मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २ मंगलबार
  • Tuesday, 18 August, 2026
२o८३ भदौ २ मंगलबार १८:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रासायनिक मल र विषादीको बढ्दो प्रयोगले हराउँदै गँड्यौला, किसान चिन्तित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ २ मंगलबार १८:२२:oo

विषादी र रासायनिक मलको बढ्दो प्रयोगले पछिल्लो समय गँड्यौला हराउँदै जाँदा किसानहरू चिन्तित बन्न थालेका छन्। उत्पादन बढाउने नाममा रासायनिक मल, कीटनाशक तथा झारपात नियन्त्रणका लागि विषादीको प्रयोग बढ्दै जाँदा गँड्यौलाको संख्या घट्दै गएको किसानहरूको अनुभव छ।

उत्पादन बढाउन र खेतीको काम छिटोछरितो गर्न किसानले रासायनिक मल तथा विभिन्न प्रकारका विषादी प्रयोग गर्दै आएका छन्। यसको असर माटोमा पाइने गँड्यौलामा परेको किसानहरूको भनाइ छ।

बर्दियाको गुलरिया नगरपालिका–१२ भैसाहीका ५५ वर्षीय जगमोहन थारूले पहिले वर्षायाममा घरवरिपरि देखिने गँड्यौला अहिले निकै कम देखिने गरेको बताए। ‘वर्षायाममा पानी परेपछि घरको वरिपरि देखिने गँड्यौला अहिले देखिन छाडेको छ,’ उनले भने, ‘जहाँ गाईबस्तुको गोबर र झारपात हुन्छ, त्यहाँ गँड्यौला पाइन्छ। त्यसबाहेकको अन्य ठाउँमा गँड्यौला पाइँदैन।’

गुलरिया– ४ का ७३ वर्षीय कालुराम चौधरीले  विगतको तुलनामा अहिले खेतबारीमा निकै कम गँड्यौला देखिने गरेको बताए। ‘जबसम्म खेतबारीमा गोबर मल प्रयोग हुन्थ्यो, त्यति वेलासम्म  खेतबारीमा गँड्यौला देखिन्थ्यो,’ चौधरीले भने, ‘पहिलाजस्तो पशुपालन अहिले छैन। खेतबारीमा प्रांगारिक मल प्रयोग कम हुँदै गएको छ। रासायनिक मल र कीटनाशक औषधिको प्रयोग बढेको छ।’

गुलरिया– १२ भैसाहीकी ३२ वर्षीया उर्मिला थारूले साढे दुई बिघा जमिनमा करिब १० वर्षदेखि तरकारी खेती गर्दै आएको छिन्। पहिलेको तुलनामा अहिले निकै कम गँड्यौला देखिन थालेको उनको भनाइ छ। ‘खेतबारीमा प्रयोग हुने विषादी र रासायनिक मलका कारण गँड्यौला हराउँदै गएको जस्तो लाग्छ,’ उनले भनिन्, ‘हामीले सकेसम्म विषादी र रासायनिक मलको प्रयोग कम गर्ने गरेका छौँ। त्यसैले हाम्रो बारीमा अझै गँड्यौला पाइन्छ।’

गँड्यौला पाइने ठाउँको माटो खुकुलो र मलिलो हुने गरेको थारूको अनुभव छ। ‘जहाँ धेरै गँड्यौला हुन्छ, त्यहाँ बोटबिरुवा राम्रो हुन्छ र उत्पादन पनि बढी हुन्छ,’ उनले भनिन्, ‘यो कुरा पढेर होइन, काम गरेर सिकेको हो।’

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका कृषि प्रसार अधिकृत सेतीराम बवालले माटोमा पाइने प्राङ्गारिक पदार्थको अंश न्यून हुँदै गएकाले गँड्यौला लगायत किराहरूको संख्या घट्दै गएको बताए। उनले भने, ‘गँड्यौला कम हुनुमा रासायनिक मल र विषादी बढी प्रयोग हुनु र प्राङ्गारिक मलको कमी हुनु हो।’

माटोको उर्वरा शक्ति बढाउन हरियो मल, गोठे मल, कम्पोस्ट मल र पिनाको प्रयोग बढाउन आवश्यक रहेको कृषि प्रसार अधिकृत बवालले बताए। उनले भने, ‘पछिल्लो समय यान्त्रिकीकरणको कारण पशुपालन गर्ने किसानको संख्या घट्दै गएको हुँदा पनि प्राङ्गारिक मलको अभाव हुन थालेको छ।’

गँड्यौलाले माटोभित्र सुरुङ बनाउँदै माटोलाई खुकुलो बनाउन र जैविक पदार्थलाई माटोमा मिसाउन सहयोग गर्ने भएकाले खेतीका लागि यसको भूमिका महत्त्वपूर्ण मानिन्छ। खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा यसको असर माटोको प्राकृतिक प्रणालीमा समेत पर्न सक्ने भन्दै संरक्षणकर्मीहरू चिन्तित छन्।

प्राकृतिक रूपमा खेतबारीमा पाइने गँड्यौलाको संख्या घट्दै गएपछि केही व्यक्तिले भने व्यावसायिक रूपमा गँड्यौला पालनसमेत सुरु गरेका छन्। गँड्यौलाबाट उत्पादित जैविक मल बिक्री गरेर उनीहरूले आम्दानीसमेत गर्न थालेका छन्।