सशस्त्र प्रहरी बलको गस्ती टोलीले सिरहाको सीमावर्ती औरही गाउँपालिका ४ खजनपुर गाउँबाट करिब ५० किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वाटर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार गणबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रबार बिहान करिब सवा ३ बजेतिर मोटरसाइकलमा लोड गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा ४९ किलो ७६० ग्राम प्रतिबन्धित गाँजा बरामद गरेका हो ।
गाँजा लोड भएको भारतीय बिआर ३२ एम ३०५७ नम्बरको मोटरसाइकलका चालक भने प्रहरीलाई देखेपछि फरार भएकाले मोटरसाइकल र गाँजा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेको उनले बताए।
साढे आठ क्वीण्टल गाँजासहित चार पक्राउ
पछिल्लो २३ दिनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्लाको छुट्टाछुट्टै ठाउँबाट आठ क्वीण्टल ४६ किलो ७१५ ग्राम गाँजा बरामदसँगै एक भारतीयसहित चार जना पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २२ साउनको बिहान इलाका प्रहरी कार्यालय लहान र महेशबारीबाट खटिएको संयुक्त गस्ती टोलीले सखुवानन्कारकट्टी गाउँपालिका ४ बाट ९१ किलो २५ ग्रामसहित एक जना पक्राउ गरेको थियो । त्यसको अघिल्लो दिन सोही क्षेत्रबाट इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको गस्ती टोलीले बोरामा प्याक गरिएको ५३ किलो ४६५ ग्राम प्रतिबन्धित गाँजा जस्तो पदार्थ बरामद गरेको थियो ।
त्यसअघि प्रहरीले ६ साउनमा लहान नगरपालिका ३ नयाँ बस्तीस्थित स्थानीयको घर कम्पाउण्डमा पार्किङ् गरेर राखिएको फलफूल लोड भएको पिकअप भ्यानबाट छ सय ५२ किलो गाँजा जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले स्थानीय श्यामकुमारी साहको घर कम्पाउण्डमा पार्किङ गरेर राखिएको बा.२१ च ५८६६ नम्बरको भ्यानको पछाडि नासपती हालिएको प्लाष्टिक क्रेटहरुमा ३१ वटा बोरा र दुई वटा प्लाष्टिकमा लुकाएको गाँजा जस्तो पदार्थ बरामद भएपछि एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको थियो ।