राष्ट्रिय सहकारी बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को चौथो त्रैमाससम्म ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको सहकारीले गत आवमा नाफा निकालेको हो । त्यसैगरी, खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भई ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यसले बैंकको मुख्य व्यावसायिक गतिविधिमा सुधार आएको संकेत गरेको संस्थाले जनाएको छ ।
बैंकको सञ्चालन आम्दानी र सञ्चालन नाफामा समेत सकारात्मक वृद्धि देखिएको छ । वित्तीय आधार मजबुत बन्दै जाँदा बैंकको समग्र कार्यसम्पादनमा सुधार देखिएको व्यवस्थापनको भनाइ छ । विगतमा बैंकको प्रमुख चुनौतीका रूपमा रहेको सञ्चित नोक्सानीमा पनि उल्लेखनीय कमी आएको छ । साथै, संस्थाको पुँजी पर्याप्तता अनुपात (सिएआर) नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम आठ प्रतिशतको सीमाभन्दा माथि ११.६६ प्रतिशत कायम भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले नाफामा पुनरागमन, सञ्चित नोक्सानीमा आएको कमी तथा पुँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकको न्यूनतम सीमाभन्दा माथि पुर्याउन सफल हुनु संस्थागत सुधार यात्राका महत्वपूर्ण उपलब्धि भएको बताए ।