लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी  उपसचिव पौडेललाई

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

बुटवल/ लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायणप्रसाद पौडेललाई दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रदेश सचिव भई कामकाज गर्न तोक्ने निर्णय गरेको हो। पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने जिम्मेवारी दिइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बाँस्तोला संघीय मन्त्रालयको पत्रअनुसार अर्थ मन्त्रालयमा सरुवा भएपछि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव पद रिक्त भएको थियो। सोही रिक्त पदमा तत्कालका लागि मन्त्रालयकै वरिष्ठतम उपसचिव पौडेललाई निमित्त सचिवको जिम्मेवारी दिने निर्णय भएको भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले गुल्मी अस्पताल, तम्घासमा कार्यरत ११औँ तहका प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. पदमराज अधिकारीको स्वैच्छिक राजीनामा पनि स्वीकृत गरेको छ।

व्यक्तिगत घरायसी कारणले नियमित रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न असमर्थ भएको जनाउँदै डा. अधिकारीले गत १५ भदौदेखि लागू हुने गरी राजीनामा दिएका थिए। प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम १३९ को उपनियम ३ बमोजिम उनको राजीनामा स्वीकृत भएको हो।

सुझावित समाचार