१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ मङ्सिर १ आइतबार १०:४१:००
Read Time : > 1 मिनेट
प्रदेश

खुट्टा गुमेपछि सिकेको पेन्टिङले बदलियो जीवन

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार १०:४१:००

रसुवाका लालबहादुर तामाङले २१ वर्षअघि दुर्घटनामा एउटा खुट्टा गुमाए । गाडीचालक उनले ठेलागाडा जोगाउन गाडी भित्तामा ठोक्काए । तर, त्यही दुर्घटनाका कारण उनी बैसाखीको सहारामा पुगे । खुट्टा गुमेपछि पेन्टिङ सिकेका उनी अहिले आफूले बनाएका पेन्टिङ बेचेरै घरपरिवार चलाउन सफल भएका छन् ।

रसुवामा ५५ वर्षअघि जन्मेका लालबहादुर तीन वर्षको हुँदै बेसहारा बने । बिफरका कारण आमा, बुबा र दिदी गुमाएपछि उनको सहारा कोही पनि भएन । १० वर्षको उमेरदेखि आफैँ काम गर्दै ज्यान पाल्न थालेका उनले घरेलु कामदार, होटेल मजदुर भएर काम गरे । पहिले नै उनलाई उद्धार गरेर बालआश्रममा पु¥याउने दम्पतीसँग पुनः भेट भएपछि उनीहरूकै सहयोगमा लालबहादुरले ड्राइभिङ सिके । तर, काठमाडौं–नेपालगन्जको नाइट बसको चालक रहँदा बसपार्कनजिकै भएको दुर्घटनासँगै उनले एउटा खुट्टा गुमाए ।

खुट्टा गुमाएपछि लालबहादुर काठमाडौं छाडेर इटहरी आए । इटहरीमा उनले पेन्टिङ सिके । घरपरिवार चलाउन सुरुका दिनमा केही गाह्रो भए पनि बिस्तारै उनका पेन्टिङ बिक्री हुन थाले, जसका कारण उनलाई घर चलाउन केही सहज बन्दै गयो । हिमाल, सुन्दर गाउँबस्ती तथा दृश्य, लोपोन्मुख जीवजन्तु उनको चित्रकलाका विशेषता हुन् । उनले सगरमाथा, कञ्चनजंघा, फेवाताल, अरुण उपत्यकाजस्ता पर्यटकीय महत्वका साथै रेडपान्डालगायत दुर्लभ जीवजन्तुको पेन्टिङ बनाएका छन्, जुन उनले दुईदेखि ६ हजारसम्ममा बेच्ने गरेका छन् । मासिक १० वटासम्म चित्र बनाउने उनको कमाइ अहिले मासिक ३५ हजारको हाराहारीमा रहेको छ ।

व्यक्तिसँगै विभिन्न सरकारी तथा गैरसकारी संघ–संस्थाले पनि उनका पेन्टिङ खरिद गरेका छन् । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले लालबहादुरका केही पेन्टिङ नगरपालिकाले किनेको बताए । ‘उनका पेन्टिङ निकै आकर्षक छन्,’ उनले भने, ‘त्यसमाथि उनको अवस्था हेरेर पनि पेन्टिङ किनिएको हो ।’ दुई छोरीलाई स्टाफ नर्स पढाएका लालबहादुरका छोरा इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहेका छन् । लालबहादुर भन्छन्, ‘अहिलेसम्म मुख्य आम्दानीको स्रोत मेरो कला नै हो । यसमा श्रीमती सरस्वतीले ठेलामा चिया बेचेर पनि सहयोग गरिरहेकी छिन् ।’