गत भदौको जेन–जी आन्दोलनमा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि भाडाको भवनमा सञ्चालन हुँदै आएको कोशी प्रदेश सभा बैठक अब आफ्नै भवनमा बस्ने भएको छ । विराटनगरको देवकोटा चोकमा रहेको सचिवालय र बैठक भवन २४ भदौ ०८२ मा आगजनी र तोडफोडबाट ध्वस्त भएपछि विराटनगर महानगरपालिका– ७ स्थित सभागृह भाडामा लिएर सञ्चालन हुँदै आएको कोशी प्रदेश सभा बैठक ३ भदौदेखि मोरङको कटहरी गाउँपालिका– १, जमटोकीको तरकारी बजारमा रहेको सचिवालय स्थलबाटै सञ्चालन हुने भएको हो ।
गत २३ र २४ भदौको जेन–जी आन्दोलनमा भएको आगजनी र तोडफोडले गर्दा विराटनगर देवकोटा चोकमा रहेको कोशी प्रदेश सभा सचिवालय र बैठक भवन ध्वस्त भएको थियो । यसैले कोशी सरकारले २६ कात्तिकमा प्रदेश सभा सचिवालय मोरङको कटहरी–१ स्थित कृषि थोकबजारमा सारेको थियो । तर, त्यहाँ तत्काल सचिवालय सञ्चालन भए पनि प्रदेश सभा बैठक राख्ने सुरक्षित वतावरण र भौतिक पूर्वाधार नभएकाले २५ माघ ०८२ देखि विराटनगर महानगरपालिकासँग सभागृह मासिक आठ लाख रुपैयाँ भाडामा लिएर सरकारले हिउँदे र बर्खे अधिवेशन सञ्चालन गराउँदै आएको थियो ।
जेन–जी आन्दोलनमा ध्वस्त भएपछि कटहरीस्थित कृषि थोकबजारमा सारिएको प्रदेश सभा सचिवालयस्थलमै सरकारले पाँच करोडभन्दा बढी बजेट खर्चेर त्यहाँ रहेका टहरालाई स्तरोन्नति गराएर सुविधासम्पन बनाएपछि अब स्थगित बैठक ३ भदौदेखि आफ्नै सचिवालयमा सुचारु हुने प्रदेश सभा सचिव सुदर्शन खड्काले बताए । कटहरी कृषि बजारको प्रशासनिक भवनमा स्तान्तरण भएदेखि नै प्रदेश सभा सचिवालय सञ्चालन हुँदै आएको थियो । सरकारले २४ असारमा कोशी प्रदेश सभाको नवौँ अधिवेशनको २२औँ बैठकबाट चालू वर्षको बजेट पारित गराएपछि जारी बर्र्खे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको थियो ।
कोशी सरकारले कृषि थोक बजारलाई नै स्तरोन्नति गरेर चाँडै संसद्को हिउँदे अधिवेशनको बैठक बोलाउने तयारी थालेको थियो । तर, स्तरोन्नति कार्यमा ढिलाइ भएपछि जेन–जी आन्दोलनपछि स्थगित भएको प्रदेश सभा बैठकसमेत प्रभावित भएको थियो । बैठक सञ्चालनमा ढिलाइ भएपछि विपक्षी दलहरूले सरकारको आलोचना गर्न थालेपछि सरकारले विराटनगरमा रहेको महानगरपालिकाको सभागृह भाडामा लिएर हिउँदे अधिवेशन सञ्चालन गराएको थियो ।