सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट भोलि विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि बुधबार दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। नेकपा सुदूरपश्चिम संसदीय दलका नेता भट्ट गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए।
मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिनेबारे छलफल भएको थियो। मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गर्ने निर्णय बैठकले गरेको नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले जानकारी दिए।
भट्टले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन्। सरकारमा नेकपाबाट मन्त्रीहरु नियुक्त हुन बाँकी छन्। नेकपा एमालेबाट नियुक्त मन्त्रीहरुले भने शुक्रबार मुख्यमन्त्रीसँगै पद तथा गोपनीयताको सपथ लिएका थिए।
‘प्रदेशमा अहिले बजेट रिक्तताको अवस्था छ। विश्वासको मत लिएपछि छिटोभन्दा छिटो मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’ उपनेता रावलले भने, ‘मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै बजेट रिक्तताको अवस्थालाई अन्त्य गरेर प्रदेशको समृद्धिको दिशामा हामी केन्द्रीत हुने छौँ।’
नेकपा र एमालेबिचको सहमतिअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय रहेको सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको नेतृत्व लिएको छ। तीन राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् रहने छ।
सरकारमा एमालेबाट संसदीय दलका उपनेता सन्तोषकुमारी थापा शर्मा सामाजिक विकास मन्त्री, प्रमुख सचेतक चक्र मल्ल आर्थिक मामिला मन्त्री, दमनबहादुर भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र जानकी ऐर आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएका छन्। मल्ल मन्त्री नियुक्त भएपछि एमालले प्रमुख सचेतक निर्मला साउँदलाई बनाएको छ।
नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय; उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व गर्ने छ। नेकपाबाट दुई राज्यमन्त्री नियुक्त हुने छन्।
साविकको नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी समायोजनपछि बनेको नेकपा प्रदेश सभाको सबैभन्दा ठूलो दल हो। मुख्यमन्त्री भट्टलाई साविकका पार्टीहरुबाट सन्तुलन मिलाएर मन्त्री नियुक्त गर्न सकस छ।
संसदीय दलका उपनेता रावलका अनुसार मन्त्रीहरुको टुङ्गो पार्टी केन्द्रले नै लगाउने छ। पार्टीका प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरि चौधरी उत्सव र मुख्यमन्त्री भट्ट सम्मलित तीन सदस्यीय समितिको सुझावका आधारमा केन्द्रले टुङ्गो लगाउने रावलले जानकारी दिए।
साविकका तीनै पार्टीबाट एक÷एकजनालाई मन्त्री बनाउने समझदारी रहे पनि व्यक्तिबारे टुङ्गो लाग्न बाँकी रहेको नेकपाका एक नेताले बताए। उनका अनुसार पूर्वमाओवादी र पूर्वनाउपाबाट एक÷एकजनालाई राज्यमन्त्री बनाउने तयारी छ।
दलको बैठकमा साविक नाउपाका ६ सांसद अनुपस्थित
मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा साविकको नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पृष्ठभूमिका ६ जना प्रदेश सभा सदस्य अनुपस्थित रहे। उनीहरु छुट्टै छलफलमा थिए। नाउपा पृष्ठभूमिका सात सांसदमध्ये कैलाश चौधरी भने बैठकमा सहभागी भए। अनुपस्थित सांसदले विश्वासको मतअघि नै साविक नाउपाबाट मन्त्रीको सुनिश्चितता खोजेका छन्।
प्रदेश सभा सदस्य इन्दिरा गिरीले आफूहरु आन्तरिक छलफलमा रहेकाले दलको बैठकमा सहभागी हुन नपाएको बताइन्। ‘साविक नाउपाबाट मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल थियो’ उनले भनिन्, ‘हामी नेकपाकै सांसद हो। विश्वासको मतबारे कुनै दुविधा छैन।’
नाउपा पृष्ठभूमिका ६ सांसदले मन्त्रीमा खुशीराम चौधरी र राज्यमन्त्रीमा गिरीलाई पठाउने निर्णय गरेको छ। संसदीय दल एकीकरणपछि खुशीराम नेकपा संसदीय दलको प्रमुख सचेतक छन्। साविक नाउपाभित्र मन्त्री कसलाई बनाउने भन्ने विषय नाउपाभित्र विवाद देखिएको छ। छ सांसद एकातिर छन् भने तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठनिकट कैलाश पनि मन्त्री बन्ने ‘लविङ’मा छन्।
तत्कालीन नाउप संसदीय दलमा अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबिच लामो समयदेखि विवाद थियो। दल समायोजनसँगै प्राविधिकरुपमा नेकपामा भए पनि नाउपा पृष्ठभूमिका केही सांसद अहिले पनि रेशमसँग नजिक छन्।
प्रमुख सचेतक डगौराले साविक नाउपा पृष्ठभूमिका ६ सांसदले मन्त्री चयनका विषयमा गरेको निर्णय पार्टीमा पठाइएको जानकारी दिए। ६ जनाले निर्णय गरेको व्यक्तिलाई पूर्वसमूहबाट मन्त्री बनाउनु पर्ने, आफूहरुले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउनुपर्ने र मुख्यमन्त्रीले विश्वासको मत लिनुअघिनै मन्त्रीको सपथ हुनुपर्ने माग गरेको उनले बताए।
मन्त्रालय र सपथका विषयमा छलफल गर्न सकिने भए पनि मन्त्री र राज्यमन्त्री चयनका विषयमा भने आफूहरुको निर्णयनै ‘बटम लाइन’ रहेको उनले सुनाए। आफूहरु नेकपाको सांसद भए पनि पूर्वपार्टीका हिसाबले मन्त्री चयन हुने भएकाले निर्णय गरिएको उनले बताए।
‘कैलाशजी पनि मन्त्रीका लागि लाग्नु भएको छ तर हामी छजना एकातिर रहेकाले बहुमतको निर्णय लागु हुनुपर्छ’ डगौराले भने, ‘साविक माओवादीले मुख्यमन्त्री लिएकाले हामीलाई भौतिक मन्त्री दिनु पर्छ भनेका छौँ। व्यक्तिको टुङ्गो लागिसकेकाले सकभर विश्वासको मतअघिनै सपथ गराउँदा उपयुक्त हुन्छ भन्ने हो । अहिले यही हुनुपर्छ भन्ने छैन। हामी छलफलमै छाँै, छलफलबाटै टुङ्गो लाग्ला।’