कृषि विकास बैंकमा ११ वर्षअघि भएको ३३ करोड ९३ लाख हिनामिनाका मुख्य आरोपीविरुद्ध बल्ल मुद्दा दायर भएको छ । रामेछापको शैलुङ गाउँपालिका– १ घर भई भक्तपुर बस्ने राजीव (कृष्णहरि थापा)विरुद्ध गत साता उच्च अदालत, पाटनमा मुद्दा दायर भएको हो । थापाविरुद्ध ३३ करोड ९३ लाख बिगो र आठ वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरिएको छ ।
यसअघि उनको वतन नखुलेको भन्दै मुद्दा चलाइएको थिएन । यससम्बन्धी मूल मुद्दा ०७२ मै दायर भएकामा सर्वाेच्च अदालतबाट समेत ठहरको फैसला भइसकेको छ । तर, यस प्रकरणमा मुख्य पात्र भनिएका थापाको विषयमा विस्तृत नखुलेको भन्दै मुद्दा चलाइएको थिएन । महान्यायाधिवक्ता कार्यालयको ध्यानाकर्षणपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थापाको तीनपुस्ते विवरण र ठेगाना पत्ता लगाई मुद्दा अनुसन्धान प्रतिवेदन बुझाएको हो । तर, उनलाई पक्राउ गर्न भनेको सकेको छैन ।
थापा हाल भारतको सिलगुढीमा रहेको कृषि विकास बैंकको स्वयम्भू शाखाका तत्कालीन प्रबन्धक केदारप्रसाद गौतमले सिआइबीसँगको बयानमा बताएका छन् । जहाँ उनले आर्यन क्षेत्रीको नाममा रासनकार्ड लिएर भारतीय महिलासँग बिहे गरेर बस्दै आएका छन् । उनका भाइ दिनेश थापाले पनि कृष्णहरि हाल भारतमा रहेको र उनको नाममा रामेछापमा पुख्र्यौली सम्पत्ति कायमै रहेको बयान कागज गरेका छन् । यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकामा अधिकांश दोषी ठहर भइसकेका छन् ।
के हो घोटाला प्रकरण ?
कृषि विकास बैंकको स्वयम्भू शाखामा बैंकको कोर बैंकिङ सिस्टम दुरुपयोग गरी नक्कली नागरिकताका आधारमा बैंक खाता खोेलेर संस्थाको रकम हिनामिना भएको थियो । जसमा बैंकका शाखा प्रबन्धक केदारप्रसाद गौतमसहित गीता पन्त, भरतबहादुर बानियाँ लगायतविरुद्ध मुद्दा दायर भएको थियो । यसरी ठगी गरेपछि शाखा प्रबन्धक गौतम नक्कली नागरिकता बनाई प्रेमिका जेनी श्रेष्ठसँग गोप्य रूपमा बिहे गरी पोर्चुगल भाग्न लाग्दा पक्राउ परेका थिए । त्यतिवेला सिआइबीले गौतम, उनकी श्रीमती सम्झना पोखरेल, प्रेमिका श्रेष्ठलगायतलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
जसमा सर्वाेच्च अदालतले गौतमलाई पाँच वर्ष कैद र ३२ करोड ९४ लाख ८० हजार जरिवाना सुनाएको छ । उनकी श्रीमती सम्झनालाई एक वर्ष कैद र ५० लाख जरिवाना, सूर्यबहादुर लिम्बूलाई दुई वर्ष कैद र ३० लाख जरिवाना, भरतबहादुर बानियाँलाई एक लाख जरिवाना र एक महिना कैद, रामकुमार कुम्हार र सन्दीप गुप्तालाई १५ दिन कैद र २५ हजार जरिवाना सजाय भइसकेको छ । यति वर्षसम्म मुख्य आरोपीको भने पहिचान नखुल्दा मुद्दा चलेकै थिएन । गौतमले नै प्रहरीमा खुलाएको विवरणअनुसार यसरी ठगी गर्ने योजना थापाकै थियो र ठगी गरेको ३३ प्रतिशत रकम उनले हुन्डीमार्फत भारत लगेका थिए ।