विद्युत् खपतमा नागरिकलाई मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योगीको सात अर्बबराबरको विद्युत् महसुल बक्यौता असुलीमा भने बेवास्ता गरेको छ । यसअघि केपी ओली नेतृत्व सरकारले बक्यौतामा छुट दिन खोज्दा प्रतिपक्ष बेन्चमा रहेको रास्वपाले बक्यौता असुल गर्नुपर्ने भन्दै संसद्मा चर्को आवाज उठाएको थियो । तर, अहिले झन्डै दुईतिहाइसहितको बहुमतको सत्तामा रहेको रास्वपाले बक्यौता असुलीमा तदारुकता देखाएको छैन ।
नयाँ सरकार गठनसँगै १९ जेठमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइनसहित नियमित महसुलको पुनरवलोकन गर्ने गरी सञ्चालक कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरवलोकन समिति गठन गरेको थियो । पुनरवलोकन समितिले ३५ दिनभित्र निर्णय दिनुपर्ने भए पनि दुई महिना बितिसक्दा पनि उद्योगीको बक्यौताको विषयमा प्रवेश नै नगरेको स्रोतको भनाइ छ । समितिले अन्य नियमित विद्युत् महसुलसम्बन्धी आउने गुनासोमा भने सुनुवाइ गरिरहेको छ । अहिले नेपाल विद्युत् प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ छन् ।
लोडसेडिङका वेला प्राधिकरणले थप ६५ प्रतिशत प्रिमियम शुल्क तिर्ने सर्तमा उद्योगहरूलाई ट्रंकलाइनबाट २० घण्टा र डेडिकेटेड फिडरबाट २४ घण्टासम्म विद्युत् दिएको थियो । त्यसरी विद्युत् प्रयोग गर्ने ग्राहक दुई सय ५० भन्दा बढी थिए । तर, केही उद्योगले विद्युत् खपतको प्रमाण खोज्दै बक्यौता तिर्न आनाकानी गर्दै आएका छन् । प्राधिकरणले लगसिट तथा टिओडी मिटरको स्ट्यान्ट ट्यानस तथ्यांक दिएर बक्यौता असुल गर्न ताकेता गर्दै आएको छ । ०७२ यताकै यो विवाद अझै समाधान हुन सकेको छैन ।
प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ४६ उद्योगबाट माघ ०७२ देखि वैशाख ७५ सम्म लगभग सात अर्ब बक्यौता असुल गर्न बाँकी छ । यसअघि मन्त्रिपरिषद्, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको कार्यालय, अदालत, विद्युत् नियन आयोगलगायतका निकायले बक्यौता उठाउनुपर्ने भने पनि त्यसले पूर्णता पाउन सकेको छैन ।
प्रशासकीय पुनरवलोकन समितिका संयोजक कृष्ण बसेलले उद्योगीको विद्युत् बक्यौता असुलीको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको बताए । ‘हामीले यसअघि नै यो बक्यौता उठाउँछौँ भनेर भनिसकेकै अवस्था हो । त्यसका लागि एकपटक पुनरवलोकन प्रक्रिया पनि अघि बढाउने भन्ने विकल्पमा छलफल भएको छ । तर, विद्युत् वितरण विनियमावली, २०७८ अनुसार बिल जारी भएको ३५ दिनभित्र ग्राहक पुनरवलोकन प्रक्रियामा आउनुपर्ने हुन्छ । त्यो समयसीमा बितिसकेको छ । यसअघि यस्तै कारण देखाउँदै पुनरवलोकन गर्न नमिल्ने प्रतिवेदन पनि आएको रहेछ । ऊर्जामन्त्री र प्राधिकरणको कार्यकारी निर्देशक परिवर्तन हुँदा पनि यससम्बन्धी निर्णय परिवर्तन भइरहेका रहेछन्,’ उनले भने, ‘त्यो अवस्थामा अब कसरी अघि बढ्ने भनेर छलफल भइरहेको छ । यसको कानुनी र व्यावहारिक पक्ष हेरेर उचित उपाय निकाल्ने गरी छलफल भइरहेको छ ।’
पुनरवलोकनका लागि विनियमावलीले दिएको समयसीमा सकिएको छ । तर, व्यावहारिक पक्षलाई समेत हेरेर यसमा उचित निकास निकाल्ने गरी छलफल भइरहेको उनले बताए ।
‘राज्यको ढुकुटीमा आउने पैसा हो । यसलाई न्यायोचित हिसाबले नै अघि बढाउने प्रयासमा छौँ । एकपटक पुनरवलोकन प्रक्रियामा आउन मौका दिने गरी छलफल भइरहेको छ,’ उनले भने, ‘त्यसपछि सोहीअनुसार यसको काम–कारबाही अघि बढ्छ ।’ पुनरवलोकनका लागि अब छिट्टै सार्वजनिक सूचना निकाल्न सकिने उनले बताए ।
नौ महिनायता बक्यौता असुली ठप्प
विगत नौ महिनादेखि बक्यौता असुली ठप्प छ । उद्योगमा लाइन नै काटिएपछि पछिल्लोपटक गत कात्तिकमा उद्योगीहरू बक्यौता तिर्ने प्रक्रियामा आएका थिए । उद्योगीले पहिलो किस्ता तिर्ने र त्यसलाई नै धरौटी मानेर न्यायिक प्रक्रिया अघि बढाउने भनिएको थियो । तर, त्यसपछि प्राधिकरणले न्यायिक प्रक्रिया पनि अघि बढाएन । उद्योगीहरू पनि बक्यौता तिर्न आएनन् । पछिल्लोपटक गत चैतमा उद्योगीलाई बक्यौता तिर्न पत्र काटिए पनि उनीहरू सम्पर्कमा आएनन् । त्यसमा प्राधिकरणले पनि थप ताकेता गरेको छैन । पछि पुनरवलोकन समिति गठन भएपछि असुलीको प्रक्रियामै ब्रेक लाग्यो ।
यी हुन् बक्यौता तिर्नुपर्ने उद्योग र बक्यौता रकम