आठ वर्षसम्म बनेन कोशी प्रदेश सभाको लोगो

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

विराटनगर/ स्थापना भएको आठ वर्ष बितिसक्दा पनि कोशी प्रदेश सभाले आफ्नो वैधानिक लोगो अझै बनाउन सकेको छैन । दोस्रो कार्यकालको चार वर्ष बितेपछि बल्ल नयाँ नियमावली पारित गरेको सभाले प्रदेशको नाम र पहिचान झल्काउने आफ्नो लोगो भने अझै टुंगो लगाउन नसकेको हो । 

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएपछि नयाँ नियमावली बनाउन ०७९ चैतमै मस्यौदा समिति बनेको थियो । तर, नियमावलीको मस्यौदा तयार भएर प्रदेश सभामा पुगे पनि दलहरूबिच पहिचानसहितको नामकरणले गर्दा सहमति नजुट्दा नियमावली पारित हुनसकेको थिएन ।

गत ५ भदौमा एमाले र नेकपाको गठबन्धन सरकार बनेसँगै २२ असोजमा नयाँ मस्यौदा समिति बनाएर प्रदेश सभाले २४ असोजमा २१६ नियम समेटिएको नयाँ नियमावली सर्वसम्मतिले पारित गराएको थियो । तर, चार वर्षपछि आफ्नो नयाँ नियमावली बनाएको प्रदेश सभाले लोगो बनाउने विषयलाई भने अझै प्राथमिकता दिएको छैन । अझै पनि कोशी प्रदेशका सांसदहरू पहिलो कार्यकालमा बनेको नाम र पहिचानविहीन अस्थायी लोगो नै लगाइरहेका छन् । 

प्रदेश सभाभित्रको बैठक कक्ष, सभामुखको आसनपछाडिको भित्तादेखि लेटरप्याड र छापसम्म अहिले पनि तत्कालीन प्रदेश नम्बर १ का लागि तयार गरिएको अन्तरिम लोगो नै प्रयोग भइरहेको छ ।

प्रदेशको नाम कोशी राखिएको वर्षौँ बितिसक्दा पनि नामअनुसारको नयाँ लोगो नबन्दा अन्तरप्रदेश भ्रमण र सभासम्मेलनहरूमा सांसदहरू लज्जित पनि हुने गरेका छन् । वैधानिक लोगो नहुँदा प्रदेश सभाको संस्थागत पहिचानप्रति पनि प्रश्न उठ्ने गरेको छ ।

 कोशी प्रदेश सभा सभामुख अम्बरबहादुर विष्ट नियमावली पारित हुन बाँकी भएकाले पुरानै लोगो प्रयोग भइरहेको, तर अब नियमावली पारित भइसकेकाले चाँडै नयाँ लोगो टुंगो लगाउने बताउँछन् ।

उनका अनुसार नयाँ लोगोको डिजाइन तयार गरेर सभामुखको नेतृत्वमा रहने प्रदेश सभा सचिवालयले टुंगो लगाएपछि नयाँ लोगो प्रयोगमा आउनेछ । सभामुख विष्टले भने, ‘नियमावली पारित गर्यौँ, अब हिउँदे अधिवेशनअगाडि नै लोगो पनि टुंगो लगाउँछौँ ।’ 

सुझावित समाचार