एमाले अध्यक्ष केपी ओलीले पार्टीका नेता कार्यकर्तालाई आवरापछि किर्नाको संज्ञा दिएका छन् । अध्यक्षबाट आफूलाई हटाउन खोज्नेलाई ओलीले शनिबार इलाममा आवरा भनेर टिप्पणी गरेका थिए । झापाको बिर्तामोडमा आइतबार एमाले मिसन पार्टी जागरण शुभारम्भ कार्यक्रममा उनले पार्टीमा बसेर अवसर लिनेहरूलाई किर्ना भनेका हुन् ।
‘पार्टीबाट अवसर लिने नै असन्तुष्ट छन् । किर्ना पनि टन्न खाएर अगाएपछि भैँसीको जिउबाट पुक्लुक्क भुइँमा झर्छ । एमालेलाई पनि भैँसी बनाउन खोजेका छन्, साथीहरूले । खाइन्जेल खाने, खाएर टिल्ल भएपछि छाड्दिने । एमाले त्यस्तो पार्टी होइन,’ ओलीले भने, ‘राधे राधे ओड्ने, भित्र छुरी राखेर हिँड्ने प्रवृत्ति एमालेमा हुँदैन । केही नपाएकाले यसपटक पनि भोट हाले । केही पाएकाले यसपटक पनि भोट हालेनन् । केही मान्छे यस्ता निस्किए जो पाइरहन चाहन्छन् । अर्काले पाउने भयो भने बुरुक्क उफ्रिन्छन् ।’
ओलीले पार्टी अध्यक्ष हटाउनुपर्ने भए पार्टीको आन्तरिक बैठकमा कुरा राख्नुपर्ने बताए । उनले सामाजिक सञ्जाल र हस्ताक्षर अभियान चलाउनु गलत भएको बताए । यो पार्टीभित्र अराजक प्रवृत्ति भएको उनको भनाइ थियो । उनले अध्यक्ष हटाउने कुरा सडकछाप कुरा भएको भन्दै यस विषयमा छलफल पनि गर्न नचाहेको बताए । ‘यो केही स्वार्थी, महŒवाकांक्षीहरूको कुरा हो,’ ओलीले भने ।
२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनपछि एमालेमा पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय उठ्दै आएको छ । ओलीले यसको पक्षमा बहस गर्ने नेता–कार्यकर्तालाई कटाक्ष गरेका हुन् । उनले पार्टीमा अवसर पाएकाले एमालेलाई भैँसी बनाउन खोजेको आरोप लगाए । पार्टीमा अवसर नपाएकाले २१ फागुनको निर्वाचनमा भोट हालेको र अवसर पाएकाले भोट नहालेको दाबी गरे ।
गृहजिल्लामै बोल्न दिइएन मुख्यमन्त्री कार्कीलाई
हिक्मतकुमार कार्की कोशी प्रदेशका मुख्यमन्त्री मात्रै होइनन्, एमाले सचिव पनि हुन् । तर, आफ्नै गृहजिल्लाको पार्टीले आयोजना गरेको कार्यक्रममा कार्कीले बोल्न पाएनन् । पछिल्लो समय पार्टी पुनर्गठन अभियानमा लागेका कार्की र एमाले अध्यक्ष ओलीबिच खटपट छ ।
ओली पूर्व जाँदा सधैँ स्वागत गर्न पुग्ने कार्की यसपटक भने शनिबार ओली झापा आउँदा कार्यक्रममा गएनन् । यद्यपि, उनी एमाले झापाको कार्यक्रममा आइतबार भने ओलीलाई स्वागत गर्न अग्रपंक्तिमा उभिएका थिए । तर, कार्यक्रममा उनलाई बोल्न भने दिइएन । कार्यक्रममा सहभागी दुई केन्द्रीय सचिवले भने बोल्न पाए । पार्टी संगठन विभाग प्रमुख तथा सचिव भानुभक्त ढकाल र कोशी प्रदेश इन्चार्ज तथा पार्टी सचिव शेरधन राईलाई भने बोल्न दिइएको थियो ।