मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २ मंगलबार
  • Tuesday, 18 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ २ मंगलबार १७:२९:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

रंगकर्मीका समस्या सुन्न पहिलोपटक नाटकघरमा प्रज्ञा–प्रतिष्ठान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ २ मंगलबार १७:२९:oo

गत साउन २८ र २९ गते नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति ब्रजेश खनालको नेतृत्वमा नाट्य विभाग प्रमुख प्राज्ञ सरस्वती चौधरी, रङ्गमञ्च विभाग प्रमुख प्राज्ञ जीत बहादुर देउजा र प्राज्ञ सभा सदस्य परिवर्तनसहितको टोलीले राजधानीमा रहेका ६ वटा नाटकघरमा पुगेर परामर्श गर्‍यो।

रङ्गकर्ममा लामो यात्रा गरिसकेका सर्वनाम थिएटरका वरिष्ठ निर्देशक अशेष मल्ल, शिल्पी थिएटरका कलाकार तथा नाट्य निर्देशक घिमिरे युवराज, मण्डला थिएटरका चर्चित अभिनेता दयाहाङ राईदेखि कलाकार सुरज तमु सबैले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पाँचौँ कार्यकालसम्म आइपुग्दा पहिलो पटक आफ्नो दैलोमा आएकोमा प्रसन्नता व्यक्त गरेका थिए।

‘आज हाम‍ीलाई आफ्नो देखेर राज्य हाम्रो दैलोमा आउनु हाम्रो लागि नितान्त नयाँ र अत्यन्त सुखद अनुभव रह्यो,’ उनीहरूले भने। १८ वर्षदेखि बाल नाटक महोत्सवलाई निरन्तरता दिइरहेको शैली थिएटरका नवराज बुढाथोकीले यसरी ढोकैमा प्रज्ञा–प्रतिष्ठान टोली आइपुग्दा पहिलोपटक आफूलाई नाट्यकर्मी भन्दा गर्व लागेको बताए।

रङ्गकर्मीहरूले प्रज्ञा–प्रतिष्ठानका लागि नीतिगत, योजनागत र तात्कालिक कार्ययोजना सुधारका लागि आफ्ना सुझावहरू दिएका थिए। कौसी थिएटरका रङ्गकर्मी आकाङ्क्षा कार्की र लुनिभा तुलाधरले महिला, अपाङ्ग र एलजीबिटिक्यूमैत्री ‘स्मार्ट एकेडेमी हुनुपर्ने सल्लाह दिए।

सो क्रममा काठमाडौँमा क्रियाशील नाट्यसंस्था–थिएटर आबद्ध तथा स्वतन्त्र गरी दुई सयभन्दा बढी रङ्गकर्मीले आफ्नो सुखदुःख सुनाए। राजधानी केन्द्रित रङ्गमञ्चलाई देशभर विस्तार गर्नुपर्ने, नाटक निर्माण र प्रदर्शनमा सहभागी प्राविधिक र कलाकारहरुको जीवनबिमा, अध्ययनका लागि छात्रवृत्ति, लेखनवृत्ति, राज्यबाट निर्धारित न्यूनतम पारिश्रमिक पाउन नाटक निर्माण पक्षसँग अग्रिम सम्झौता पत्र हुनुपर्ने, सुविधा र सहुलियतसहितको कलाकार परिचय पत्र पाउनुपर्ने, नाट्य प्रदर्शनका लागि राज्यका स्वामित्वमा रहेका थिएटर हलहरुमा शुल्क छुट हुनुपर्ने सुझावहरू आएका थिए।

रंगकर्मी प्रवीण खतिवडाले ७ वटै प्रदेशमा सरकारले थिएटर बनाउन बजेट बिनियोजन गरेको भन्ने सुनेको हुँदा यसले स्वतन्त्र रङ्गकर्मी (थिएटर नभएका)हरुलाई नाटक गर्ने वातावरणमा सघाउने बताए। घिमिरे युवराजले प्रज्ञा–प्रतिष्ठानको कुल बजेटमा रहेको कार्यक्रम खर्चलाई बढाउनुपर्ने मत प्रकट गरे। उनले निजी तथा सामुदायिक नाट्यसंस्थाहरुको संरक्षण गर्ने नीति बन्नुपर्ने, हचुवाका भरमा भइरहेका नाट्य महोत्सव तथा प्रशिक्षणहरुलाई बहुभाषिक र स्थानीय संस्कृतिमा आधारित बनाएर व्यवस्थित गर्नुपर्ने, कम्तीमा २ वटा नाटक उत्पादन गर्ने गरी प्रत्येक नाट्यसंस्थालाई अनुदान दिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरे।

अभिनेता दयाहाङ राई केही फरक सुनिए। मण्डला नाटकघरबाट मात्र १५० भन्दा बढी नाटक र २ सयभन्दा बढी कलाकार उत्पादन गरेको भन्दै उनले आफूहरु र देशभर मञ्चन भइरहेको नाटकहरुको सैद्धान्तीकरण गर्न प्रज्ञा–प्रतिष्ठानलाई अनुरोध गरे। नवनियुक्त कुलपति ब्रजेश खनालको एउटै जवाफ थियो, ‘प्रज्ञा–प्रतिष्ठानले आज ढोका खोलेको छ।’ 

खनालले सम्पूर्ण नाटकघरहरूलाई आआफ्नो गतिविधि र क्रियाकलाप पारदर्शी तवरले प्रज्ञाप्रतिष्ठानलाई नियमित रूपमा उपलव्ध गराई नेपाल सरकारको आधिकारिक डेटाबेसमा सङ्ग्रहित र सुरक्षित राख्न पनि अनुरोध गरे। उनले प्राप्त सम्पूर्ण सकारात्मक सुझावहरूलाई द्रुत गतिमा सम्बोधन गरिने विश्वास दिलाए।