मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
कमलराज भट्ट काठमाडौं
गणेश लम्साल विराटनगर
२o८३ श्रावण १६ शनिबार o६:३१:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मत्थर बन्दै तराई–मधेशको तनाव

Read Time : > 6 मिनेट
कमलराज भट्ट, काठमाडौं
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार o६:३१:oo
  • हिन्दु–मुस्लिम धार्मिक अगुवाहरूले सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् भने तराई–मधेशमा ‘हिन्दु, मुस्लिम, बौद्ध, शिख, इसाई, आपसमे सब भाइ–भाइ’को नारासहित सद्भाव र्‍याली निकालिएका छन् 

तराई–मधेशमा एक सातादेखि जारी तनाव शुक्रबार केही मत्थर भएको छ । काठमाडौंबाट हिन्दु–मुस्लिम धार्मिक अगुवाहरूले साम्प्रदायिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् भने तराई–मधेशका विभिन्न जिल्लामा सद्भाव र्‍याली निकालिएका छन् । प्रधानमन्त्रीदेखि सत्तारूढ रास्वपा सभापतिसहितका अन्य दलहरूले पनि तनाव न्यूनीकरणका लागि संवाद जारी राखेका छन् । यद्यपि, केही ठाउँमा प्रदर्शन भएका छन् ।

सुनसरीको कप्तानगन्जमा गत आइतबार राति भएको झडपका क्रममा ज्यान गुमाएका २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको शव आफन्तले बुझेर शुक्रबार दाहसंस्कार गरेका छन् । गृहमन्त्री सुधन गुरुङ आफैँ देवानगन्ज पुगेर बिहीबार राति परिवारसँग सातबुँदे सम्झौता गरेपछि आफन्तले शव बुझेका थिए ।

सिराहाको गोलबजारमा बिहीबार प्रहरीको गोलीबाट ज्यान गुमाएका औरही गाउँपालिका– २ तुलसीपुरका १७ वर्षीय गणेश यादवको शव भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ । गृहमन्त्री सुधन गुरुङ कप्तानगन्जझैं तुलसीपुर गएर पीडित परिवारसँग भेट्ने र सम्झौता गरी शव बुझाउने तयारी छ । उनी मध्यराति लहान पुगेका छन् ।

सुनसरी २ का सांसद लालविक्रम थापाका अनुसार कप्तानगन्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश र जयप्रकाश दाहसंस्कारमा ठुलो संख्यामा स्थानीय सहभागी थिए । त्यसअघि विराटनगरमा रहेको कोशी अस्पतालमा शवको पोस्टमार्टम गरेर शवयात्रा गर्दै कप्तानगन्ज पुर्‍याइएको थियो । ओमप्रकाशको गत आइतबार राति र जयप्रकाशको उपचारका क्रममा बिहीबार विराटनगरमा ज्यान गएको थियो । गृहमन्त्री गुरुङले बिहीबार राति विराटनगर पुगेर उपचारत घाइते र देवानगन्ज पुगेर घटनामा ज्यान गुमाएका र घाइतेका परिवारसँग छलफल गरेपछि सम्झौता गरेका थिए ।

गृहमन्त्री गुरुङ र मृतकका आफन्तबिच भएको सम्झौताअनुसार ओमप्रकाश र जयप्रकाशलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने उल्लेख छ । त्यस्तै, घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने, मृतकका परिवारका एक सदस्यलाई रोजगारी दिने, स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क बनाउनेलगायत उल्लेख छ । यसअघि देवानगन्ज गाउँपालिकाले पनि मृतकका परिवारलाई १० लाख र घाइतेलाई अवस्था हेरेर ५० हजारदेखि दुई लाखसम्म क्षतिपूर्ति दिने निर्णय गरेको थियो । कोशी प्रदेश सरकारले पनि मृतकका परिवारलाई दुई लाख र घाइते तथा प्रभावित परिवारलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिसकेको छ । कप्तानगन्जमा गत आइतबार राति डिजेबाजाका विषयमा युवाहरूबिच विवाद हुँदा झडप भएको थियो । तनावलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । घटनामा गोली लागेर घाइते भएका सातजनामध्ये एकजनाको अवस्था गम्भीर छ । घाइतेहरूको विराटनगरको न्युरो, विराट नर्सिङ र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

साम्प्रदायिक सद्भाव कायम राख्न हिन्दु–मुस्लिम धार्मिक अगुवाहरूको संयुक्त अपिल
सुनसरीबाट फैलिएको हिंसा बढ्दै गएपछि रास्वपा सभापति रवि लामिछानेले विभिन्न पक्षसँग संवाद थालेका थिए । सोही क्रममा उनले शुक्रबार बिहान साम्प्रदायिक सद्भाव कायम राख्न हिन्दु–मुस्लिम धार्मिक अगुवाहरूसँग छलफल गरेका थिए । त्यसपछि अगुवाहरूले संयुक्त अपिल जारी गर्दै सदियौँदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्‍याउन भइरहेका विभिन्न क्रियाकलापहरूप्रति सचेत रहन आग्रह गरेका थिए । सद्भावका लागि एकै ठाउँमा आएका धार्मिक अगुवाहरूले भनेका छन्– ‘नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो । यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान राष्ट्रिय एकता र पहिचानका आधार हुन् । कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्नुहुँदैन भन्नेमा हामी स्पष्ट छौँ । विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका वेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गर्दछौँ ।’ 

सामाजिक सद्भावका लागि विराटनगर, सिराहा र सप्तरीमा र्‍याली 
सामाजिक सद्भावका लागि देशका विभिन्न क्षेत्रमा सद्भाव र्‍याली निकालिएको छ । बिहीबार एक युवकको ज्यान जाने गरी भएको घटनापछि तनावग्रस्त बनेको सिराहा तथा छिमेकी जिल्ला सप्तरीमा शुक्रबार सद्भाव र्‍याली निकालिएको छ । राजनीतिक दलसँगै उद्योग वाणिज्य संघका स्थानीय प्रतिनिधिले शुक्रबार मिर्चैयाको कटारी चोकमा र्‍याली निकालिएका थिए । वक्ताहरूले सदियौँदेखि सामाजिक सद्भावसहित मिलेर बस्दै आएका बहुभाषिक, बहुधार्मिक समुदायमाथि खेल्नेहरूविरुद्ध सजग हुनुपर्ने बताए । सप्तरीको खडक नगरपालिका– ७, कल्याणपुर बजारमा पनि सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको छ । नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले सामाजिक एकता नै देशको बल भएको सहभागीहरूको भनाइ थियो । लहानमा बजारमा भने शनिबार दिउँसो सद्भाव र्‍याली निकालिने भएको छ । त्यस्तै, सुनसरीको छिमेकी सहर विराटनगरमा पनि बृहत् र्‍याली निकालिएको छ । विराटनगरको महेन्द्र चोकबाट निस्किएको र्‍याली ट्राफिक चोक, बुधहाट चोक, जलजला मोड, गोल्छा मोड हुँदै डाँफे चोकसम्म परिक्रमा गरेको थियो । सद्भाव र्‍यालीले सबै धर्म–समुदायका मानेर एकतामा प्रतिबद्ध रहेको सन्देश दिएको नेकपाका केन्द्रीय सदस्य वसिम आलमले बताए । र्‍यालीमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मोरङमा सामाजिक एकता कायम रहेको भनेर सद्भाव र्‍यालीले सन्देश दिएको बताए ।

गोलबजार घटनाको छानबिन गर्न समिति

गोलबजार घटनाको छानबिनका लागि मधेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । मधेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा रहेको छानबिन समिति गठन गरिएको हो । छानबिन समितिले शुक्रबारदेखि नै घटनास्थल पुगेर छानबिन थालेको उनले बताए ।

मधेशबाट ३८ जना पक्राउ 
सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले मधेशबाट ३८ जना पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार सिराहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषामा २१ जना रहेको मधेश प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले बताए । सर्लाहीमा नौ, सिराहामा पाँच, महोत्तरीमा दुई र पर्सामा एकजना पक्राउ परेको उनले बताए ।

सामाजिक सद्भाव र सुरक्षा व्यवस्था सुदृढ बनाउन मधेश सरकारको सातबुँदे निर्देशन 
मधेश प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव र सुरक्षा व्यवस्था सुदृढ बनाउन पालिकाहरूलाई सातबुँदे निर्देशन जारी गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार प्रदेशका सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रदेश सुरक्षा समन्वय समितिको बिहीबारको बैठकका निर्णय तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो । निर्णयअनुसार प्रदेशदेखि वडा तहसम्म राजनीतिक दललाई सक्रिय संवाद र समन्वयमा परिचालन गरिनेछ । साम्प्रदायिक रूपमा संवेदनशील विषयलाई संवादमार्फत समाधान गर्न जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।

यस्ता घटना नदोहोरिने गरी कदम चाल्न प्रधानमन्त्रीलाई मधेशी दलहरूको आग्रह

तराई–मधेशमा देखिएको साम्प्रदायिक तनाव काम गर्ने प्रयासस्वरूप मधेशकेन्द्रित दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेका छन् । बिहीबार सत्तापक्षका सभापति रवि लामिछानेलाई भेटेर साम्प्रदायिक सद्भाव कायम गर्न आठबुँदे संयुक्त ध्यानाकर्षणपत्र बुझाएका उनीहरूले शुक्रबार प्रधानमन्त्री शाहसँग भेट गरी सोही ध्यानाकर्षणपत्र हस्तान्तरण गर्दै आफ्ना सुझाव र माग प्रस्तुत गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न पुगेका मधेशकेन्द्रित दलका नेताहरूले साम्प्रदायिक तनाव नियन्त्रण, पीडितलाई न्याय, दोषीमाथि निष्पक्ष छानबिन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले सरकारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । यस्तै, उनीहरूले सबै नागरिकलाई संयम, धैर्य र सामाजिक एकता कायम राख्न अपिल गरेका छन् ।

छलफलमा प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष छानबिन, पीडितलाई राहत तथा क्षतिपूर्ति, दोषीलाई कानुनी दायरामा ल्याउने र शान्ति–सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा मधेशमा शान्ति–सुरक्षा कायम राख्ने, साम्प्रदायिक सद्भाव सुदृढ गर्ने तथा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे विमर्श भएको थियो । भेटमा जसपा नेपालका महन्थ ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम अन्सारी, संविधानसभा सदस्य राम के शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, रास्वपाका सांसद अमरेशकुमार सिंह, जसपाका नेता शरत्सिंह भण्डारी र जनमत पार्टीका अध्यक्ष जयकान्त राउतलगायत नेता सहभागी थिए ।

त्यस्तै, भेटमा नेताहरूले रास्वपाको चितवन महाधिवेशनमा संघीयता खारेज गर्ने विषय प्रस्तुत भएकाले त्यस सन्दर्भमा रास्वपा र प्रधानमन्त्रीको दृष्टिकोण प्रस्ट हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । त्यसपछि प्रधानमन्त्रीले आफू कहिल्यै संघीयताविरोध नरहेको प्रस्ट्याएको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष महतोले बताए । ‘कतिपयले स्वार्थसिद्धिका लागि हिन्दु राज्य र राजसंस्थाको चर्चा ल्याएको हुन सक्छ, हिन्दु धर्म जोडिएपछि राजसंस्था जोडिएर आउन पनि सक्ला, तर देशका लागि त्यो बाटो ठिक छैन, ठिक हुँदैन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक नेताले भने, ‘सरकार अहिलेकै बाटोबाट अगाडि बढ्छ ।’

चितवन महाधिवेशनको दस्ताबेजमा संघीयता खारेज गर्ने भनेर राखिएको प्रस्तावबारे आफूहरूले प्रधानमन्त्रीसँग जिज्ञासा राखेको नेता महतोले बताए । ‘तर, प्रधानमन्त्रीले प्रस्टसँग म संघीयताविरोधी छु भन्ने कुरा सपनामा पनि नसोच्नुहोला । बाहिर जे आइरहेको छ, त्यो गलत कुरा हो भनेर राम्रोसँग प्रस्ट्याउने काम गर्नुभो,’ महतोले भने । भेटमा प्रदेशहरूले सबै अधिकार प्रयोग गर्न पाउनुपर्ने विषय पनि उठान गरिएको उनले जानकारी दिए । यस्तै, उनले विगतका सरकारले मधेशसँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिइएको जानकारी दिए ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अवकाशप्राप्त सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको निष्पक्ष अनुसन्धान गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको बताए । बल प्रयोग मात्र दीर्घकालीन समाधान नभएको उल्लेख गर्दै उनले नेपाली सेना र नेपाल प्रहरीले पनि त्यसलाई आत्मसात् गर्नुपर्ने धारणा राखे । साथै, प्रत्येक जिल्लामा अन्तर्धार्मिक सद्भाव तथा संवाद संयन्त्र गठन गरी सम्भावित तनावलाई समयमै व्यवस्थापन गर्ने संयन्त्र विकास गर्नुपर्ने सुझाव दिएको सुनाए ।

आम जनता पार्टीका अध्यक्ष साहले मधेशमा शान्ति सुरक्षाको अवस्था बलियो बनाउन, साम्प्रदायिक दंगा रोक्न ध्यानाकर्षण गराए । ‘सुनसरी घटनामा सम्झौता भए पनि दंगा रोकिएन, त्यसमा रणनीतिक ढंगले सरकारले काम गरोस्, हामी पनि सहयोग गर्न तयार छौँ,’ छलफलमा साहको भनाइ थियो ।

नेताहरूले सद्भाव भड्काउन खेल्ने तत्वहरू पनि सक्रिय भएको हुन सक्ने र कतै न कतै राज्यका संयन्त्रहरूको संलग्नतामाथि पनि आशंका गरेका थिए । बैठकमा प्रधानमन्त्रीले समयमै राष्ट्रका नाममा अपिल गर्दै गृह प्रशासनलाई सक्रिय बनाएर सम्झौता गरेको भए अहिलेको अवस्था पनि नआउने विषयतर्फ पनि मधेशकेन्द्रित दलका नेताहरूले कुरा उठाएका थिए ।

तराईका जिल्लामा चार एआइजीसहित १५ उच्च प्रहरी अधिकारी परिचालन
नेपाल प्रहरीले सुनसरी घटनापछि तराई–मधेशमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै चार अतिरिक्त महानिरीक्षक (एआइजी) सहित १५ जना उच्च प्रहरी अधिकारीलाई तराईका विभिन्न जिल्लामा विशेष जिम्मेवारीसहित परिचालन गरेको छ । सुनसरीमा दुई समुदायबिच भएको हिंसात्मक घटनापछि तराईका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव फैलिन थालेपछि प्रहरीले उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाएको हो ।

प्रहरीले सुरक्षा सतर्कता बढाउँदै सम्भावित जोखिम नियन्त्रण, शान्ति–सुरक्षा कायम राख्ने तथा स्थानीय प्रशासनसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालेको जनाएको छ । सुनसरी घटनापछि विकसित सुरक्षा परिस्थिति मध्यनजर गर्दै शान्ति–सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन प्रदेश तथा जिल्लामा विशेष जिम्मेवारीसहित उनीहरूलाई खटाइएको हो ।

प्रहरी मुख्यालयका अनुसार खटाइएका अधिकृतहरूले प्रहरी जनशक्ति तथा स्रोत–साधन परिचालनको प्रभावकारिता मूल्यांकन गर्ने, आवश्यक नीति निर्देशन दिने, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने, सूचना संकलन तथा विश्लेषण गर्ने तथा आवश्यकताअनुसार फिल्डमा समेत परिचालित हुने जिम्मेवारी दिइएको प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए । उनीहरूले सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण पनि गर्नेछन् ।

यसका साथै स्थानीय तहमा देखिएका सुरक्षासम्बन्धी समस्या तथा गुनासो सुन्ने, विकसित परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिई समयमै सामान्यीकरणका लागि आवश्यक समन्वय गर्ने र आवश्यकताअनुसार प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पेस गर्ने दायित्व पनि उनीहरूलाई दिइएको छ ।

प्रहरीले जिम्मेवारी तोकेका अधिकृतहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु र ईश्वर कार्कीलाई कोशी प्रदेशमा खटाइएको छ । यस्तै, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई सिराहा र अविनारायण काफ्लेलाई सप्तरीमा पनि जिम्मेवारी दिइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराई सर्लाही, सोमेन्द्रसिंह राठौर पर्सा, दीपशमशेर जबरा रौतहट, नवराज अधिकारी चितवन, कृष्णप्रसाद पंगेनी महोत्तरी, होविन्द्र बोगटी बारा, ज्ञानेन्द्रप्रसाद फुयाँल मोरङ, भुवनेश्वर तिवारी धनुषा तथा अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साम्म्रदायिक घटना बढ्न थालेपछि उच्च अधिकारी फिल्डमा खटिएका हुन् । आइतबार राति सुनसरीमा दुई समुदायबिच भएको झडपपछि अन्य जिल्लामा पनि फैलँदै गएपछि शान्ति–सुरक्षामा समस्या भएको हो ।