सरकारले ठुलो परिमाणमा मल आपूर्ति भइरहेको जनाएको छ। कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार ९० हजार टन युरिया र ५० हजार टन डिएपी मल कोलकाता आइपुगेको छ।
पोखरेलका अनुसार कोलकाता आइपुगेको मल प्याकिङ गरेर नेपाल ल्याउन करिब १५ दिन लाग्नेछ। उनले एक लाख ३० हजार टन युरिया र ५० हजार टन डिएपी मल आउँदै गरेको जानकारी दिए।
‘९० हजार टन युरिया र ५० हजार टन डिएपी कोलकाता आइपुगिसक्यो,’ पोखरेलले भने, ‘उक्त मल नेपालमा क्रमशः भित्रिरहेको छ। जहाजमा कोलकाता आइपुगेको मल प्याकिङ गरेर नेपाल ल्याउन करिब १५ दिन लाग्छ।’
उनका अनुसार साउन महिनामा मात्रै २३ हजार ७०५ टन मल नेपाल भित्रिसकेको छ। बाटोमा रहेको मल नेपाल भित्रिन थालेकाले माग बढी भएका क्षेत्रमा आपूर्ति बढाउन सकिने उनले बताए।
‘बाटोमा रहेको मल नेपाल भित्रिन थालेकाले माग भएका ठाउँमा आपूर्ति परिमाण बढाउन सकिन्छ,’ पोखरेलले भने। उनका अनुसार गोदाममा मौज्दात रहेको मल पनि सबै क्षेत्रमा समान रूपमा वितरण भइरहेको छ।
यसैगरी, भारतसँगको जिटुजी (सरकार–सरकार) प्रक्रियामार्फत खरिद गरिने ५० हजार टनमध्ये थप २० हजार टन डिएपी मलसमेत आउने क्रममा रहेको कम्पनीले जनाएको छ।
मलको माग उच्च रहेको समयमा ठुलो परिमाणमा मल आयात भइरहेकाले आगामी दिनमा किसानले भोग्दै आएको मल अभाव केही सहज हुने अपेक्षा गरिएको छ।