१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दैलेख पेट्रोल अन्वेषण : ३० ट्रक दैलेख पुगे, ठूलो ट्रक दुर्घटनामा पर्‍याे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:१२:oo

दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट बन्दोबस्तीका सामानसहित हिँडेका ३० वटा ट्रक दैलेखको जलजले आइपुगेका छन् । ४१ फिटसम्म लामा पाँचवटा ठूला ट्रकहरूमध्ये पहिलो ट्रक विगत पाँच दिनदेखि कर्णाली राजमार्गमै छ ।

मोड मिलाउँदै ट्रक पास गर्ने क्रममा सडकको भूगोल नमिलेका कारण कर्णाली राजमार्गको पादुका खोलानजिक एउटा ठूलाे ट्रक दुर्घटनामा परेको छ । सडकको भित्तातर्फको भागमा ट्रक पल्टिएका कारण कुनै क्षति भएको छैन ।

आयोजना स्थलमा रहेको क्रेन लगेर सामान दुई भागमा विभाजन गरेर पुनः लोड गर्दै जलजलेतर्फ ल्याउने क्रम चलेको पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजनाका आयोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए। 

सडकमा धेरै समस्या भए पनि जिल्लाको सुरक्षा निकाय, चीनको सर्भे कम्पनी र खानी तथा भूगर्भ विभागको टोली पुगेर थप सहजीकरण गरेको छ । कर्णाली राजमार्ग सडकको मोड मिलाउन र खाल्डाखुल्डी परेका सडकको व्यवस्थापनका लागि सडक विभागमार्फत निर्माण कम्पनीलाई कामको जिम्मेवारी दिएको भए पनि सडकको वास्तविक अवस्था सुधार नभएको गुनासो आयोजनाको छ । 

यस सडकखण्डमा मोड नपुगेका कारण पाँच दिनदेखि ठूला ट्रक बाटोमै अलपत्र अवस्थामा छन् ।  रोकिएका ट्रकहरू पास गर्न सडकको मोड व्यवस्थापन गर्ने काम तीव्र पारिएको छ । क्रेन र ठूलो डोजरको सहायतामा अन्वेषण स्थल जलजले ल्याउने तयारी भएको नापितको भनाइ छ । 

यसअघि नै डिजाइन गरेर सडक चौडा गर्न सडक विभागलाई भनिएको भए पनि सडक विभागका प्राविधिकहरूको लापरबाही र निर्माणको जिम्मा लिएका कम्पनीको लापरबाहीका कारण समस्या भएको दैलेखका नेताहरूले गुनासो गरेका छन् ।

रुपैडिया नाकाबाट करिब एक सय ५० भन्दा बढी ट्रकहरू दैलेखका लागि हिँडेका छन् । आएका ३० ट्रक सामान अनलोड गर्दै धमाधम अन्य कामहरू सुरु गरिएको छ । नेपाल सरकार र चीन सरकारसँग २०१९ मा भएको जिटुजी सम्झौताअनुसार करिब दुई अर्ब ५० करोड लागतमा दैलेखको भूभागमा पेट्रोलियम अन्वेषणको लागि सम्झौता भएको थियो । 

अहिले चार किलोमिटर जमिनमुनि ड्रिलिङ गरेर कति परिमाणमा पेट्रोल वा ग्यास छ भनेर पत्ता लाग्ने र त्यसपछि नेपाल सरकारले अर्को प्रक्रिया सुरु गर्ने नापितको भनाइ छ । यसअघि पनि तराईका विभिन्न जिल्लाहरूमा अन्वेषणका लागि अन्य देशका कम्पनीहरूले लाखौँ डलर खर्च गरिसकेका छन् ।  

दैलेखको भैरवी गाउँपालिका– १ जलजलेमा ४५ रोपनी जग्गा सरकारले अधिग्रहण गरेको छ । मुआब्जाका लागि करिब १ करोडभन्दा बढी रकम सरकारले प्रदान गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

पेट्रोलियम अन्वेषणका लागि आवश्यक पर्ने जग्गाको २७ जना स्थानीयले मुआब्जा पाएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को ०७९/१०/२३ को निर्णयअनुसार जग्गा प्राप्ति गर्ने ऐन, २०३४ को दफा ३ बमोजिम जग्गा प्राप्त गर्ने र ०८०/३/३ को मुआब्जा निर्धारण समितिको निर्णयअनुसार सबै काम सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले आफू प्रतिनिधिसभामा भएकै वेलामा चीन सरकारसँग भएको सम्झौताअनुसार तत्कालीन उद्योगमन्त्री मातृका यादवसहितको विज्ञको टोली नाभी स्थानमा ल्याएर यसको थप अध्ययनको काम सुरु गरिएको बताए । 

ad
ad