१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एसएसबीले अवरोध गरेपछि निर्माण रोकिएको भवन
२०७७ जेठ १ बिहीबार १२:२४:००
Read Time : > 1 मिनेट
समाचार

नेपाली भूमिमै संरचना निर्माण गर्दा पनि एसएसबीको अवरोध, संग्रहालय भवन अलपत्र

Read Time : > 1 मिनेट
२०७७ जेठ १ बिहीबार १२:२४:००

भारतसँग सीमा जोडिएको पाँचथरको उच्च पहाडी क्षेत्रमा भौतिक संरचना निर्माण गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गर्न थालेको छ। पछिल्लोपटक फालेलुङ गाउँपालिकाले पर्यटकीय संग्रहालयका लागि भवन निर्माण थाल्दा  एसएसबीले अवरोध गरेको हाे। 

फालेलुङ गाउँपालिका– ६ आहालमा संग्रहालय निर्माण सुरु गर्दा एसएसबी आएर निर्माण नगर्न चेतावनी दिएको गाउँपालिका अध्यक्ष सन्चकुमार केरुङले बताए। ‘एसएसबीको अवरोधपछि भवन निर्माण कार्य रोकिएको छ,’ उनले भने।

केही समयअघि नेपाली भूमिमा भइरहेको संग्रहालय भवन निर्माण स्थलमा गएर एसएसबीले भारतीय झण्डा गाडेका थिए। केही दिनपछि उनीहरू आफैँले झण्डा निकाले। त्यसपछि फेरि भवनको फाउन्डेसन थाल्दै गर्दा उनीहरूले अवरोध गरेका अध्यक्ष केरुङले बताए। 

‘निर्माणमा अवरोध भएपछि मंगलबार हामी सहजीकरणका लागि उनीहरू भएको ठाउँमा गएका थियौँ,’ केरुङले भने, ‘तर, यो क्षेत्रमा भौतिक संरचना नबनाउन भन्दै उनीहरूले हामीलाई धम्की थिए। बनायौ भने भत्काइदिन्छौँ सम्म भने। नेपाली भूमिमै संरचना बनाउँदा पनि एसएसबीबाट अवरोध हुन थालेको छ।’ 

डिभिजन वन कार्यालय पाँचथरले १० लाख रुपैयाँ सहयोग गरेपछि गाउँपालिकाले भवन निर्माण थालेको हो। सन्दकपुर आहाल ‘क’ चौँरीपालक कबुलियती वन समूहले भवन निर्माणको जिम्मा लिएको थियो। पर्या–पर्यटन संरक्षण कार्यक्रमअन्तर्गत डिभिजन वन कार्यालयले भवन निर्माणका लागि बजेट उपलब्ध गराएको हो। 

एसएसबीको अवरोधका कारण भवन निर्माण कार्य अलपत्र परेको छ। डिभिजन प्रमुख मेघराज राईले भने, ‘उच्च पहाडी क्षेत्रको पर्यटन प्रवर्धन गर्न सहयोग पुर्याउने उद्देश्यले संग्रहालय बनाउने प्रस्ताव आएपछि सहयोग गरेका थियौँ। तर, भारतीय पक्षबाट अवरोध आएपछि योजना खारेज गर्नु पर्ने स्थिति आएको छ।’ 

नक्सामा हेर्दा भवन निर्माण स्थल नेपालतर्फको ५७-३ र ५८-९ नम्बर पिल्लरको बीचमा नेपालतर्फ पर्छ। एसएसबीले निर्माण रोकिदिएपछि आवश्यक पहल गरिदिन फालेलुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानका अनुसार नेपालतर्फको करिब सय मिटर क्षेत्र छोडेर बनाइएको संरचनामा पनि भारतीय पक्षबाट अवरोध भएको बताए। ‘यस विषयमा हामीले आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका छौँ,’ उनले भने।

यसअघि फालेलुङ गाउँपालिकाले पर्यटकका लागि विश्रामस्थल निर्माण गर्न खोज्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो। त्यतिवेला पनि एसएसबीले संरचना नबनाउन चेतावनी दिएका थिए। 

तर, गाउँपालिका विश्रामस्थल भवन निर्माण भने पूरा गरेको छ। एसएसबीले त्यो भवन भने भत्काउन सकेका छैनन्। पाँचथर र इलामको सीमा सन्दकपुरमा निर्माण भएको टावरमा समेत उनीहरूले अवरोध गरेका थिए। अहिले पनि त्यो भवन भारततर्फ पर्ने दाबी एसएसबीले गरिरहेको छ।