नवलपुरको कावासोती नगरपालिका–८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान ट्रकको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले कावासोती नगरपालिका–८ निवासी ७९ वर्षीय तुलसी प्रसाद च्वाईलाई ठक्कर दिएको थियो।
ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि केही समय पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो। सवारी अहिले सुचारु भएकाे छ।
यसैबीच, थप अनुसन्धानका क्रममा बिहान करिब ७:३० बजे मध्यबिन्दु नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गबाट बा ३ ख १९०३ नम्बरको शंकास्पद ट्रक फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न ट्रक चालक भने फरार रहेकाले उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।