मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार o९:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै खगराज भट्ट, आजै सपथ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o९:२२:oo

सुदूरपश्चिममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्दै छन् । भट्टले नेकपा एमालेको समर्थनमा आज मुख्यमन्त्रीमा दावी पेश गर्दै छन् । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दावी पेश गर्न बिहान ११ बजेसम्मको समय दिएका छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका हुन् ।

मुख्यमन्त्री बन्न लागेका भट्टले निर्धारित समयभन्दा केही अगाडि प्रदेश प्रमुखसमक्ष दावी पेश गर्ने तयारी रहेको बताए । ‘प्रदेश प्रमुखले ११ बजेसम्मको समय दिनु भएको छ, केही समय अगाडि जानुपर्ला’ उनले भने । प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्रीको सपथ आजै दिउँसो ३ बजे राखेको छ ।

राजनीतिक अस्थिरताका कारण सुदूरपश्चिममा प्रदेश सभाको दोस्रो कार्यकालको करिब साढे ३ वर्षको अवधिमा पाँचौ सरकार गठन हुँदैछ । भट्ट पाँचौ मुख्यमन्त्री बन्न लागेका हुन् । यसअघि तीन जना चार पटक मुख्यमन्त्री बनेका छन् ।

हिजो राजीनामा दिएका मुख्यमन्त्री कमलबहादुर शाह दुई पटक मुख्यमन्त्री बनेका थिए । त्यस्तै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तथा तत्कालीन एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घ सोडारी पनि मुख्यमन्त्री बनिसकेका छन् ।

दुई कार्यकाल गरी शाहले तीन वर्षभन्दा बढी समय सरकारको नेतृत्व गरेका छन् । रावलले एक महिना र सोडारीले करिब तीन महिना सरकारको नेतृत्व गरे । काँग्रेस र एमालेको गठबन्धन टुटेपछि प्रदेशमा नयाँ सरकार गठन हुन लागेको हो ।

५३ सदस्यीय प्रदेश सभामा हाल एक निलम्बनसहित ५२ सदस्य कायम छन् । सरकार गठनका लागि २७ सदस्यको समर्थन आवश्यक रहेकोमा नेकपा र एमालेको स्पष्ट बहुमत छ । नेकपाका एक निलम्बितसहित २१, काँग्रेसका १८, एमालेका ११ र राप्रपाका एक सांसद छन् । सभामुख भीमबहादुर भण्डारी पनि तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुन् ।