खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारबाट सिंहदरबारभित्र सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उक्त पसलसँगै देशभर बिहीबारबाटै सुपथ मूल्य पसल सुरु भएको र वर्षैभर सञ्चालन हुने कम्पनीले जनाएको छ ।
सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बिचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्रीकक्षको बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्घाटनसमेत गरेकी छिन् । सिंहदरबारभित्रका कर्मचारीलाई लक्षित गरी सो पसल सञ्चालनमा ल्याइएको हो । उक्त बिक्री कक्षमा करिब एक सय २४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्री–वितरणका लागि राखिएको छ ।
बजारमा खाद्यवस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धि र उपभोक्तामाथिको आर्थिक भार कम गर्ने उद्देश्यसहित बिक्री कक्ष सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । उद्योगमन्त्री यादवले बिक्रीकक्षको उद्घाटन गर्दै उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको बताइन् ।
खाद्य कम्पनीले ब्राउन चामल, अरुवा सोना मन्सुली चामल, स्टमी जिरा मसिनो चामल, बासमती चामल, चिनोको चामल, मास दाल, रहर दाल, हुम्लाको फापर, जुम्लाको मार्सी चामल, कर्णालीको सिमी, मुसुरो दाल, डिडिसी घिउ, आयोनुनलगायतका उत्पादन बिक्री गर्दै आएको छ ।