१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ बैशाख १९ शुक्रबार १६:२१:००
Read Time : > 2 मिनेट
समाचार

सीमाका सुरक्षाकर्मी हावाहुरी र पानी आउँदा पाल समाएर बस्छन्

Read Time : > 2 मिनेट
२०७७ बैशाख १९ शुक्रबार १६:२१:००

वैशाखको महिना । रातभर जोडले हावाहुरी चल्छ । रातभरि झरी पर्छ । यो क्रम केही दिनदेखि निरन्तर चलिरहेको छ । यस्तो मौसममा त्रिपाल टाँगेर बस्दा कस्तो होला ? टाँगिएका त्रिपाल उडाएर कहाँ पुऱ्याउला हामी कल्पना मात्र गर्न सक्छौँ । तर, कोरोना नियन्त्रणका लागि सीमामा खटिएका सुरक्षाकर्मीले यो अवस्था निरन्तर भोगिरहेका छन् । सीमामा खटिएका प्रहरी २४सै घन्टा यस्तै समस्यासँग जुधिरहेका छन् ।

खुला सीमाबाट आवतजावत गर्ने मानिसलाई रोक्न खटिएका प्रहरी चैत अन्तिम साताबाट पालमुनि छन् । झापामा दक्षिणपश्चिममा गौरीगन्जदेखि पूर्वोत्तर मेचीनगरको तिरिङसम्म एक सय ४४ दशमलव दुई किलोमिटर खुला सीमा छ । झापाको खुला सीमामा एक सय ३२ सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी पोस्ट छ । तीमध्ये ३२ ठाउँमा नेपाल प्रहरी, ३९ ठाउँमा सशस्त्र र ५७ ठाउँमा संयुक्त पोस्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यी अस्थायी पोस्टमा करिब १५ सय सुरक्षाकर्मी खटाइएको छ । 

यहाँ सुरक्षाकर्मीका लागि त्रिपाल लगाएर बस्ने ठाउँ बनाइएको छ । सीमामा आवतजावत रोक्न खटिएका सुरक्षाकर्मी रातभर पानीमा रुझ्दै ड्युटी गर्न बाध्य छन् । ‘रातभर पानी पर्छ । पालबाट पनि पनि छिर्छ । हावाले पाल उठाउँछ कि भनेर समाएर बस्नुपर्छ,’ कचनकवलस्थित पाठामारीमा खटिएका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार कालीबहादुर विष्टले भने, ‘तर, संक्रमण रोक्न सीमामा आउनु नै हाम्रो लागि गर्वको कुरा हो । हामीले दुःख पाएर के भो त सारा नेपाली रोग लाग्नबाट जोगिन्छन् ।’

त्यहाँ कतिपय सुरक्षाकर्मीको लुगा भिजेर सुकाएको अवस्थामा भेटिन्थे । केही सुरक्षाकर्मीले पानीले भिजेर बिरामी होइन्छ कि भन्दै चिन्ता व्यक्त गर्थे । अधिकांश प्रहरी दिउँसो ड्युटी गर्न सहज भए पनि बेलुका समस्या हुने बताउँथे । ‘दिउँसो त पानी पनि खासै पर्दैन । कहिलेकाहीँ घाम पनि लाग्छ,’ नेपाल प्रहरीका एक जवानले भने, ‘दिउँसो त टाढासम्म जान पनि सकिन्छ । राति त पानी पनि पर्छ । पानीले भिजेरै काम गरिरहेका छौँ ।’ टेन्ट लगाएर बसेको ठाउँमा पनि पानी जमेर बस्नै गाह्रो हुने सुरक्षाकर्मी बताउँछन् । 

सीमामा खटिएका प्रहरीलाई अनेकौँ डर छ । सीमामा चुनौती पनि छ । तर, यस्तो प्रतिकूल अवस्थामा सीमा सुरक्षाको जिम्मेवारी पाउँदा उत्साह थपिएको बताउँछन् सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षक नवराज नेपाल । ‘हामीलाई यस्तो विपत्ति आउँछ भन्ने त थिएन । तर, विपत्ति रोक्न भारतसँगको खुला नाका बन्द गर्ने निर्णयसँगै हामीले सुरक्षाको जिम्मा पायौँ, यो चुनौती छ । तर, हाम्रो काम नै दुःखमा देशलाई साथ दिने हो,’ उनले भने, ‘हामी सहजताका साथ जिम्मेवारी पूरा गर्छौं ।’

सीमामा खटिएका प्रहरी चौरमा त्रिपाल र टेन्ट टाँगेर बसेका छन् । यसले गर्दा सर्प, बिच्छीलगायतको पनि डर उत्तिकै छ । ‘बिहीबार राति मात्र पनि हामीले सर्प भेट्यौँ । धन्न लाइट थियो र केही भएन,’ बनियानी क्षेत्रको सीमामा खटिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक ब्रह्मदेव साह भन्छन्, ‘पानी जमेर हिँडिसक्नु छैन । मैले जिल्ला प्रहरी कार्यालयमा गमबुट माग गरेको छु । तर, समस्याको केही पर्वाह छैन । निरन्तर काममै छौँ । समस्या आउँछ समाधान गर्दै जानुपर्छ ।’

मौसमले चुनौती दिए पनि सीमामा  निरन्तर खटिइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले बताए । उनका अनुसार मान्छेको आवतजावत हुन सक्ने सम्भावित ठाउँमा यस्ता पोस्ट राखिएको छ । समस्यालाई क्रमशः समाधान गर्दै सीमाको सुरक्षा गरिने एसपी कोइरालाले बताए । ‘अहिले पानी र हावाहुरीले समस्या गराएको छ । कतिपय अस्थायी टहरमा पानी पसेर बस्न पनि समस्या भएको छ,’ उनले भने, ‘यस्ता समस्या बिस्तारै समाधान गर्दै सीमा सुरक्षालाई मजबुत बनाउँछौँ । केही जस्ता पोस्टमा पठाउँदै छु । स्थानीय तह र संघसंस्थाले पनि सहयोग गर्दै हुनुहुन्छ ।’