१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Friday, 09 May, 2025
२o८o भदौ २५ सोमबार १६:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार १६:४१:oo

चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका– १७ निवासी ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज ती महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। 

उनका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना भएको थियो। सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताए। 

जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये चालू आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। ६ सय ९५ जनाको परीक्षण गर्दा ६७ मा स्क्रब टाइफस पुष्टि भएको सूचना अधिकारी केसीले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये २५ जना चितवनका छन् भने बाँकी अन्य जिल्लाका छन्।

केसीले गत आवमा तीन हजार चार सय ८२ जनाको परीक्षण गर्दा पाँच सय २८ मा स्क्रब टाइफस संक्रमण देखिएको जानकारी दिए। 

यो जीवाणु झाडी, खेतबारी, वनजंगल, घरवरिपरिको झाडी वा घुरानमा बढी देखिने केसीको भनाइ थियो। उनका अनुसार यो रोग मानिसबाट मानिसमा सर्दैन। 

लक्षण

स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, शरीरका मुख्य अंगहरूले काम गर्न छाड्नुलगायत लक्षण देखिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी केसीले बताए। उनका अनुसार संक्रमण भएका बिरामीको समयमा उपचार नगराएमा श्वासप्रश्वासमा समस्या आई सिकिस्त हुने गर्दछन्।

यसको संक्रमणबाट बच्नका लागि खेतबारीमा काम गर्दा वा वनजंगल तथा झाडीमा जाँदा लामो कपडा लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्नेलगायत कार्य गर्नुपर्ने केसीले बताए।