दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा रोकिएका ३० वटा ट्रक दैलेख आउने तयारीमा छन् । अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भूगर्भ विभागकै नाम उल्लेख गरेर अनुमति प्रदान गरेपछि ट्रक आउने बाटो खुलेको हो ।
बुधबार अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्य प्रक्रिया सुरु भएको छ । अर्थबाट भन्सारमा पत्र जाने क्रम जारी भएकाले एक–दुई दिनमा रुपैडिया नाकामा रोकिएका उपकरणसहितका ट्रक दैलेखका लागि हिँड्ने खानी तथा भूगर्भ विभागका प्रमुख दिनेशकुमार नापितले बताए । दैलेखको पेट्रोलियम अन्तिम अन्वेषण कार्यका लागि कोलकातामा ६० वटा ट्रक आइसकेका छन् भने नेपालगन्जस्थित रुपैडिया नाकामा ३० वटा ट्रक आइपुगेका छन् ।
अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटरमुनिसम्म ड्रिलिङ गर्न बन्दोबस्तीका सामान, मेसिन औजार, उपकरणलगायत दुई सयभन्दा बढी ट्रक दैलेख आउने तयारीमा रहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत दिनेशकुमार त्रिपाठीले जानकारी दिए ।
जिल्लामा सामान आउने रुटहरूको सफाइ गर्ने, मोड नमिलेका स्थानमा मोड मिलाउनेलगायत अधिकांश काम सम्पन्न भइसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । चीनको जिओलोजिकल सर्भे कम्पनीको नाममा भन्सार छुट पत्र तयार गरिएको भए पनि उक्त पत्रमा नेपाल सरकार खानी तथा भूगर्भ विभागकै नाम समावेश गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयमा डेढ महिनाअघि नै पत्र पठाइएको थियो । अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्तिम अन्वेषणको काम सुरु हुने भएको छ ।