मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १६ मंगलबार
  • Wednesday, 02 September, 2026
भोटेकोशी बाढीमा हराएका आफन्तहरूको अवस्था बुझ्न सोमबार शिक्षण अस्पताल पुगेका आफन्त । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८३ भदौ १६ मंगलबार o७:३२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीमा बेपत्ताको ‘अवस्था’ बुझ्न अस्पतालहरूमा भौँतारिँदै आफन्तजन

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १६ मंगलबार o७:३२:oo
  • सम्पर्कविहीन भएका आफन्तलाई अस्पताल ल्याइएको छ कि भन्ने आस बोकेर कैयौँ परिवार पाँच दिनदेखि अस्पतालपरिसरमै

सधैँ बिरामीको चापले मानिसहरूको चहलपहल देखिने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालपरिसरमा अहिले बाढीमा हराएका आफन्तको ‘अवस्था’ बुझ्न आउनेहरूको भिड छ । सामान्य उपचारका लागि आउनेभन्दा पछिल्ला पाँच दिनदेखि रसुवा बाढीमा हराएका आफन्त खोज्दै अस्पताल पुग्ने धेरै छन् ।

सम्पर्कविहीन भएका आफन्तलाई अस्पताल ल्याइएको छ कि भन्ने आस बोकेर कैयौँ परिवार अस्पतालमै कुरिरहेका छन् । कतिपयले पाँच दिनदेखि अस्पतालपरिसर छाडेका छैनन् । उनीहरू दिनभर अस्पतालको सूचना डेस्कबाहिर बस्छन्, भित्तामा टाँसिएका नामको सूची हेर्छन् र हराएका आफन्तको नाम भेटिन्छ कि भनेर खोज्छन् । नाम नभेटिएपछि फेरि अस्पतालपरिसरमै आफन्त आउने आशामा बस्छन् ।

टिचिङमा भेटिएका सिन्धुपाल्चोकका राजु थापाले बेपत्ता आफन्तको नाम दर्ता गराउन आएको सुनाए । ‘मेरा दिदी, भिनाजु र भान्जा–भान्जी टिमुरेबाट सम्पर्कविहीन हुनुभएको छ, अहिलेसम्म कुनै खबर पाएको छैन, म सिन्धुपाल्चोकबाट यहाँ नाम टिपाउन आएको छु,’ थापाले भने, ‘नाम टिपाएर फोटो टाँसेर बसेको छु, अस्पतालको सूचीमा देखिएन ।’

रामेछापकी सीता तामाङ तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमै बसेकी छिन् । उनका मान्छे त्यहाँ कोही छैनन् । आफ्नो श्रीमान्लाई अस्पतालमा ल्याइएको छ कि भनेर खोज्दै उनी अस्पताल आएकी हुन् । उनी रातदिन अस्पतालबाहिरको मेचमा बसेर बिताउँछिन् ।

‘मेरो श्रीमान् हाइड्रोमा काम पाइन्छ कि भनेर साथीले बोलाएपछि रसुवा बुझ्न जानुभएको थियो । तर, बुधबारदेखि उहाँको फोन अफ छ । सबैतिर सोधिखोजी गरेँ, तर भेटिनुभएको छैन,’ उनले सुनाइन्, ‘कसैले उद्धार गरेर अस्पतालमा ल्याएको छ कि भनेर यहाँ आएकी छु । अहिलेसम्म अत्तोपत्तो छैन ।’ 

रसुवाका समीर तामाङ पनि हराएको पाँच दिन बित्यो । उनी सरकारी गाडीका चालक थिए । बुधबारदेखि आफ्ना दाइ सम्पर्कविहीन भएपछि बहिनी सुनिता त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । उनी पनि यहाँ नाम टिपाएर र फोटो टाँसेर फर्किइन् । ‘दाइले त्यहाँ सरकारी गाडी चलाउनुहुन्थ्यो, बुधबारदेखि उहाँसँग कुराकानी नै भएको छैन,’ उनले नयाँ पत्रिकासँग सुनाइन्, ‘यहाँ आएर अस्पतालको सूचीमा हेरेँ, नाम भेटिनँ । फर्किनुहुन्छ भन्ने आशा बोकेर बसेका छौँ । बुबाआमा र म काठमाडौंमै बस्ने भएकोले बाच्यौँ ।’

कतिपय घाइतेलाई उपचारका लागि अस्पताल ल्याएको र कतिपयको शव अस्पतालमा राखिएकाले पहिचान तथा सम्पर्कका लागि आफन्तहरूले अस्पतालमा पुगेर नाम टिपाइरहेका हुन् । अस्पतालमा संकलन गरिएको उक्त तथ्यांक नेपाल प्रहरीलाई समेत पठाउने गरिएको छ । राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबारसम्म तीन हजार ९२५ जना बेपत्ता भएको तथ्यांक अद्यावधिक गरेको छ ।

त्रिवि शिक्षण अस्पतालमा पुग्दा पनि यसरी आफन्त हराएका खोज्न पुग्नेहरूको भिड देखिन्छ । त्रिवि शिक्षण अस्पतालमा आफन्त खोजिदिन भनेर सोमबार दिउँसोसम्म दुई हजार ८७८ ले नाम टिपाएका छन् । उक्त तथ्यांकमा कतिपयको तथ्यांक दोहोरिएको पनि हुनसक्ने अस्पतालले जनाएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ४३६ आफन्तले नाम टिपाएका छन् । चितवनस्थित मेडिकल कलेजमा एक हजार सात सय आफन्तले खोजीकार्यका लागि नाम दर्ता गराएका छन् ।

शिक्षण अस्पतालले सम्पर्कविहीन भएकाहरूको आफन्तको सहजताका लागि अस्पतालबाहिर उपचाररतको नामावली र पोस्टमार्टम विभागबाहिर शवहरूको तस्बिरसमेत टाँसेको छ । त्यस्तै, ट्रमा सेन्टरले पनि त्यसैगरी सूचना टाँसेको छ । ट्रमामा उपचारका लागि ४१ जना लगिएकोमा सोमबारसम्म १५ जना घाइते उपचाररत छन् । उहाँ उपचाररतमध्ये एकजनाको मृत्युसमेत भएको छ ।

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयराका अनुसार बेपत्ता भएका आफन्तहरू खोज्दै आइपुग्नेहरूको अस्पतालमा भिड लागेको महानगरीय प्रहरी वृत्त महाराजगन्जसँग सहकार्यमा नाम संकलन गर्ने काम भइरहेको बताए । ‘अस्पतालमा आफन्त खोज्दै आउनेको धेरै नै भिड छ, शनिबार र आइतबार पनि उस्तै भिड थियो, सोमबार पनि तीन–चार सय मानिस आफन्त खोज्नका लागि यहाँ आउनुभयो । तर, हामीकहाँ सीमित बिरामीको मात्रै उपचार भइरहेको छ, ६० जनाको शव अस्पतालमा छ, ४१ जना उपचाररत हुनुहुन्छ,’ उनले भने, ‘आफन्तहरू आशा बोकेर यहाँ खोज्न आउनुभएको छ ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हाल अस्पतालहरूमा उपचाररत र राखिएका शवबारे आफन्तहरूलाई थाहा दिने र देख्ने गरी राखिएको बताए । तर, अस्पतालमा नआएका र सम्पर्कविहीनहरूको तथ्यांक डरलाग्दो रहेको उनको भनाइ छ ।

शव गाड्ने ठाउँ खोज्दै प्रशासन
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रोसयराका अनुसार अस्पतालमा राखिएका शवलाई गाडेर व्यवस्थापन गर्नेबारेमा अस्पताल प्रशासन,  जिल्ला प्रशासन कार्यालय काठमाडौंबीच छलफल भएर ठाउँ पनि खोज्ने कार्य भइरहेको छ । अस्पतालमा रहेका शव पहिचान हुन कठिन भएपछि गाड्नको लागि सम्भावित ठाउँ खोजिएको थियो । सुरुमा पशुपति बनकाली क्षेत्र, कपन क्षेत्र र शिवपुरी क्षेत्रमा सम्भावित ठाउँ खोजिएपछि स्थानीयवासीले त्यस ठाउँमा शव गाड्न नदिने भएपनि अन्य स्थानमा शव गाड्ने ठाउँको खोजीकार्य भइरहेको छ ।

भरिन थाल्यो शिक्षण अस्पतालको शवगृह 
१५० क्षमता रहेको त्रिवि शिक्षण अस्पतालको शवगृह भरिन थालेको छ । यहाँ बाढीसँग सम्बन्धित ६० वटा शव छन् भने पुराना पहिचान हुन बाँकी शव ८० वटा छन् । अब यहाँ १० वटा मात्रै शव राख्न मिल्ने अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयराकाअनुसार बाढीमा ज्यान गुमाएका शवहरूमध्ये नौवटाको पहिचान भइरहेको र बाँकीको पोस्टमार्टम जारी रहेको बताए । ‘अब मन्त्रालयसँग समन्वय गरेर शव व्यवस्थापनबारे निर्णय लिन्छौँ,’ उनले भने । सरकारले यसअघि नै पहिचान सुरक्षित राखेर शवको व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ, जसअनुसार शनिबार चितवनमा एक सय शव जमिन खाल्डो खनेर व्यवस्थापन गरिएको थियो ।