पश्चिम नेपालको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका– ९, ब्रह्मदेवमा रहेको ऐतिहासिक ‘५२ ढोके दरबार’ जीर्ण बन्दै गएको छ। महाकाली नदीको तटीय क्षेत्र तथा चुरेको फेदीमा रहेको यो ऐतिहासिक संरचना उचित संरक्षण, संवर्द्धन र रेखदेखको अभावमा अस्तित्व संकटमा परेको हो।
प्राचीन व्यापारिक नाकाका रूपमा परिचित ब्रह्मदेव मण्डीमा रहेको उक्त संरचना सयौँ वर्षअघि निर्माण भएको स्थानीयको भनाइ छ। मासको गारो तथा ढुंगैढुंगाबाट निर्मित संरचनाका कतिपय भाग जीर्ण बन्दै गएका छन्। समयमै संरक्षण नगरिए ऐतिहासिक सम्पदा नै लोप हुने स्थानीयको चिन्ता छ।
स्थानीयका अनुसार पञ्चायतकालमा ब्रह्मदेव मण्डीमा आगलागी हुँदा तत्कालीन राजदरबारबाट आगो निभाउन महाकाली नदीको पानी प्रयोग गर्न निर्देशन दिइएको कथनसमेत सुनिन्छ। यद्यपि, उक्त घटनासहित दरबारको निर्माण र प्रयोगसम्बन्धी तथ्यबारे स्थानीयस्तरमा फरक–फरक धारणा पाइन्छ।
स्थानीयवासीमध्ये कतिपयले नेपालमा नुनलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएका वेला उक्त भवन मण्डी तथा गोदामका रूपमा प्रयोग हुने गरेको बताउँछन्। अर्काथरीले भने तत्कालीन शासकहरूले भारतबाट आउने–जाने क्रममा उक्त भवनलाई आश्रय वा सेल्टरका रूपमा प्रयोग गर्ने गरेको दाबी गर्छन्।
गाउँका ज्येष्ठ नागरिक रायसिंह धामीका अनुसार पञ्चायतकालका सुब्बा स्वर्गीय जयदेव भट्टले भारतबाट ल्याइएको नुन राख्ने गोदामका रूपमा उक्त भवन प्रयोग गरेका थिए। नेपालमा नुन अभाव भएका वेला क्रान्तिकारी किसान नेता सहिद भीमदत्त पन्तले विद्रोह गरी त्यही दरबारबाट नुन कब्जा गरेर जनतालाई निःशुल्क वितरण गरेको स्थानीय कथनसमेत रहेको धामीले बताए।
स्थानीय जितबहादुर बमले ५२ ढोका भएको उक्त संरचना निजीभन्दा पनि सरकारी प्रकृतिको देखिने बताए। ‘५२ वटा ढोका एकै लहरमा छन्। यो निजीभन्दा पनि सरकारीजस्तै देखिन्छ,’ उनले भने, ‘मैले ४० वर्षअघि पनि यसलाई देखेको हुँ। अहिलेसम्म उस्तै छ। यसको संरक्षण गर्नुपर्छ।’
बमले उक्त संरचनाको वास्तविक इतिहास र निर्माणको उद्देश्यबारे विज्ञमार्फत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताए। एकै प्रकृति र एउटै लहरमा निर्माण गरिएको संरचना नागरिकस्तरको भन्दा राज्यस्तरबाट निर्माण भएको हुन सक्ने उनको भनाइ छ।
स्थानीय युवा अगुवा दीपेन्द्रसिंह ऐरीले जिल्लाकै महत्त्वपूर्ण ऐतिहासिक संरचना भएकाले राज्यका सम्बन्धित निकायले यसको संरक्षण गर्नुपर्ने बताए। ‘ब्रह्मदेव मण्डी वा ५२ ढोके दरबारका रूपमा परिचित यो संरचना संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘यसलाई अध्ययन, अवलोकन तथा पर्यटकीय केन्द्रका रूपमा समेत विकास गर्न सकिन्छ।’
ऐरीका अनुसार युवाहरूको अगुवाइमा शनिबार उक्त क्षेत्रमा सरसफाइसमेत गरिनेछ।
भीमदत्त नगरपालिका– ९ का वडाध्यक्ष गगन कार्कीले वडाभित्र रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणमा पहल गरिने बताए। उनका अनुसार ५२ ढोके दरबारको संरक्षणका लागि पुरातत्त्व विभागसँग समन्वय गरी आवश्यक पहल गरिनेछ।
वडाध्यक्ष कार्कीले पनि उक्त संरचना विगतमा मण्डीका रूपमा सञ्चालनमा रहेको आफूले सुनेको बताए। स्थानीयस्तरबाट संरक्षणको पहल सुरु हुन थालेसँगै अब यसको वास्तविक इतिहास, निर्माणकाल र प्रयोजनबारे विज्ञ तथा सम्बन्धित निकायबाट अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ।