मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ३१ आइतबार
  • Tuesday, 18 August, 2026
पुनर्निर्माणपछि ललितपुरको लगनखेलमा रहेको लिच्छविकालीन ‘सप्तपाताल’ । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८३ श्रावण ३१ आइतबार o६:१६:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ब्युँताइयो १५०० वर्ष पुरानो ‘सप्तपाताल’

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण ३१ आइतबार o६:१६:oo
  • दशकौँदेखि विद्यालय र सेनाले समेत प्रयोग गर्दै आएको जग्गा फिर्ता ल्याएर लिच्छविकालीन ‘सप्तपाताल’ मौलिक शैलीमै पुनर्निर्माण, टीकाभैरवबाट राजकुलो पनि ल्याइँदै

ललितपुरको लगनखेलमा लिच्छविकालीन ‘सप्तपाताल’ ब्युँताइएको छ । नमुना मच्छिन्द्र माध्यमिक विद्यालय र नेपाली सेनाले समेत प्रयोग गर्दै आएको जग्गा ललितपुर महानगरपालिकाले १५ वर्षको कानुनी लडाइँपछि फिर्ता ल्याएर मौलिक शैलीमा पुनर्निर्माण गरेको हो । पोखरीमा पानी आपूर्तिका लागि टीकाभैरवबाट राजकुलो पनि ल्याउँदै छ । ऐतिहासिक प्रमाणका आधारमा लगभग संवत् २५० देखि ७५० सम्मलाई लिच्छविकालीन समय मानिएकाले यो सप्तपाताल करिब १५ सय वर्ष पुरानो रहेको अनुमान छ ।

पोखरीको आडैमा बगैँचा, घाँसेमैदान र फूलहरू रोपिएको छ । पोखरीको बाहिर तीनवटा फल्चासमेत निर्माण गरिएको छ । पोखरीसहित आसपासको क्षेत्रफल ४२ रोपनीमा फैलिएको छ भने पोखरीले मात्रै ६.७१ रोपनी ओगटेको छ । सप्तपातालको नजिकै रहेको पलेस्वाँ पोखरीमा पनि जान मिल्ने गरी दुई पोखरीलाई जोडेर पुलसमेत निर्माण गरिएको छ भने पोखरीको बाहिरपट्टि दुबोसहितको चौर बनाइएको छ । यहाँ घुम्न आउनेका लागि बस्नका लागि मेचहरू राखिएका छन् ।

चार करोड ७२ लाख लागतमा पुनर्निर्माण भएको पोखरीमा ५१ लाख लिटर पानी खन्याइएको छ । उक्त पानी ट्यांकरबाट ल्याएर हालिएको हो । टीकाभैरवबाट पुरानै राजकुलोलाई पुनर्निर्माण गरेर पानी ल्याई पोखरीमा मिसाउने योजना छ । गोदावरी नगरपालिकासँगको सहकार्यमा राजकुलो ल्याउने योजना पनि अन्तिम चरणमा पुगेको छ । पोखरीमा पानी भरिएपछि यसआसपासमा रहेका ढुंगेधारा, इनारजस्ता पानीका स्रोतहरूमा प्रशस्त पानी आउने अपेक्षा गरिएको छ ।

पुनर्निर्माणपछि शनिबार पोखरी उद्घाटन गर्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले महानगरको नेतृत्वमा आएपछि बनाएको ठुलो सपना पूरा भएको बताए । ०७४ र ०७९ का स्थानीय तह निर्वाचनमा निर्वाचित भएका महर्जनले सप्तपाताल पोखरीमा कमलको फूल फुलाउने घोषणा गरेका थिए । उनको उक्त सपना झन्डै १० वर्षपछि पूरा भएको हो । ‘सप्तपाताल फर्काउन धेरै नै झन्झट र कानुनी प्रक्रिया लडियो, प्राकृतिक रूपमा पोखरी आफ्नै अवस्थामा फर्किनुपर्छ भनेर सरकारी निकायसँगै मुद्दा लडेर जित्यौँ, पोखरीको जग्गा फिर्ता आयो,’ उनले भने, ‘त्यसपछि पाँच वर्षअघि पुनर्निर्माण थालिएको थियो, अहिले सम्पन्न भयो, अब यसमा कमलको फूल फुल्छ, रातिमा जुनकिरी डुलेको देखिन्छ ।’

सप्तपाताल पोखरी सांस्कृतिक सम्पदा मात्रै होइन, यो त पानीको स्रोत पनि हो । यसले पाटनको प्राचीन जल व्यवस्थापन, धार्मिक विश्वास, कृषि प्रणाली र सांस्कृतिक जीवनलाई नै मद्दत गर्ने मेयर महर्जनको भनाइ छ । ‘सप्तपाताल पोखरीलाई लिच्छविकालीन सम्पदाका रूपमा लिइन्छ, विगतमा ठुलो जलाशयका रूपमा यो पोखरी थियो, पाटनको राजकुलो तथा परम्परागत जल व्यवस्थापन प्रणालीको महत्वपूर्ण हिस्सा थियो, पोखरीमा पानी सञ्चय गर्नुका साथै भूमिगत पानी पुनर्भरण गर्न र सहरका विभिन्न हिटी (ढुंगेधारा)मा पानीको आपूर्ति कायम राख्न यसको महत्वपूर्ण भूमिका थियो । तर, सहरीकरण र पूर्वाधार निर्माणका क्रममा पोखरी संकटमा पर्‍यो, हुँदा–हुँदा जग्गासमेत खोसियो,’ मेयर महर्जनले भने, ‘यो पोखरी रातो मच्छिन्द्रनाथ जात्रासँग जेडिएको छ, जात्रा समापनका क्रममा मीननाथका पाञ्जुपुजारीहरूले वटुक भैरवमा पवित्र यज्ञ सम्पन्न गरेपछि सप्तपाताल पोखरीमा एक जोडी जीवित माछा छोड्ने परम्परा छ ।’

सप्तपाताल पोखरी ललितपुरकै फराकिलो र गहिरो मानिन्छ  । तर, सहरीकरण र संरचना बढ्न थालेसँगै ०३४/३५ देखि सप्तपातालको जग्गा अतिक्रमणको चपेटामा पर्न थालेको थियो । यो पोखरी लगनखेल बसपार्कस्थित अशोक स्तुपासँगै १४ रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको थियो  । राजकुलो मासिएपछि पोखरी सुक्दै गएको थियो । प्रमाण नभएकाले सबै जग्गा फिर्ता ल्याउन नसकिएको महानगरले जनाएको छ ।

पोखरीको जग्गा यसरी ल्याइएको थियो फिर्ता
सप्तपाताल पोखरीको संरक्षणका लागि लामो समयदेखि विवाद र कानुनी लडाइँ हुँदै आयो । ०३४ मा पोखरीको जग्गाको स्वामित्व नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको नाममा हस्तान्तरण गरिएको थियो । त्यसको करिब दुई दशकपछि ०६० मा विद्यालयले पोखरी क्षेत्रको करिब १४ रोपनी जग्गालाई व्यावसायिक कम्प्लेक्समा रूपान्तरण गर्ने प्रस्ताव अघि सारेको थियो । प्रस्तावपछि स्थानीय बासिन्दा पूर्ण स्थापितलगायतले पोखरीको जग्गा संरक्षणको माग गर्दै प्रशासनलाई दबाब दिन थाले । ०६१ मा पोखरीको जग्गा संरक्षणका सर्वोच्चमा रिट दायर भयो । लामो कानुनी प्रक्रियापछि ०७६ मा सर्वोच्च अदालतले उक्त जग्गा सप्तपाताल पोखरीकै भएको फैसला गर्‍यो ।

त्यस्तै, पोखरीको केही रोपनी जग्गा नेपाली सेनाले पनि प्रयोग गर्दै आएको थियो । मेयर महर्जनको पटक–पटकको अनुरोधपछि सेनाले पोखरीको जग्गा फिर्ता गरेको थियो । ०७६ मा सर्वोच्चको फैसलासँगै ढुंगेधारा तथा पोखरीविज्ञ पद्मसुन्दर जोशी, अकासेपानीविद् प्रकाश अमात्य, पानीविद् सुरेन्द्र श्रेष्ठ, पुष्पमान अमात्यलगायतले डिपिआर तयार पारेका थिए । मेयर महर्जनले पोखरी संरक्षण गर्न प्रमाण उपलब्ध गराएका थिए । स्कुलको नाममा गइसकेको सार्वजनिक पोखरी फिर्ता भएसँगै यसलाई घेराबार लगाई ०७७ देखि पुनर्निर्माण थालिएको थियो ।

सप्तपातालमा पानी पनि राजकुलोबाटै ल्याइँदै
सप्तपातालको पानीको मुख्य स्रोत भनेको लिच्छविकालीन राजकुलो (कुलो) नै हो । करिब ३० वर्षअघिसम्म पनि टीकाभैरवदेखि सप्तापाताल पोखरीसम्म करिब १४.२ किलोमिटर क्षेत्रमा राजकुलो बग्थ्यो । तर, रिङरोड निर्माणका क्रममा राजकुलो नै सिध्याइयो । वर्षौँ पुरानो ऐतिहासिक राजकुलोको पुनर्निर्माण तथा व्यवस्थापन गर्न ललितपुर महानगरपालिका र गोदावरी महानगरपालिकाले सहकार्य गरी चरणबद्ध रूपमा काम गरिरहेका छन् ।

ललितपुरका मेयर महर्जनका अनुसार पहिलो चरणअन्तर्गत सुनाकोठी चिबहालदेखि सप्तपातालसम्मको करिब ३.३४ किलोमिटर खण्डमा पाइप बिछ्याउने कार्य सम्पन्न भइसकेको छ । दोस्रो चरणअन्तर्गत बाँगेधारादेखि चिबहालसम्मको करिब १.३ किलोमिटर खण्ड पुनर्निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको छ । वर्षायाम समाप्त भएपछि निर्माण कार्य सुरु गरिनेछ । तेस्रो चरणअन्तर्गत गोदावरी क्षेत्रमा पर्ने राजकुलोको पुनर्निर्माण तथा व्यवस्थापनका लागि सम्बन्धित पक्षबिच द्विपक्षीय सम्झौता गरिएको छ । राजकुलोको पुनर्स्थापनाबाट सप्तपाताललगायत पोखरीमा पानी पुनर्भरण हुनुका साथै परम्परागत जलस्रोतको संरक्षण र भूमिगत पानीको पुनर्भरणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा छ ।