१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ५ सोमबार ०७:२०:००
Read Time : > 2 मिनेट
राजनीति

गाउँ पस्दै नेकपा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ५ सोमबार ०७:२०:००

एकीकरणको २१ महिनापछि सत्तारुढ दल नेकपा विशेष अभियान लिएर गाउँ पस्ने भएको छ । आइतबारदेखि सुरु भएको ‘पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार विशेष अभियान’को तयारी भेलासँगै नेकपा गाउँ पस्ने भएको हो ।

आइतबार प्रदेश ५ को नेपालगन्जमा आयोजित प्रदेशस्तरीय भेला र प्रशिक्षणसँगै नेकपाको विशेष अभियान सुरु भएको छ । यो अभियान आगामी असारसम्म सञ्चालन हुनेछ । सातै प्रदेशको प्रशिक्षण भेला र बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी हुनेछन् । तर, स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले प्रधानमन्त्री ओली सबै भेलामा सहभागी हुने, नहुने निश्चित छैन । 

‘जबसम्म कार्यकर्ताबीच अपनत्व र भाइचारा हुँदैन, तबसम्म पार्टी अगाडि बढ्न सक्दैन भन्ने हेक्का सबैले राख्नुपर्छ ।’ 

नेपालगन्ज भेलाको अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् । ४ देखि २१ फागुनसम्म सञ्चालन हुने तयारी भेलामा ओली र प्रचण्डसँगै सचिवालय सदस्यहरू पनि विभिन्न प्रदेशमा प्रशिक्षकका रूपमा सहभागी हुने महासचिव विष्णु पौडेलले बताए । आइतबारको नेपालगन्जको कार्यक्रममा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

प्रदेश ५ को कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली पनि पुग्ने कार्यक्रम रहेको छ । गृहजिल्ला झापाबाट आइतबार साँझ काठमाडौं फर्किएका ओली नेपालगन्जको प्रशिक्षणमा सहभागी हुने, नहुने सोमबार मात्रै यकिन हुने उनका स्वकीय सचिव इन्द्र भण्डारीले बताए । यसपछि कर्णाली प्रदेशमा ६ फागुनमा कार्यकर्ता भेला र ७ फागुनमा बैठक बस्ने तय गरिएको छ ।

कर्णालीमा दुवै अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिनेछन् । त्यस्तै, प्रदेश २ मा ९ फागुनमा कार्यकता भेला तथा १० फागुनमा बैठक हुनेछ । त्यसमा दुवै अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य ईश्वर पोखरेलले प्रशिक्षण दिनेछन् ।

यस्तै, १२ फागुनमा गण्डकी प्रदेशमा कार्यकर्ता भेला आयोजना गरिने भएको छ भने १३ फागुनमा बैठक बस्नेछ । दुवै अध्यक्षसहित गण्डकी प्रदेशमा वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिनेछन् । त्यसपछि बागमती प्रदेशमा १५ फागुनमा कार्यकर्ता भेला र १६ फागुनमा बैठक बस्नेछ ।

भेलालाई दुवै अध्यक्षसहित वरिष्ठ नेता नेपाल र सचिवालय सदस्य ईश्वर पोखरेलले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा १८ फागुनमा कार्यकर्ता भेला र १९ फागुनमा बैठक बस्ने तय गरिएको छ । भेलामा दुवै अध्यक्षसहित उपाध्यक्ष वामदेव गौतमले प्रशिक्षण दिनेछन् ।

नेकपाले कार्यकर्ता भेला, बैठक र प्रशिक्षण कार्यसूचीको अन्तिममा प्रदेश १ लाई राखेको छ । जसअनुसार प्रदेश १ मा कार्यकर्ता भेला २० फागुनमा हुनेछ भने बैठक २१ फागुनमा बस्नेछ । यस प्रदेशमा दुवै अध्यक्षसहित सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले प्रशिक्षण दिनेछन् ।

कार्यकर्तालाई प्रचण्डको निर्देशन

बाँके नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणसँगै एमाले र माओवादी केन्द्रको अस्तित्व समाप्त भइसकेको बताउँदै अब एमाले र माओवादी केन्द्रको गन्ध आउने काम नगर्न पार्टी नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार नेकपा प्रदेश ५ स्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब तत्कालीन पार्टीको धङ्धङ्गी बाँकी राख्न नहुने बताए । ‘पार्टी एकीकरणसँगै तत्कालीन पार्टीका सम्पूर्ण संरचना र कार्यदिशा परिवर्तन भएको छ,’ उनले भने, ‘यो समय पार्टीलाई बलियो बनाउनेतर्फ सबैजना लाग्ने 
वेला हो ।’

प्रदेशका १२ जिल्लाका नेता, कार्यकर्ताको सहभागिता रहेको प्रशिक्षणमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीको सरकारविरुद्ध अनेकन प्रचारबाजी भइरहेको बताउँदै सजग रहन नेता, कार्यकर्तालाई सुझाए । दुई धारबाट आएका पार्टीका कार्यकर्तालाई एउटै सिद्धान्तमा ल्याउन समय लाग्ने बताउँदै भने, ‘पुरानो पार्टीको नाममा आरोप-प्रत्यारोप गर्ने अधिकार कसैलाई छैन । यस्तो गरेको प्रमाणित भए कारबाही गर्न पार्टी पछाडि पर्नेछैन ।’ गुट-उपगुटमा नलाग्न निर्देशन दिँदै यसले पार्टीलाई फाइदा नपुग्ने उनको भनाइ थियो । 

पार्टीका कार्यकर्ताबीच सम्बन्ध सुधार गर्न र एकीकरणलाई बलियो बनाउन कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिएको बताउँदै प्रचण्डले भने, ‘जबसम्म कार्यकर्ताबीच अपनत्व र भाइचारा हुँदैन, तबसम्म पार्टी अगाडि बढ्न सक्दैन भन्ने हेक्का सबैले राख्नुपर्छ ।’