काभ्रेको बनेपा नगरपालिका– ७ स्थित रुकेश ठकुरीको घरमा शुक्रबार ग्यासपाइप लिक भएर आगलागी हुँदा पाँचजना घाइते भएका छन् ।
घरको तेस्रो तलामा रहेको भान्साकाेठामा ग्यासको पाइप लिक हुँदा आगलागी भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।
आगलागीबाट घरधनी २६ वर्षीय रुकेश ठकुरी, उनकी श्रीमती २४ वर्षीय साेफिया ठकुरी, १८ महिनाकी छोरी रचना ठकुरी, उनका आफन्त १५ वर्षीय आयुश शाह ठकुरी र १४ वर्षीय अनिष शाह ठकुरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारार्थ तत्काल बनेपास्थित शिर मेमोरियल अस्पतालमा लगिएको र थप उपचारका लागि काठमाडाैंको कीर्तिपुर वर्न सेन्टरमा रेफर गरेको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए ।
आगलागीबाट भान्साकोठा जलेर पूर्ण रूपमा क्षति भएको छ ।