१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ असोज १५ बुधबार ०९:०४:००
Read Time : > 2 मिनेट
प्रदेश

स्क्रब टाइफस र डेंगुले लिँदै छ ज्यान : इलाममा असोजमा मात्रै १५ जनामा स्क्रब टाइफस

Read Time : > 2 मिनेट
२०७६ असोज १५ बुधबार ०९:०४:००

इलाम नगरपालिका–४ तोरीबारीकी ४४ वर्षीया भीमा पोख्रेलको दुई साताअघि स्क्रब टाइफसका कारण ज्यान गयो । सुरुमा इलाम अस्पतालमा पु-याइएकी उनलाई बिराम निको नभएपछि झापाको बिर्तासिटी लगियो । दुवै ठाउँ स्क्रब टाइफस परीक्षण गरियो तर नतिजा नेगेटिभ देखियो ।

लामो समयसम्म पनि बिराम निको नभएपछि उनलाई झापाकै बी एन्ड सी अस्पतालमा पु-याइयो । त्यहाँ उनलाई स्क्रब टाइफस भएको पुष्टि भयो । रोग पहिचान हुँदासम्म उनको मिर्गाैला र कलेजोमा संक्रमण भइसकेको थियो । उपचारकै क्रममा उनको अस्पतालमै मृत्यु भयो ।

अघिल्लो वर्षको भदौमा सोही स्थानकै ३९ वर्षकी फूलमाया बागदासको पनि स्क्रब टाइफसकै कारण मृत्यु भएको थियो भने एक वर्षअघि सन्दकपुर गाउँपालिका–३ का ढुण्डीराज साउदेनको पनि स्क्रब टाइफसकै कारण मृत्युु भएको थियो । यसैगरी, इलामको मंगलबारेकी एक महिलाको पनि अघिल्लो वर्ष स्क्रब टाइफसकै कारण मृत्यु भएको थियो । इलाममा डेंगुुका कारण पनि एकजनाको मृत्यु भएको छ ।

इलाम खरेल डाँडाका गणेश ताम्लिङका उपचारका क्रममा विराटनगरको नोबेल अस्पतालमा केही दिनअघि मात्रै मृत्यु भएको हो । ज्वरो आएर अस्पताल भर्ना भएका उनलाई कलेजो र मिर्गाैलामा समस्या देखिएको भन्दै जिल्लाबाहिर रिफर गरिएको थियो । डेंगुका कारण उनको मृत्यु भएको परिवारले जनाएको छ । 

इलाममा छिटपुट मात्रै देखिने गरेको स्क्रब टाइफसका बिरामी ह्वात्तै बढेका छन् । आइतबार इलाम अस्पतालमा आएका इलाम नगरपालिका–९ का २८ वर्षे तुलसा पोख्रेल र फाकफोक थुम गाउँपालिका–१ की ७० वर्षीया दिवाकुमारी भट्टराईलाई स्क्रब टाइफस र डेंगु दुवैको संक्रमण भएको अस्पतालका मेडिकल रेकर्डर निरीक्षक वाचस्पति भट्टराईले जानकारी दिए ।

उनीहरू उपचारका लागि जिल्लाबाहिर गएका छन् । सोमबार नै डेंगुका लक्षण देखिएका अन्य दुईजना अस्पताल भर्ना भएका छन् । अर्की एक महिलामा पनि डेंगु भएको पुष्टि भएको छ । एकजना स्वास्थ्यकर्मीमा पनि स्क्रब टाइफस भएको छ ।

गत असारमा इलाम नगरपालिकाका एकजना र भदौमा इलामकै एकजनामा स्क्रब टाइफस देखिएको थियो । उनीहरू उपचारका लागि जिल्लाबाहिर गएका थिए । असोजयता इलाममा स्क्रब टाइफसका बिरामी निकै बढेका छन् । असोजमा मात्रै इलाममा १५ जनामा स्क्रब टाइफस भेटिएको मेडिकल रेकर्डर निरीक्षक भट्टराईले जानकारी दिएका छन् । उनीहरूमध्ये दुईजना मात्रै इलाम अस्पतालमा उपचार गराएर निको भएका छन् ।

बाँकी १३ जनालाई भने जिल्लाबाहिर रिफर गरिएको छ । इलाममा डेंगु संक्रमितको संख्या पनि बढ्दै गएको छ । इलाम अस्पतालमा मात्रै डेंगुका पाँचजना संक्रमित भेटिएको छ । इलाम अस्पतालबाहिर उपचारका लागि गएका अन्य तीनजनामा पनि डेंगुको संक्रमण पाइएको स्वास्थ्य कार्यालय इलामका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालले जानकारी दिए ।

इलाममा डेंगु र स्क्रब टाइफसको बिरामी बढ्दै गए पनि स्वास्थ्य कार्यालय र अस्पताबीच समन्वय भएको पाइँदैन । स्क्रब टाइफसका बिरामी बढेको विषयमा अस्पतालले कुनै रिपोर्ट नै नदिएको स्वास्थ्य कार्यालयका विमल बरालले बताए । उनले भने, ‘यद्यपि हामीले स्क्रब टाइफस र डेंगुबारे जनचेतना फैलाउन स्थानीय तहलाई आग्रह गरेका छौँ ।’ औषधि अभाव भयो भने दिन सकिने भन्दै उनले स्वास्थ्य कार्यालयको भूमिका समन्वयकारी मात्रै रहेको बताए । यता अस्पतालका कर्मचारीले भने स्वास्थ्य कार्यालयले वास्ता नगरेको बताए ।

के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस कीटमार्फत परीक्षण गरिन्छ । आइजिजी, आइजिएम र एनएसआइएजीमध्ये कुनै या सबै पोजेटिभ देखिए स्क्रब टाइफस भएको पुष्टि हुन्छ । स्क्रब टाइपस हुँदा सुरुमा ज्वरो आउने, टाउको बढी दुख्ने हुन्छ । केही समयपछि शरीरमा दागहरू देखा पर्न थाल्छन् ।

सुरुकै अवस्थामा रोग पुष्टि भयो भने सामान्य औषधिले निको हुन्छ । रगतमा संक्रमणको मात्रा बढ्दै गएपछि यसले मिर्गाैला र कलेजोमा प्रभाव पार्छ भने श्वासप्रश्वासमा पनि समस्या देखिन्छ । मुसामा देखिने किर्नाजस्तो किराबाट मानिसमा सर्ने स्क्रब टाइफसको सुरुकै अवस्थामा उपचार गरिए उपचार सम्भव हुन्छ । ढिलो भयो भने बिरामीको ज्यान जाने सम्भावना बढी हुन्छ । 

स्क्रब टाइफस हुँदा धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखा रातो हुने, झाडापखला लाग्ने, शरीरमा दाद देखिने, शरीरका मुख्य अंगहरूले काम गर्न छाड्ने र कडाखालको श्वासप्रश्वास समस्या देखिन्छ । सरुवा यो रोग नेपालको ६३ जिल्लामा फैलिसकेको भए पनि नियन्त्रणको प्रभावरी प्रयास भएको छैन ।