१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल फोटो
२०७६ फाल्गुण १ बिहीबार १८:२२:००
Read Time : > 1 मिनेट
समाचार

‘पुर्ननिर्माण आफैमा प्रचारको माध्यम’

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १ बिहीबार १८:२२:००

१२ वैशाख २०७२ सालको भूकम्पबाट क्षति भएकामध्ये १५० सम्पदाको पुर्ननिर्माण बाँकी छ । विश्व सम्पदा सूचिमा परेका ७ वटा सम्पदाको पुननिर्माणको काम अझै सकिएको छैन ।

नेपालले भ्रमण वर्ष मनाइरहेको समयमै पुर्ननिर्माणका काम नसक्नु दु:खद कुरा हो । तर, यसले पर्यटक आगमनमा भने खासै असर नपर्ने बताउँछन् पर्यटन बोर्डका निवर्तमान कार्यकारी अध्यक्ष दीपकराज जोशी । 

बन्दै गरेका कतिपय संरचना आफैमा प्रचारको माध्यम बनेको जोशीले बताए । ‘पुर्ननिर्माणको क्रममा हजारौँ वर्ष पुराना संरचना कसरी बनाइन्छ भनेर देख्न पाउनु आफैमा एउटा अवसर हो । यसमा पर्यटकले पनि इन्जोय गरिरहनु भएको छ,यसले अर्कै किसिमको आकर्षण बढाइरहेको छ,’उनले भने ।

उनको भनाइमा भ्रमण वर्षको उद्घाटन समारोहमा आएका केही विदेशमन्त्रीहरूलाई रानीपोखरीको पुर्ननिर्माण देखाउँदा उनीहरू चकित परेका थिए । प्रचारको शैलीसँगै पुर्ननिर्माणले पर्यटकको सुरक्षालाई धक्का नदियोस् भन्ने कुरामा पनि उत्तिकै सचेत भएको उनको तर्क थियो । 

जोशीको तर्कमा 'टुर गाइड' मिलन केसी पनि केही हदसम्म सहमत छन् । पहिलो पटक नेपाल घुम्न आउने पर्यटकहरू चकित भएर पुर्ननिर्माणको काम अवलोकन गर्ने गरेको उनले पाएका छन् । नेपालले वर्षौं पुराना सम्पदाको संरक्षणको लागि पुर्ननिर्माण थालेको देखेर उनीहरू खुसी हुन्छन् । तर, पहिला नै नेपाल घुमेर फर्किएका पर्यटक भने काम समयमै नसकिएको देख्दा निराश हुने गरेको उनले बताए । भत्किएका ती संरचना समयमै बनिदिए हुन्थ्यो भन्ने सहानुभूति राख्ने गरेको उनले सुनाए ।

पर्यटन बोर्डका वर्तमान कार्यकारी अध्यक्ष धनन्जय रेग्मी पनि पुर्नर्निमार्णको कामबाट नयाँ पुस्ताले पुराना संरचनाबारे ज्ञान र सिप पाइरहेको बताए । ‘झण्डै लोपन्मुख हुन लागेका संरचना बुढापाकाको सल्लाहमा पनि जगेर्ना हुन थालेका छन्’, उनले थपे, ‘भुइँचालोको कारण हाम्रा सम्पदा भत्किएको दुनियाँलाई थाहा छ । त्यसैले यसले पर्यटक नकारात्मक हुन्छन् जस्तो लाग्दैन ।’

हनुमान ढोकामा अझै ११ वटा सम्पदाहरुको पुननिर्माण हुन बाँकी छ । पाटनमा ११ वटा सम्पदा पुननिर्माणको चरणमा रहेका छन् । ती पनि चालु आर्थिक वर्षभित्रै पुननिर्माण सक्ने विभागले जानकारी दिएको छ । पशुपतिमा ६२ वटा सम्पदामा क्षति भएका थिए भने, ३५ वटा सम्पन्न भएका छन् । बाँकी २७ वटा चालु आर्थिक वर्षभित्रै सक्ने लक्ष्य रहेको छ ।

उपत्यकाका विश्व सम्पदा स्थललगायत भूकम्पबाट प्रभावित ३१ जिल्लाकागरी ९२० वटा सम्पदामा क्षति भएको थियो ।

विभागका अनुसार अझै ३७० वटा सम्पदाहरूको पुननिर्माण हुन बाँकी रहेको छ । बाँकी रहेको पुननिर्माणको काम दुइ वर्षभित्र सक्ने जनाइएको छ । क्षति भएका सम्पदाहरूमा ४ सय सम्पदाहरूको काम सम्पन्न भएका छन् । निर्माणाधीन सम्पदाहरुको चालु आर्थिक वर्षभित्रै सक्ने पुरातत्व विभागको दाबी छ ।