१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:१४:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जसको प्रशिक्षणमा भलिबलले अन्तर्राष्ट्रिय उपाधि जित्यो

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:१४:oo

हेमा प्रधानको कप्तानीमा नेपाली महिला भलिबल टोलीले ०३८ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको थियो । संयोग ! ३८ वर्षपछि नै ०७६ मा पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्यो । बंगलादेशमा अपराजित रही नेपालले पहिलो संस्करणको एभिसी सेन्टर जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । नेपाली टोलीको कप्तानमा अरुणा शाही र प्रशिक्षकमा जगदीश भट्ट थिए । भट्टको रणनीतिमा नेपालले उपाधि भिडन्तमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । उनले तत्काल नियमित कप्तान विनिता बुढाथोकीसहित सात खेलाडीलाई बाहिर राखे । अरुणाले पहिलोपटक कप्तानी आर्म ब्यान्ड लगाएको राष्ट्रिय टोलीमा सात नयाँ खेलाडीले अवसर पाए । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाएको क्षणको अनुभव प्रशिक्षक भट्टले नयाँ पत्रिकाका रमेश सुवेदीलाई यसरी सुनाए :

नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा भलिबलतर्फ महिला र पुरुष इभेन्ट्स समावेश थिए । त्यसबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई १३औँ दक्षिण एसियाली खेलकुदमा सहभागी गराउने निर्णय भएको थियो । भलिबलको छनोट समितिमा म पनि थिएँ । राखेपले प्राविधिक समितिमा मलाई बस्नुपर्ने आग्रह गरेको थियो । मैले राखेपसमक्ष एउटा सर्त राखेँ । खेलाडीको छनोट निष्पक्ष हुनुपर्छ । १३औँ सागमा खेलाडीलाई पर्याप्त तयारी र मैत्रीपूर्ण खेल हुनुपर्ने अर्को माग थियो । छनोट र अभ्यासका क्रममा कसैले हस्तक्षेप गर्न नपाउने अर्काे माग राखेको थिएँ । भलिबलको टोली बलियो बनाउन सबै पक्षले मेरा मागप्रति सहमति जनाए । यस्तो प्रकारको छनोट होला भनेर कसैले सोचेका थिएनन् । टोलीमा नयाँ युवा प्रतिभाशाली थिए । तर, सिनियर खेलाडीले स्थान ओगटेकाले उनीहरूले अवसर नै पाएनन् । 

१३औँ साग हुन लगभग पाँच महिना बाँकी थियो । यसैबीच नेपाल भलिबल संघले सन् २०१७ मा पहिलो पुरुष सेन्ट्रल जोन भलिबल आयोजना गर्‍यो । संघले इतिहासमा पहिलोपटक सेन्ट्रल एसियाको साधारणसभा र प्रतियोगितासमेत आयोजना गर्ने अवसर पायो । साधारणसभामा हामीले महिलालाई सेन्ट्रल जोनमा सहभागी गराउनुपर्ने जोडदार माग राख्यौँ । हामी सबैलाई थाहा थियो, नेपालको महिला भलिबलको सम्भावना छ । बंगलादेशका अध्यक्ष आतिक उल रहमानले पुरुषकै जस्तै महिलातर्फको पहिलो संस्करण आफूले गर्न पाउनुपर्ने प्रस्ताव राखे । त्यसपछि बंगलादेशले सन् २०१९ पहिलोपटक आयोजना गर्‍यो । मलाई थाहा थियो, १३औँ साग नेपालमै आयोजना हुँदै छ । हाम्रो तयारी राम्रो हुनेछ । लामो तयारीबाट जोस र प्रतिभाशाली खेलाडी निस्कनेछन् । मलाई नेपालभर छरिएर बसेका खेलाडीबारे थाहा थियो । 

बोल्ड डिसिजनमा कप्तानसहित सात खेलाडी ‘आउट’
मैले त्यस समय सिनियरबाट नियमित खेलिरहेका १२ मध्ये सात खेलाडीलाई टोलीबाट बाहिर राखेँ । कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ, नेविका चौधरी, कोपिला उप्रेती, कृपा अधिकारी, मनीषा चौधरीलगायत सात खेलाडी बाहिर रहे । प्रशिक्षकको नाताले मैले उनीहरूलाई विश्राम समय भनेको थिएँ । नयाँ खेलाडी आएका कारण देशलाई उच्च योगदान दिएका सिनियर खेलाडीलाई आग्रहपूर्वक बाहिर बस्न अनुरोध गरेको थिएँ । नयाँलाई अवसर दिनुपर्छ भनेको थिएँ । त्यसवेला कसैलाई प्रशिक्षकमा, वैदेशिक प्रशिक्षण गराउने, बिच भलिबलमा अवसर दिने कुरा भएको थियो । 

मेरो एक किसिमको बोल्ड डिसिजनमा उल्टै खेलाडी मेरो विरोधमा उत्रिए । एक किसिमले टोलीबाट बाहिर रहँदा दुःख र पीडा हुने नै भयो । राष्ट्रिय टोलीमा छनोट नहुँदा जोकोही खेलाडीलाई दुःख लाग्छ नै । अर्को पाटोबाट विश्लेषण गर्दा प्रशिक्षकले जहिले पनि आफ्नो टोली उत्कृष्ट भएको हेर्छ । सिनियर खेलाडीलाई मैले मिल्नुपर्छ भनेको थिएँ । उत्कृष्ट नतिजाका लागि कसैलाई दुःख पनि दिइयो । चुनौतीबीच हामीले अभ्यास सुरु गर्‍यौँ । त्यसवेला महिला राष्ट्रिय टोलीबाट आठजनाले डेब्युको अवसर पाएका थिए ।

बैंककमा २२ दिनको अभ्यास
राखेपका तत्कालीन सदस्यसचिव रमेश सिलवालले भलिबलसँगै अन्य खेलको प्रशिक्षण सुरु गराउनुभएको थियो । भलिबलमा नयाँ प्रतिभावान् खेलाडीको आगमन भएको थियो । लामो समयको अभ्यास र अन्तर्राष्ट्रिय खेलपछि उनीहरू अनुभवी हुन्छन् भनेर अनुरोध गरेका थियौँ । १३औँ सागमा स्वर्ण पदक नै भनी सदस्यसचिवलाई विश्वास दिलायौँ । तर, रजत पदकमै हामी चित्त बुझाउन पुग्यौँ । ऐतिहासिक रूपमा रजत प्राप्त गरेपछि भलिबल टोली सदस्यसचिवकहाँ पुगेको थियो । उहाँलाई ‘हामी फिजिकल रूपमा तयार भयौँ’ भन्ने जानकारी दियौँ । त्यसवेला राखेपले कभर्डहल पुनर्निर्माण गरिरहेको थियो । पावर ट्रेनिङ गर्न जिमहल थिएन । मैले नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाललाई महिला भलिबल टोलीको तयारीका लागि कोर्ट उपलब्ध गराउनुपर्‍यो भनेको थिएँ । उहाँले सहजै स्वीकार गर्नुभयो । 

आधुनिक जिमहलमा दुई महिनाको तयारीपछि महिला टोली पूरै तयार भयो । खेलाडीलाई प्राविधिक, शारीरिकसँगै रणनीतिक रूपमा तयार पारेँ । यसपछि उनीहरूलाई अब अन्तर्राष्ट्रिय मैत्रीपूर्णको अनुभव चाहिने भनी सदस्यसचिवसँग आग्रह गरँे । उहाँले हाम्रा लागि ७०–८० लाख रुपैयाँ प्रशिक्षण गर्न सहयोग गर्नुभएको थियो । त्यही खर्चमा हामीले २२ दिन बैंककमा अभ्यास गरेका थियौँ । त्यो २२ दिनमा बैंककका सात टोलीसँग मैत्रीपूर्ण खेलियो । हामीले बैंककका उत्कृष्ट टोलीसँग अभ्यास गरेका थियौँ । थाइल्यान्ड एसियाकै उच्चकोटीको ट्रेनिङ सेन्टर हो । त्यहाँ धेरै देशका खेलाडी अभ्यासमा आएका हुन्छन् । भियतनाम र जापानको जुनियर टोलीसँग पनि खेलेका थियौँ । 

अपराजित रही अन्तर्राष्ट्रिय उपाधि 
बंगलादेशमा हामीले जति खेल्यौँ, खेलाडी सबै उत्साहित थिए । हामी फाइनल जित्छौँ भन्नेमा पक्का थियौँ । उपाधि जित्ने अन्तिम अंक नपाउँदासम्म सजक भएर खेल्नुपर्ने योजना बनायौँ । हामीले पाँच खेलमा १५ सेट मात्रै खेल्यौँ । अचम्म के रह्यो भने नेपालले उपाधि जित्दा एक सेट पनि गुमाएन । हामीले हरेक विपक्षीलाई दबाबमा राखेका थियौँ । समूह चरणमा हामीले अफगानिस्तानविरुद्ध २५–४, २५–९ र २५–६ ले जित निकाल्यौँ । हामीले दोस्रो खेलमा कीर्गिस्तानविरुद्ध २५–१५, २५–१९ र २५–२० तथा बंगलादेशलाई २५–७, २५–६ र २५–६ ले निराश बनायौँ । समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१३ हराउँदै फाइनलमा स्थान बनाएका थियौँ । रमाइलो पक्ष फाइनलमा माल्दिभ्स नै रह्यो । उपाधि भिडन्तमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सहज जित निकाली पहिलोपटक उपाधि जित्यौँ । बंगलादेशमा ऐतिहासिक प्रदर्शन गरेर फर्कँदा महिला भलिबल टोलीलाई सरकारदेखि विभिन्न संस्थाले सम्मान गरेका थिए । खेलाडीको मान बढ्यो । नेपाली महिला भलिबल मात्र नभएर समग्रमा भलिबलमै नयाँ परिचय थपियो । 

सरस्वती गुमाउँदा पीडा
१३औँ सागका क्रममा महत्वपूर्ण खेलाडी सरस्वती घाइते हुँदाको नेपाल अप्ठ्यारोमा परेको थियो । उनी घाइते हुँदा हामीमाथि दबाब बढेको थियो । तर, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी हामीले फाइनल स्थान पक्का गर्‍यौँ । उपाधि भिडन्तमा बलियो प्रतिद्वन्द्वी भारत थियो । भारतसँगको अति नै प्रतिस्पर्धात्मक सेटमा नेपाल ३–२ को सेटमा पराजित भयो । स्वर्ण भिडन्तमा भारतसँग पाँचौँ सेटमा पराजित हुँदा पनि मैले जितेको महसुस गरेँ । 

यो खेल कहिल्यै विर्सन सकिँदैन । महिला भलिबल टोलीले एउटा सुनौलो उपाधि जित्ने अवसर गुमायो । त्यसवेला राष्ट्रिय टोलीमा परेका सिनियर खेलाडीलाई पनि चित्त बुझाउन गाह्रो भएको थियो । उनीहरूको पीडा र चिन्तनलाई शान्त बनाउन हामीले मेडल जिताउनुपर्छ भन्ने भावनाका साथ नयाँ खेलाडीका साथ अगाडि बढेँ । उनीहरूलाई मेडल जिते मात्रै तपाईँहरूको भविष्य छ भनेको थिएँ । नयाँ खेलाडीलाई आत्मविश्वास दिलाएँ । तिनै युवा खेलाडीले राष्ट्रिय टोलीमा आफ्नो भविष्य सुनिश्चित हुने भावना राखेका थिए । उनीहरू धेरै अनुशासित थिए । सधैँ स्वस्फूर्त रूपमा अभ्यास गर्थे । 

ad
ad