जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजना तथा विभागअन्तर्गत सञ्चालित अन्य आयोजनाको प्रगतिको अनुगमन गर्न विशेष संयन्त्र बनाएको छ । लामो समयदेखि सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाले लक्षित प्रगति हासिल गर्न नसकेको, निर्धारित समयावधि नाघेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न विभागले सो संयन्त्र निर्माण गरेको हो ।
यसमार्फत आयोजनाको स्थलगत प्रगति, भौतिक तथा आर्थिक अवस्था, निर्माणको समयतालिका, प्रमुख समस्या र समाधानका लागि चालिएको कदमको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विभागबाट नियमित अनुगमन तथा समन्वय हुनेछ ।
यसै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको प्रगति, आगामी कार्ययोजना तयार गर्न आगामी साता सबै आयोजना प्रमुखहरूसँग बैठकसमेत आह्वान गरेका छन् ।
प्रारम्भिक चरणमा विभागअन्तर्गतको महाकाली (तेस्रो) सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना तथा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई प्राथमिकतामा राखेर अनुगमन गर्ने योजना रहेको छ ।