रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक विवादित कुरिल टापु शृंखलाको भ्रमण गरेका छन् । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनले बिहीबार टापु शृंखलामा पर्ने इतुरुप द्वीपको भ्रमण गरेका थिए । जापानले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको यस विवादित टापु शृंखलाको भ्रमणका क्रममा पुटिनले त्यस भेगमा रहेको रुसको प्रशान्त महासागरस्थित नौसैनिक बेसको प्रमुख युद्धपोतको निरीक्षण गरेका थिए । त्यस्तै, पुटिनले द्वीपका स्थानीय बासिन्दासँग कुराकानी गर्नुका साथै माछाको अन्डाबाट बनेको परिकारको स्वाद लिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।
कुरिल द्वीप शृंखला जापानको उत्तरी होक्काइडो र रुसको कामचाट्का प्रायद्वीपबिच अवस्थित छ । दक्षिणी चार द्वीपलाई जापानले उत्तरी क्षेत्र भनेर दाबी गरेको छ । तर, यी द्वीप अहिले रुसबाट प्रशासित छन् । कुरिल द्वीपहरू सैन्य दृष्टिले रुसका लागि निकै महत्वपूर्ण छन् । पुटिनको भ्रमणप्रति जापानले कडा विरोध जनाएको छ । पुटिनको भ्रमणको स्वयं जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले पनि विरोध जनाए । यी टापु शृंखला दोस्रो विश्वयुद्धको अन्त्य अर्थात् सन् १९४५ मा तत्कालीन सोभियत संघले कब्जा गरेको थियो । सोभियत नियन्त्रणपछि पनि यस भूभागलाई लिएर मस्को र टोकियोबिच दशकौँदेखि विवाद रहँदै आएको छ ।
सन् २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरीय युद्ध सुरु गरेपछि दुई देशबिचको सम्बन्ध थप बिग्रिएको छ । जापानले युक्रेनमाथिको रुसी आक्रमणको विरोध गर्दै मस्कोमाथि पश्चिमी मुलुकसँग मिलेर विभिन्न प्रतिबन्ध लगाएको छ । सन् १९४५ मा टापु कब्जा गरेपछि मस्कोले त्यहाँ बसोवास गरिरहेका करिब १७ हजार जापानी नागरिकलाई विस्थापित गरेको थियो । अहिले ती टापुमा बसाइँसराइ गरेर आएका करिब २० हजार रुसी नागरिक बसोवास गर्छन् । शीतयुद्धभरि सोभियत संघले ती टापुहरूमा सैन्य तथा हवाई आधार बनाएर प्रतिद्वन्द्वी अमेरिकाको प्रमुख प्रशान्त सहयोगी जापानमाथि निगरानी गर्ने गरेको थियो ।