मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
२o८३ श्रावण १६ शनिबार १o:१९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अन्ततः एमाले बागमतीमा जगन्नाथ थपलियामै सहमति

बामगठबन्धनले थपलियालाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार १o:१९:oo

लामो आन्तरिक कसरत, शक्ति परीक्षण र नेतृत्व विवादपछि एमालेले अन्ततः बागमती प्रदेश सरकारको नेतृत्व वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियालाई नै सुम्पिने निर्णय गरेको छ ।

एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठले दलभित्र नेतृत्व परिवर्तनको तीव्र दबाबका बीच अन्तिम समयमा थपलियामै सहमति जुटेको बताए । उनले अब बामगठबन्धनको तर्फबाट थपलियालाई नै बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिने स्पष्ट पारे ।

‘जगन्नाथ थपलिया नै एमाले बागमती प्रदेशको संसदीय दलको नेता हो । त्यसकारण दायाँबायाँ नगरी तत्कालको परिस्थितिलाई बुझेर उहाँलाई नै मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय भएको छ,’ उनले भने ।

केन्द्रमा नेकपा र एमालेबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएपछि दलभित्र मुख्यमन्त्रीको प्रतिस्पर्धा चर्किएको थियो । संसदीय अभ्यासअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परम्परा रहे पनि दलभित्रको ठूलो समूहले नेतृत्व परिवर्तनको माग गरेपछि केही दिनयता एमालेभित्र शक्ति संघर्ष देखिएको थियो ।

गत साउन ९ गते एमाले–नेकपाबीच बागमती सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि संसदीय दलको नेतृत्व परिवर्तनको अभियान सुरु भएको थियो । वर्तमान नेता थपलियाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सचिव महेश बस्नेत निकट समूहले नेतृत्व परिवर्तनका लागि हस्ताक्षर अभियान नै चलाएको थियो । स्रोतका अनुसार २५ सदस्यीय एमाले संसदीय दलमध्ये १९ सांसदले किरण थापा मगरलाई नयाँ संसदीय दलको नेता बनाउन हस्ताक्षर गरेका थिए ।

अर्कोतर्फ, एमाले उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले केशव पोखरेललाई दलको नेता बनाउने प्रयास गरिरहेको थियो । यसले एमालेभित्र तीन नेताबीच त्रिकोणात्मक प्रतिस्पर्धा सिर्जना भएको थियो ।

काठमाडौंमा पटक–पटक छलफल
दलभित्रको विवाद समाधान गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूबीच काठमाडौंमा पटक–पटक छलफल भएको थियो । सहमतिबाट नेतृत्व टुंग्याउने प्रयास भए पनि सुरुआतमा कुनै निष्कर्ष ननिस्किएपछि संसदीय दलभित्र निर्वाचनसम्मको तयारी गरिएको थियो ।

नेतृत्व परिवर्तनको पक्षमा बहुमत सांसद खुलेपछि थपलियाको राजनीतिक भविष्य अन्योलमा परेको विश्लेषण भइरहेको थियो । तर अन्तिम समयमा केन्द्र नेतृत्वले दल विभाजन हुने जोखिम नलिने निष्कर्ष निकाल्दै वर्तमान दलका नेता थपलियालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको प्रमुख सचेतक श्रेष्ठले बताए ।

एमालेभित्रको विवाद निर्वाचनसम्म पुगे दल विभाजित हुने र नयाँ सरकार गठनमै असर पर्ने निष्कर्ष शीर्ष नेतृत्वले निकालेको उनको भनाई छ । सत्ता साझेदार नेकपासँग भएको सहमति कार्यान्वयनलाई प्राथमिकता दिँदै तत्काल सरकार गठन गर्ने रणनीतिअनुसार संसदीय दलको नेतृत्व यथावत् राख्ने निर्णय गरिएको उनले बताए । ‘दलको नेता परिवर्तन गर्दा संसदीय दलभित्र थप ध्रुवीकरण हुने, सरकार गठन प्रक्रिया लम्बिने र नयाँ गठबन्धनमै नकारात्मक सन्देश जाने आकलनपछि थपलियालाई निरन्तरता दिने निर्णय भएको हो,’ उनले स्पष्ट पारे ।

थपलिया सातौँ मुख्यमन्त्री बन्ने सम्भावना
संघीयता कार्यान्वयनपछि गठन भएको बागमती प्रदेशमा जगन्नाथ थपलिया सातौँ मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । उनी यसअघि दुई पटक आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

चितवन–१ (१) बाट निर्वाचित थपलिया २०७९ मा एमाले संसदीय दलको नेता बनेका थिए । पहिलो कार्यकालमा माओवादी केन्द्र, राप्रपा र एमालेको गठबन्धन सरकारमा तथा दोस्रो पटक नेकपा, एमाले र हाम्रो नेपाली पार्टीको गठबन्धन सरकारमा अर्थ मन्त्रालय सम्हालेका थिए ।

एमाले नेतृत्वमा सरकार गठन निश्चित भए पनि नयाँ सरकारका लागि प्रदेशसभामा बहुमत जुटाउनु अर्को चुनौती कायमै छ । हाल प्रदेशसभामा ११० मध्ये ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५ र नेकपाका २६ सांसद गरी ५१ मत मात्रै पुग्ने भएकाले बहुमतका लागि कम्तीमा दुई सांसदको थप समर्थन आवश्यक छ ।

यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), हाम्रो नेपाली पार्टी वा अन्य दलको समर्थन निर्णायक बन्ने देखिएको छ । नयाँ सत्ता गठबन्धनले आवश्यक समर्थन जुटाएपछि थपलियाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।