१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मन्जु टेलर
२०७६ पौष २९ मंगलबार ०९:३५:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

दुखाइबाट मुक्ति पाउन फिजियोथेरापी

Read Time : > 2 मिनेट
मन्जु टेलर
२०७६ पौष २९ मंगलबार ०९:३५:००

सहरमा थेरापी 

२६ वर्षीया रुक्साना श्रेष्ठ गत वर्ष बाइक दुर्घटनामा घाइते भइन् । ब्रेकियल प्लेक्सिसका कारण उनको देब्रे हात नचल्ने भयो । चिकित्सकको सल्लाहअनुसार उनी एक सातादेखि फिजियोथेरापी गरिरहेकी छिन् । ‘औषधिउपचारसँगै फिजियोथेरापी पनि गर्नुपर्ने रहेछ । ठूला अस्पतालमा लामो समय उपचार गरेँ, आयुर्वेदिक औषधिको पनि प्रयोग गरेँ । फिजियोथेरापीपछि भने छोटो समयमै हात चलाउन सक्छु जस्तो लाग्न थालेको छ,’ उनले भनिन् । दीपक शर्मा पेसाले बंैकर हुन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म दिनहुँ कम्प्युटरमा काम गर्नुपर्ने भएकाले उनमा  ब्याकपेनको समस्या देखियो ।

बसाइको आकार नमिल्दा बिस्तारै ब्याकपेन क्रोनिक हुँदै गयो । चिकित्सकले उनलाई औषधिसँगै थेरापी गर्न सल्लाह दिए । उनले पछिल्लो एक महिनादेखि दिनहुँ फिजियोथेरापी गराइरहेका छन् । ‘समयमै उपचार नगरेको भए ढाडको शल्यक्रिया गर्नुपर्ने समस्या हुन्थ्यो । अहिले सुधार भइरहेको छ,’ उनले भने । ६२ वर्षीया राधा गुरुङ लामो समयदेखि घुँडा दुख्ने समस्याबाट ग्रस्त थिइन् । हिँड्डुल गर्न समस्या भएपछि परिवारका सदस्यले उनलाई उपचारका लागि क्लिनिक लिएर आए ।

करिब दुई साताको नियमित थेरापीपछि उनी हिँड्न सक्ने भइन् । भन्छिन्, ‘छोटो समयमै घुँडा दुख्न निको भयो, खुसी लागेको छ ।’ लाजिम्पाट बस्ने शान्ति केसी लामो समयदेखि ढाडको दुखाइ र स्नायु कम्प्रेसनबाट पीडित थिइन् । औषधि प्रयोगबाट पनि पीठ दुख्ने समस्या निको नभएपछि उनले थेरापी गर्न थालिन् । चिकित्सकको प्रत्यक्ष निगरानीमा करिब १० दिन फिजियोथेरापी गरेपछि दुखाइको समस्या पूर्ण रूपमा निको भएको उनले बताइन् । ‘शरीर दुख्ने, हिँड्दा–बस्दा खुट्टा दुख्ने, भर्‍याङ चढ्दा घुँडा दुख्ने, दुखाइले गर्दा निद्रा नलाग्ने हुन्थ्यो, अहिले निकै सुधार भइसक्यो,’ उनले भनिन् । 

यस्ता व्यक्तिमा समस्या 
लामो समयदेखि फिजियोथेरापिस्टको रूपमा काम गर्दै आएका डा. विराशन राजभण्डारी (पिटी) भन्छन्, ‘सहरी जीवनशैली निकै अव्यवस्थित छ । कार्यालयमा कम्प्युटरमा काम गर्ने व्यक्ति, सवारीचालक, निहुरिएर बाइक चलाउने व्यक्ति, गृहिणी र भारी ब्याग बोक्ने बच्चाको हाडजोर्नी र स्नायुमा समस्या देखिने गरेको छ । अधिकांश समय एउटै पोजिसनमा बसेर काम गर्ने व्यक्तिका लागि फिजियोथेरापी अत्यावश्यक भइसकेको छ ।’ राजभण्डारीका अनुसार फिजियोथेरापी एक प्रकारको शारीरिक अभ्यास हो ।

अर्थात्, बिरामी वा दुर्घटनामा परेका व्यक्तिले मात्रै फिजियोथेरापी गर्नुपर्छ भन्ने होइन, स्वस्थ व्यक्तिले पनि गर्न सक्छन् । विनायक अस्पतालमा कार्यरत फिजियोथेरापिस्ट डा. मनोज केसी पछिल्लो समय नेपालमा पनि थेरापीलाई व्यायामको रूपमा हेर्न थालिएको बताउँछन् । त्यसैकारण, सहरी क्षेत्रमा थेरापी सेन्टरको संख्या बढ्दो छ । अस्पतालमा फिजियोथेरापी डिपार्टमेन्ट पनि अनिवार्य गरिएको छ । 

डा. अमरेन्द्र झा
अर्थोपेडिक फिजियोथेरापिस्ट
अल्का अस्पताल 

के हो फिजियोथेरापी ?
सामान्य भाषामा थेरापीको अर्थ उपचार भन्ने हुन्छ । व्यायाम वा मेसिनको माध्यमबाट शारीरिक उपचार गर्नु फिजियोथेरापी हो । हाडजोर्नीसम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नसासम्बन्धी न्युरो फिजियोथेरापी, खेलकुदसँग सम्बन्धित स्पोट्र्स फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्धवृद्धासँग सम्बन्धित जेरियाट्रिक र बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरी विभिन्न किसिमका थेरापी हुन्छन् । फिजियोथेरापी एलोप्याथीअन्र्तगत पर्ने उपचार पद्धति हो । यो जुनसुकै उमेरसमूहका व्यक्तिले गर्न सक्छन् । फिजियोथेरापी दुखाइ कम गर्न, व्यक्तिलाई क्रियाशील बनाउन, नचल्ने जोर्नीलाई चालमा ल्याउन, रोगको उपचार पछि अंगहरूलाई पुनः सक्रिय बनाउन प्रयोगमा ल्याइन्छ । 

फाइदा
व्यायमको माध्यमबाट उपचार गरिने हुँदा अर्थोपेडिक समस्याका लागि फिजियोथेरापी उपयुक्त उपचार विधि मानिन्छ । औषधिको प्रयोगविना उपचार गरिने हुँदा कुनै साइड इफेक्ट हुँदैन । फिजियोथेरापीले रोगसँग लड्ने क्षमता बढाउनुका साथै सरुवा रोगको जोखिम समेत घटाउँछ । यसमा शारीरिक व्यायामलाई केन्द्रित गरिने हुँदा दीर्घरोगीका लागी समेत राम्रो मानिन्छ । 

यी रोगका उपचार 
फिजियोथेरापीअन्तर्गत बिरामीलाई एक्सरसाइज गर्न सिकाएर दुखाइ कम गराउने वा रोग कम गर्ने, मेसिनको सहायताबाट समस्या समाधान गर्ने र पुनस्र्थापना गर्ने वा रोग नियन्त्रण विधि अपनाएर उपचार गर्ने गरिन्छ । नसा च्यापिनु, जोर्नी खिइनु, हाडजोर्नी बांगो हुनु, जन्मजात वा चोटपटकबाट अपांग हुनु, प्यारालाइसिस भएर हड्डी बांगिनु वा नचल्नु, रोगका कारण मुखको हड्डी नचल्नुलगायत समस्या समाधानका लागि फिजियोथेरापी गर्न सकिन्छ । विभिन्न रोगको उपचार गर्नुअघि र शल्यक्रियापश्चात् बिरामीलाई पुनः सक्रिय बनाउनसमेत फिजियोथेरापीको ठूलो भूमिका हुन्छ ।