेख सदरमुकाम नारायण नगरपालिका र दुल्लु नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामघाट, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र निषेधाज्ञा जारी गरिएको छ । त्यसैगरी दुल्लु नगरपालिकाको माथिल्लो ढुगेश्वर, चुप्रा शिरिस्थान, पश्चिममा पादुका खोला र कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र पश्चिममा पादुकाखोलासम्मको क्षेत्रलाई निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।
संक्रमणको उच्च जोखिम भएकाले अतिआवश्यक सवारीसाधन, औषधि, आन्तरिक सुरक्षालगायतका क्षेत्रहरूबाहेक सम्पूर्ण कार्य बन्द गर्ने गरी निषेधाज्ञा जारी गरिएको हो ।
संक्रमणबाट जोगिन, भिडभाड नगर्न/नगराउन, जमघट नहुन सबैलाई दैलेख जिल्ला प्रशासनले आग्रह गरेको छ ।