सरकारले राहदानी, सवारीचालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्याउन थालेको छ । नयाँ सरकार गठन भएपछि हालसम्म करिब १० हजार थान महत्वपूर्ण कागजपत्र नागरिकको घरदैलोमा वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार २७ साउन ०८३ सम्म ७६ जिल्लाका प्रशासन कार्यालयमा दुई लाख ४७ हजार ४३ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ । तीमध्ये आठ हजार ६ सय ६९ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्याएर वितरण गरिएको छ । त्यसैगरी, सवारीचालक अनुमतिपत्रतर्फ यातायात व्यवस्था विभागबाट १० लाख ३८ हजार आठ सय आठ थान सातै प्रदेशका यातायात व्यवस्था कार्यालयमा हुलाकमार्फत पुर्याइएको छ । तीमध्ये एक हजार ९९ थान अनुमतिपत्र सेवाग्राहीको घरदैलोमै पुर्याइएको विभागले जनाएको छ ।
नयाँ सरकार गठनपछि मन्त्रिपरिषद्को पहिलो निर्णयबाट कार्यान्वयनमा ल्याइएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ तथा सूचना तथा सञ्चार मन्त्रालयको कार्यक्षेत्रअन्तर्गतका प्रमुख १० कार्यमध्ये हुलाकलाई सरकारी सामग्री तथा कागजात ढुवानी सेवाका रूपमा विकास गर्ने लक्ष्य लिइएको थियो । सोहीअनुसार हालसम्म उल्लेखनीय प्रगति भएको हुलाक सेवा विभागले जनाएको छ ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार हालसम्म हुम्लाबाहेक अन्य जिल्लामा सरकारी कागजात घरमै पुर्याउने सरकारको योजना लागू भइसकेको छ । हुम्लामा पनि कार्यान्वयनको अन्तिम तयारी भइरहेको उनले बताए । सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गर्दै राहदानी, नागरिकताको प्रतिलिपि, सवारीचालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात र सामग्री घरघरमै पुर्याउने व्यवस्था सफल रूपमा कार्यान्वयन भइरहेको महानिर्देशक पंगेनीले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रमअनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्ने अभियानसमेत अघि बढाइएको छ । यसका लागि आवश्यक मापदण्ड स्वीकृत गरी ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित आधुनिक हुलाकका रूपमा विकास गर्न छनोट गरिएको छ । त्यसैगरी, स्वास्थ्य सेवा विभागसँग औषधिजन्य सामग्री ढुवानीका लागि सम्झौता गर्ने विषयमा प्रारम्भिक छलफल सम्पन्न गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
कुन–कुन सामग्री पुर्याइयो ?
शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्याउने व्यवस्थाअन्तर्गत नेपाल खुला विश्वविद्यालय र हुलाक सेवा विभागबिच गत असार ८ गते सम्झौता भई सेवा कार्यान्वयनमा आएको छ । त्रिभुवन विश्वविद्यालयसँग पनि यस्तै सम्झौता गर्नका लागि छलफल भइरहेको छ । स्वास्थ्य क्षेत्रमा पनि हुलाक सेवाको प्रयोग विस्तार भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सम्झौताअनुसार १७ वटा अस्पतालका एक हजार चार सय ८० वटा प्रयोगशाला नमुना ढुवानी गरिएको छ । स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रसँग भएको सम्झौताअनुसार ४४ हजार एक सय ८४ थान सामग्री पनि हुलाकमार्फत ढुवानी गरिएको छ । यस्तै, स्वास्थ्य बिमा बोर्डसँगको सम्झौताअनुसार २८ भन्दा बढी जिल्लास्थित स्वास्थ्य बिमा कार्यालयमा एक सय ३० बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको विभागले जनाएको छ ।
हाल सिमकार्डबाहेक नेपाल टेलिकमका अन्य सामग्री पनि हुलाक सेवामार्फत ढुवानी भइरहेको छ । भूमि व्यवस्था तथा अभिलेख विभाग र हुलाक सेवा विभागबिच साउन ८ गते सम्झौता भई जग्गाधनी पुर्जा, सरकारी कागजातलगायत सामग्री ढुवानी तथा वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
सवारीचालक अनुमतिपत्र घरदैलोमै पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र हुलाक निर्देशनालय, सुर्खेतबिच समझदारीपत्रमा हस्ताक्षर भई सेवा सुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा पनि यस्तै सेवा विस्तार गर्न छलफल भइरहेको विभागले जनाएको छ ।