मकवानपुर । बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्निर्माणबारे छलफल गर्न बागमती प्रदेश सभा सदस्य सुष्मा भुजेलले तत्काल प्रदेश सभा बैठक बोलाउन माग गरेकी छिन्। मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएपछि बैठक नबसेको भन्दै भुजेलले सभामुखलाई ध्यानाकर्षणपत्र बुझाएकी हुन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद भुजेलले भदौ १० गतेदेखि बैठक स्थगित हुँदा विपत् प्रभावित नागरिकका समस्या सदनमा उठाउन र सरकारको कामको समीक्षा गर्न नपाइएको बताइन्। रसुवा–भोटेकोशी क्षेत्रसहित नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोले ठुलो क्षति पुर्याएको अवस्थामा प्रदेश सभा निष्क्रिय रहन नहुने उनको भनाइ छ।
ध्यानाकर्षणपत्रमा उनले क्षतिको वास्तविक विवरण, उद्धार तथा राहतको प्रगति, प्रभावितलाई सहायता र सुरक्षित पुनर्निर्माणसहितका विषयमा छलफल गर्न माग गरेकी छिन्। सम्बन्धित मन्त्रीहरूले सदनमा उपस्थित भएर हालसम्म भएका कामको यथार्थ विवरण प्रस्तुत गर्नुपर्ने उनको माग छ।
मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार उपलब्ध गराउनुपर्ने विषय पनि उनले उठाएकी छिन्। बाढीपहिरोबाट विस्थापित महिला तथा बालबालिका स्वास्थ्य समस्या, यौन हिंसा र मानव बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उनले उनीहरूको सुरक्षामा सरकार संवेदनशील हुनुपर्ने बताएकी छिन्।
अवरुद्ध सडक, क्षतिग्रस्त पुल, खानेपानी, विद्युत्, विद्यालय र स्वास्थ्य संस्थाको शीघ्र मर्मत गर्नुपर्ने भुजेलको माग छ। जोखिम मूल्यांकनका आधारमा सुरक्षित पुनर्निर्माणको गुरुयोजना सार्वजनिक गर्नसमेत उनले आग्रह गरेकी छिन्।
बाढीको कारण पहिचान गर्न विज्ञ टोलीमार्फत अध्ययन गराउनुपर्ने तथा भविष्यमा क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली र दीर्घकालीन सुरक्षा उपाय अपनाउनुपर्ने उनले उल्लेख गरेकी छिन्।
विपत् व्यवस्थापन, राहत वितरण र पूर्वाधार पुनर्निर्माणमा सरकारलाई जवाफदेही बनाउन नियमित कार्यसूचीभन्दा बाहिर गएर भए पनि विशेष छलफलको व्यवस्था मिलाउन भुजेलले सभामुखसमक्ष माग गरेकी छिन्।