
शनिबार साँझ काठमाडौंलगायत बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसँगै वर्षा भएको छ । चट्याङले दैलेखको भैरवी गाउँपालिका– ७ पानीपोखरीकी १२ वर्षीया बालिका शर्मिला कँडेलको ज्यान गएको छ । घरमै बसिरहेका वेला चट्याङ खस्दा उनको छाती र पेटमा चोट लागेपछि उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।
त्यस्तै, पाल्पामा हावाहुरीले रुख ढलेर स्कुटर किच्दा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । पाल्पा–डुम्रे सडक जरेपीपल क्षेत्रमा उत्तिस र सल्लाको रुख ढलेर लाग्दा लु.८१प ११३६ नम्बरको स्कुटरचालक तानसेन नगरपालिका– ५ कैलाशनगरका भुवन सिँजालीको मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरी चलेपछि ओत लाग्ने क्रममा रुख ढलेको हो । त्यस्तै, सोही स्थानमै रोकिराखेको ग.१०प ५७२१ नम्बरको स्कुटर र अर्काे एक मोटरसाइकल पनि च्यापिँदा तीनजना घाइते भएका छन् ।
असिनापानीसँगै हावाहुरी चल्दा गुल्मीमा विद्युत्को हाइटेन्सन लाइनका पोल ढलेपछि विद्युत् पूर्ण रूपमा ठप्प भएको छ । वीरवास सबस्टेसनमा आउने ३३ केभी लाइनअन्तर्गत अर्घाखाँची–बलकोट क्षेत्रमा रुख र पोल ढलेका हुन् । त्यस्तै, रिडी–वीरवासका हाइटेन्सन लाइनका चार–पाँच पोल ढलेपछि गुल्मी वितरण केन्द्रको विद्युत् आपूर्ति अवरुद्ध भएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले हावाहुरी र चट्याङसहित वर्षा गराउने प्रणाली राति नै पूर्वतिर लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुसँगै दक्षिण आसाम आसपासमा रहेको न्यून चापिय क्षेत्रको पनि प्रभाव रहेकाले हावाहुरी चट्याङसहित वर्षा भएको हो । प्रिमनसुन अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुन्छ ।
‘प्रिमनसुन सक्रिय भएको देखिन्छ, शनिबार दिउँसो लुम्बिनी, गण्डकी र बागमतीमा केन्द्रित वर्षा साँझ काठमाडौंमा भएको थियो,’ मौसमविद् अर्यालले भने, ‘राति नै उत्तरपूर्व वर्षा भएको छ । आइतबार पनि आइसोलेटेड रेनफल (खण्डीत वर्षा) हुने देखिन्छ ।’
आइतबार पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । तर, शनिबारझैं स्थानीय वायु पनि सक्रिय भई खण्डित वर्षासमेत हुनसक्ने मौसमविद् अर्यालले बताए ।
बारपाकमा १० मिनेटमै १८.८ मिलिमिटर वर्षा
गोरखाको बारपाक क्षेत्रमा अत्यधिक वर्षा भएको छ । त्यहाँ शनिबार साँझ तीन घन्टामै ९०.१ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको स्वचालित वर्षा मापन केन्द्र (अप्रशोधित तथ्यांक) मा रेकर्ड भएको छ ।
बारपाक क्षेत्रमा शनिबार बिहान ६ बजेदेखि अपराह्न ४:१५ बजेसम्म १.५ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको देखिन्छ । तर, त्यसपछि निरन्तर वर्षा भएकोमा साँझ ७ बजेसम्म ९१.८ मिमि रेकर्ड हुन्छ । बारपाक क्षेत्रमा खण्डित वर्षा भएको हो । अपराह्न ४:५५ देखि ५:५५ अर्थात् एक घन्टामा ५८.४ मिमि पानी परेको देखिन्छ ।
यसमा पिक समय ५:७ देखि ५:१५ सम्मको १० मिनेट हो । यो अवधिमा १८.८ मिमि पानी परेको देखिन्छ, जुन मुसलधारे वर्षा हो । अपराह्न ५:३५ देखि ५:४५:१५.६ मिमि पानी परेको छ, भने त्यसअघि १६:१५ देखि १६:२५ सम्म ११.४ मिमि देखिन्छ ।
तर, बीचबीचमा पानी रोकिँदै फेरि परेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बारपाक क्षेत्रमा अत्यधिक वर्षा भएको बताइन् । ‘एक मिनेटमा एक मिमि पानी पर्यो भने ठूलो वर्षा भन्छौँ । यहाँ १० मिनेटमै १८ मिमिभन्दा धेरै वर्षा भएको छ,’ उनले भनिन्, ‘यो वर्षा अत्यधिक हो ।’